गोदानमा नेतृत्व चयन ! सीमित चिकित्सकको भेला भएको भन्दै चुलियो विवाद

गोदानमा नेतृत्व चयन ! सीमित चिकित्सकको भेला भएको भन्दै चुलियो विवाद

काठमाडौंः करिब १३ जनाभन्दा बढी सदस्य भएको सरकारी चिकित्सक संघ, नेपाल (गोदान) मा ५१ जना सदस्य चिकित्सकको भेलाले आइतबार डा. समाज गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।

१३ सयभन्दा बढी सरकारी चिकित्सकहरू सदस्य रहेको संस्थामा जबर्जस्त ढंगले सानो समूह भेला भई स्वघोषित रूपमा नेतृत्व चयन भएको भन्दै नेतृत्व चयन प्रक्रियाप्रति चिकित्सकहरूले भने असन्तुष्टि व्यक्त गरेका छन्।  

साधरणसभामा सहभागी चिकित्सकहरूको एउटा समूहले आइतबार नै चुनाव गराएर नयाँ कार्यसमिति चयन गर्नुपर्ने अडान राखेपछि जबर्जस्त ढंगले अन्य सदस्यहरूलाई समेत थाहै नदिई आइतबार नै नेतृत्व चयन भएको निवर्तमान कार्यसमितिका एक सदस्यले जानकारी दिए। 

यसअघि भएको गोदानको चुनावमा करिब ९४ प्रतिशत चिकित्सक अनलाइन माध्यमबाट सहभागी भई कार्यसमिति चयन भएको एक चिकित्सकले जानकारी दिए।

‘अघिल्लो चुनावमा ९४ प्रतिशत भोट खसेको थियो, त्यसको सम्मान गर्न पर्दैन?,’ निवर्तमान कार्यसमितिका एक सदस्यले भने।

तर, आइतबार वीर अस्पतालको सर्जिकल भवनमा डाकिएको साधारणसभामा चिकित्सकहरूलाई अनलाइनमार्फत समेत नेतृत्व चयन गर्ने अवसरबाट वञ्चित गरिएपछि चर्को विरोध भएको हो। 

जबर्जस्ती ढंगले केही चिकित्सक मात्रै भेला भएर नयाँ नेतृत्व चयन भएकोप्रति सदस्यहरूले विरोधसमेत जनाउने क्रम बढिरहेको ती सदस्यले बताए।

आइतबार वीर अस्पतालको नयाँ सर्जिकल भवनको हलमा भएको साधारणसभाको नेतृत्व चयन प्रक्रियामा असहमति जनाउँदै निवर्तमान उपाध्यक्ष डा. सुशीलमोहन भट्टराई र निवर्तमान सचिव डा. रोशन भगतले नोट अफ डिसेन्टसमेत लेखेर सभा बहिष्कार गरेका एक निवर्तमान सदस्यले जानकारी दिए।

निवर्तमान कार्यसमितिकै एक सदस्यले नयाँ नेतृत्व चयनबारे जानकारी नै नभएको उकेरालाई बताए। 

एक चिकित्सकका अनुसार डा. भट्टराईले पनि उम्मेदवारी दर्ता गरेका थिएनन्। उनले मौखिक रूपमा अध्यक्षका लागि उम्मेद्वारीको आकंक्षा मात्रै व्यक्त गरेका थिए।

चिकित्सकहरूको एक समूहले यसअघिको चुनावमा प्रयोग गरिएको जस्तै अनलाइन भोटिङसमेत नगरी नेतृत्व चयनको चुनावी प्रक्रिया अगाडि बढाएपछि डा. भट्टराईले नोट अफ डिसेन्ट लेख्दै चुनावी प्रक्रिया नै बहिष्कार गरेर बाहिरिएको एक चिकित्सकले जानकारी दिए।

निवर्तमान अध्यक्ष डा. रविन खड्का आइतबार भएको गोदानको साधारण सभामा केन्द्रीय कार्यकारी समितिको गणपूरक संख्या नै नपुगेको बताउँछन्।

अघिल्लो पटक अनलाइन भोटिङ गरी नेतृत्व चयन गरे पनि यसपालि त्यो सुविधाबाट वञ्चित भएको भन्दै आफूलाई चिकित्सकहरूबाट गुनासो आइरहेको उनले सुनाए।

तर, आइतबार भएको वर्तमान कार्यसमिति चयनबारे उनी थप बोल्न चाहेनन्। 

जबर्जस्त ढंगले आफू छनोट भयौं भनेर स्वघोषणा गरेकोप्रति ९० प्रतिशतभन्दा बढी चिकित्सकको असन्तुष्टि रहेको सेती प्रादेशिक अस्पतालमा कार्यरत वरिष्ठ कन्सल्टेन्ट रेडियोलोजिष्ट तथा गोदानका स्थायी सदस्य डा. निरज अर्यालले तर्क गरे। 

५-७ प्रतिशतले मात्रै कसैलाई जानकारी नै नगराई स्वघोषित रूपमा नोट अफ डिसेन्टको समेत व्यवस्ता गरेर नेतृत्व चयन गरेकोप्रति सरकारी चिकित्सकहरूको तीव्र विरोध रहेको उनले सुनाए। 

सदस्यहरूलाई थाहा नै नदिई समाचारबाट नै कार्यसमिति चयन भएको खबर सुन्दा आइतबार साँझ आफू चकित भएको डा. अर्यालले बताए।

उनले यसअघिको निर्वाचनमा करिब एक हजार जनाले कार्यसमिति चयनका लागि मतदान गरेको बताए। ‘करिब १३ सय जना सदस्य साथीहरू हुनुहुन्छ। लास्ट टाइम हजार जना हाराहारीको भोटिङ भएको छ, ५० जनाले मात्रै यो कार्यसमिति छनोट गर्न सक्दैन,’ डा. अर्यालले भने,‘५० जनाले १३ सय जनाको नेतृत्व गर्न सक्दैन।’

यो नेतृत्व चयनले वैधानिकतासमेत नपाउने उनले दाबी गरे।  

‘दुई दिन अघि मात्रै गोदानको छलफलमा म पनि थिएँ, त्यहाँ हामीले अनलाइन भोटिङको कुरा गरेका थियौं,’ डा. अर्यालले भने,‘यसमा भोटिङ गरिएको छैन। कसैलाई जानकारी गरिएको छैन।’

वीर अस्पताल र ट्रमा सेन्टरमा भएका अधिकांश चिकित्सकलाई समेत थाहा नदिई नेतृत्व चयन गरेको डा. अर्यालले सुनाए।

‘करिब साढे तीन सय हाराहारी सरकारी चिकित्सकहरू वीर अस्पताल र ट्रमा सेन्टरमा हुँदै गर्दा ५० जनालाई मात्रै एउटा मिटिङमा बोलाएर जबर्जस्ती एउटा पानामा सही गराएर हामी यो भयौं भन्दै फोटो खिचाएर म यस्तो भएँ भनेको स्थिति छ, यसलाई हामीले चिकित्सक पेशामा कालो दिनको रूपमा लिएका छौं,’ उनले भने। 

अध्यक्षमा चयन भएका डा. गौतमले भने सदस्यलाई बोलाउने वा नबोलाउने कुरामा आफ्नो भूमिका नरहेको र निवर्तमान कार्यसमिति नै त्यसको जिम्मेवार रहेको तर्क गरे।

‘पुरानो कार्यसमितिले नै बोलाउनुभएको हो। उहाँहरूले नै साधारणसभा भनेर राख्नुभएको हो,’ डा. गौतमले भने,‘जसले आरोप लगाउनुभयो उहाँहरूले नै बोलाउनुभएको मिटिङ हो। हामी पनि त उहाँले बोलाएर गएको हो, थाहा पाएनौं भन्ने दोष मलाई दिने हो कि पुरानो कमिटीलाई दिने हो?’ 

तर, डा. गौतम पनि यसअघि अनलाइन भोटिङ गर्दा ३-४ सय सदस्यको सहभागिता भएको स्विकार्छन्। तर, उनले आइतबार कार्यसमिति चयनका लागि ८०-९० जना सदस्य उपस्थिति भएको र त्यो पनि ठूलो उपस्थिति रहेको तर्क गरे।

‘आज जति पनि डाक्टर उपस्थिति भए त्यो  पनि म्याक्सिमम उपस्थित भएको अवस्था हो,’डा. गौतमले भने। पुरानो कार्यसमितिले केही पनि काम नै गर्न नसकेको भन्दै गोदानलाई नै धरासायी समेत बनाएको उनले आरोप लगाए। चुनाव नजित्ने भएपछि मात्रै आरोप लगाएको डा. गौतमले तर्क गरे।

‘सबै जनाले आज कार्यसमिति चयन गर्ने भने, ल ओके भनेँ,’ डा. गौतमले भने,‘त्यही ५०-६० जनाले निर्विरोध भएको बेलामा उनीहरूको चाहिँ भ्यालिड हुने,...सर्वसम्मति नहुने बित्तिकै अब हामी त मान्दैनौं भन्न पाइन्छ?’ 

२ वर्षमा नै कार्यसमिति चयन हुनुपर्नेमा ३ वर्षमा मात्रै साधारणसभा भई नयाँ कार्यसमिति चयन भएको डा. गौतमले सुनाए। 

उकेरालाई प्राप्त पत्रानुसार गोदानले आइतबारलाई वार्षिक साधारण सभा तोक्दै निर्णयहरू अनुमोदन, समसामयिक विषयमा छलफल, कार्यसमिति चयन र विविध विषयलाई एजेन्डाका रूपमा राखेको थियो। 

तर, अध्यक्षमा चयन भएका डा. गौतमले समेत अनलाइन भोटिङको व्यवस्था गराएर धेरैभन्दा धेरै सदस्यलाई चुनावी प्रक्रियामा सहभागिता गराउन माग गर्न सक्थे। तर, त्यो देखिएन।

डा. गौतमले भने समय अभाव र पहिले गरेको अनलाइन भोटिङको विश्वसनियता नभएकाले अनलाइन भोटिङको माग नगरिएको तर्क गरे।

इलेक्ट्रोनिक भए पनि चुनाव गर्नुपर्छ भनेर माग गर्नुभएन? भन्ने जिज्ञासामा गौतमले भने,‘ढिला भइसकेको अवस्था र इलेक्ट्रोनिकका लागि तयारी नभएको अवस्था थियो। पहिलाको इलेक्ट्रोनिक (अनलाइन) भोटिङमा हामीलाई विश्वसनीय कत्ति पनि भएन। विश्वानियता त देखाउनुपर्यो नि त।’ 

उनको भनाइले विश्वासनियताको वातावरण भएन भन्दैमा सदस्यलाई चुनावमा सहभागी नै नगराउने कि धेरैभन्दा धेरै सदस्यलाई सहभागिता गराएर विश्वासिलो चुनावी प्रक्रियाको वातावरण बनाउने भन्ने प्रश्न तेर्सिएको छ। 

आइतबार अध्यक्षका पदका लागि मात्रै चुनाव भएको थियो। बाँकी सदस्यका लागि भने सानो समूह भेला भएर सर्वसम्मत नेतृत्व चयन गरेको एक सदस्यले जानकारी दिएका छन्।

अध्यक्षको उम्मेद्वारीका लागि डा. गौतमले र डा. ऋषिकान्त अर्यालले प्रतिस्पर्धामा गरेका थिए। तर, डा. गौतम अध्यक्षमा चयन भए।

त्यसैगरी वरिष्ठ उपाध्यक्षमा डा. क्षितिज सापकोटा, उपाध्यक्षमा डा. विप्लव घिमिरे, महासचिवमा डा. विजयबाबु साह, सचिवमा डा. विप्लव सापकोटा, कोषाध्यक्षमा डा. राकेश मिश्र चयन भएका छन्। 

यसअघि भएको कार्यसमिति चयनको चुनावमा कांग्रेसनिकट प्रजातान्त्रिक चिकित्सकहरूको प्यानलबाट क्रमशः अध्यक्षमा डा. गौतम, उपाध्यक्षमा डा. घिमिरे र महासचिवमा डा. साहले उम्मेद्वारी दिए पनि भारी मतान्तरले पराजित भएका एक निवर्तमान कार्यसमिति सदस्यले जानकारी दिए। 

सदस्यहरूमा डा. विराट शर्मा, डा. कपिल गौतम, डा. सुरेश महर्जन, डा. प्रकाश ढकाल, डा. सचिन यादव, डा. अमृत पन्थी, डा. रोशन ग्वाछा, डा. देवराज कँडेल र डा. कुशल खनाल चयन भएका छन्।

त्यसो त वर्तमान कार्यसमितिमा महिला सहभागिता नै शून्य छ। यसअघि भने महिला सहभागिता थियो। 

नयाँ कार्यसमिति चयन गर्न छलफलका लागि भनेर बोलाइएको साधारणसभामा सीमित चिकित्सक मात्रै भेला भएर नेतृत्व चयन भएपछि चर्को विरोध देखिएको छ।

नेपालको सरकारी स्वास्थ्य नीतिको प्रभावमा गोदानको महत्वपूर्ण भूमिका हुन्छ। 

१६ जेठ, २०८०, २२:४५:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।