गणतन्त्र दिवस पारेर जघन्य अपराधमा माफी, टिकापुर घटनाका पीडितको माग पन्छाउँदै रेसम छुट्दैछन् जेलबाट

गणतन्त्र दिवस पारेर जघन्य अपराधमा माफी, टिकापुर घटनाका पीडितको माग पन्छाउँदै रेसम छुट्दैछन् जेलबाट

काठमाडौँ : थरुहट आन्दोलनको आवरणमा हिंसात्मक घटनाको मुख्य योजनाकार ठहर भई तीनै तहको अदालतबाट जन्मकैद पाएका रेसम चौधरीले माफी पाएका छन्। सात सुरक्षाकर्मी र एक नाबालकको हत्यामा दोषी देखिएका चौधरीलाई राजनीतिक आडमा माफी पाएका हुन्।

उनको संरक्षकत्व रहेको नागरिक उन्मुक्ति पार्टीको समर्थन कायमै राख्न मन्त्रिपरिषदबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद बैठकले आइतबार गणतन्त्र दिवस पारेर माफी र कैद मिनाहा गर्नुपर्ने गृह मन्त्रालयको प्रस्ताव पारित गरेको थियो।

सोही आधारमा राष्ट्रपति डा रामचन्द्र पौडेलले चौधरीसहित ५ सय १ जनाको कैद माफी गरेका हुन्। अन्य माफी पाउनेहरूको नाम सार्वजनिक भएको छैन। सरकारले चौधरीलाई कैद माफ गरेर रिहा गराउन धेरै अगाडि देखि प्रयास गरे पनि सफल हुन सकेको थिएन।

टिकापुर घटनामा ज्यान गुमाएका नेपाल प्रहरी र सशस्त्र प्रहरीको परिवारले घटनाको दोषीलाई माफी नदिन माग गर्दै आएका थिए। राष्ट्रपति कार्यालयमा निवेदन परे पनि त्यसको सुनुवाइ भएन।

गणतन्त्र दिवस पारेर राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २७६ तथा फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७९ र ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा १२ बमोजिम सरकारको सिफारिसमा चौधरीसहित ४८२ जना कैदीहरूको भुक्तान हुन बाँकी कैद सजाय माफी गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ।

१४ जेठ, २०८०, १९:०१:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।