रियालिटी शोको रियल पाटो : सिकारू कवि ‘पोयट आइडल’को जज, कम्मर नमर्किने कलाकारले छान्छन् ‘डान्सिङ स्टार’

रियालिटी शोको रियल पाटो : सिकारू कवि ‘पोयट आइडल’को जज, कम्मर नमर्किने कलाकारले छान्छन् ‘डान्सिङ स्टार’

काठमाडौं :  केही वर्षयता नेपालमा टेलिभिजन रियालिटी शोको संख्या ह्वात्तै बढेको छ। कमेडी, डान्स, गायन मात्र हैन, कविता प्रतियोगिताका कार्यक्रम पनि आइसकेका छन्। 

अनि ती शोहरूमा निर्णायक चल्तीमा कलाकारहरू नै छन्। विधागत दक्षता भएको क्षेत्रमा निर्णायक हुनु नि ठिकै हो। तर आफैँ कमजोर देखिने क्षेत्रमा पनि उनीहरू नै अरूको क्षमता जाँचिरहेका हुन्छन्। 

उदाहरणः हालै सकिएको 'पोयट आइडल', जसमा निर्णायकमध्ये एक थिइन् अभिनेत्री सुरक्षा पन्त। अभिनय कलामा उनको दक्षता प्रशंसनीय छ। तर के उनी कवि हुन् ? नभए पनि उनको कविता विधामा कति छ दक्खल ? यो प्रश्न उनलाई जायजै हो। 

उनी कार्यक्रमको निर्णायकका लागि पहिलो छनोट थिइनन्। आयोजकले भूषिता वशिष्टलाई प्रस्ताव गरेको थियो। उनले नभ्याउने भएपछि आयोजको छनोटमा पन्त परिन्। उनले नाइँ पनि भनिनन्। उत्कृष्ट कवि छान्ने निर्णायक बन्न राजी भइन्। 

कविता विधामा उनको रुची देखिन्छ। तर निर्णायकको योग्यता रुचीभन्दा दक्षताको महत्व हुन्छ।

अभिनेत्री ऋचा शर्मा, केकी अधिकारीदेखि अभिनेता दिलीप रायमाझी विभिन्न रियालिटी शोमा निर्णायक भएका देखिएकै छन्।

प्रियंका कार्की, दिलीप, मिथिला शर्मा, नरमन राई र शंकर बिसी पनि निर्णायक छन्। 

उनीहरु एनटीभी प्लसबाट प्रसारण भइरहेको रियालिटी शो ‘मेरो डान्स युनिभर्स'मार्फत विजेता खोजिरहेका छन्। 

दिलीप, शंकर अनि मिथिला कुनै न कुनै रूपमा नृत्य विधासँग जोडिएका कलाकारहरू हुन्। यही रियालिटी शोबाट विजेता खोजिरहेकी अभिनेत्री प्रियंका कार्की आफैँ सिकारु हुन्। 

उनको अभिनय यात्रा पनि खासै सफल मान्न सकिँदैन। उनका हालैका  फिल्म ‘लक्का जवान’ र अर्को हरर फिल्म ‘चि मुसी ची’ ले हलमा राम्ररी दर्शकको मुखसमेत देख्न पाएनन्। 

अभिनय नचलेपछि डान्स रियालिटीको निर्णायक बनेकी उनी अर्को टेलिभिजन शो ‘मुन्द्रेको कमेडी क्लब’मा अध्यक्षको भूमिकामा छिन्। जिम्मेवारी अभिनय गर्ने हैन। कुर्सीमा बसेर हाँस्ने। कार्यक्रमको शो पिस। 

शो पिस अध्यक्षको भूमिकामै छिन् अभिनेत्री दीपाश्री निरौला। अर्को कार्यक्रम 'कमेडी क्लव विथ च्याम्पियन्स'मा। प्रियंकाभन्दा उनै निरौला जमेकी छिन्। 

अर्की अभिनेत्री केकीको फिल्म हलमा लागेको समेत थाहा हुन्न। १३ वर्षअघि फिल्म ‘स्वर’बाट अभिनय यात्रा थालेकी केकी पनि टेलिभिजन शोमा रमाउन थालेकी छन्। 

उनी ‘कमेडी च्याम्पियन’को निर्मात्री हुँदै यतिबेला ‘मेरो डान्स युनिभर्स’मा निर्णायकको भूमिकामा छिन्। 

अभिनेता दिलीप यही कार्यक्रमका निर्णायक हुन्। उनी दुई वर्षअघि फिल्म ‘लक्का जवान’निर्माण गरेर नेपाली सिने क्षेत्रमा फर्किएका थिए। 

पहिला कमाल गरे पनि अहिले फिल्म अभिनेताका रूपमा असफल बन्दै गएपछि उनी रियालिटी शोको निर्णायक बन्न पुगेका छन्। स्थायी बसोबास अमेरिका भए पनि नेपाल आउजाउ गर्दै आएका उनी नृत्यमा पारङ्गत छन्। 

अभिनेत्री मिथिला शर्मा डान्सिङ रियालिटी शोका लागि योग्य निर्णायक हुन्। कमेडी विधामा ऋचा शर्माको सम्बन्ध कार्यक्रमको लगानीकर्ताबाहेक के हो ? खुल्दैन। 

हास्य विधाका आइकन सन्तोष पन्त र ऋचा एकै कार्यक्रमको निर्णायक हुनु कति सुहाउला? 

निर्देशक तथा लेखक प्रदीप भट्टराई, विशाल भण्डारी पनि रियालिटी शोमा रमाउन थालेका छन्। निर्णायक बनेका छन्। कार्यक्रम सञ्चालक भण्डारी टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन’को निर्देशकका रूपमा काम गर्दै पछिल्लो समय ‘कमेडी क्लब विथ च्याम्पियन’मा आइपुगेका छन्। 

यसअघि उनले फिल्म ‘कोहलपुर एक्सप्रेस’ निर्देशन गरेका थिए। जुन हिन्दी फिल्म चोरेर बनाइएको पुष्टि भयो। त्यसयता अर्को फिल्म निर्देशनको हिम्मत गरेका छैनन् उनले।

अभिनेत्री रिमा विश्वकर्मा फिल्ममा भन्दा बढी रियालिटी शोको उद्घोषणमा नै व्यस्त छिन्। गत वर्ष रिमा अभिनित फिल्म ‘हिजो आजका कुरा’ प्रदर्शनमा आएको थियो। यो फिल्म जमेन। उनको अभिनय यात्रा फर्किएन। उनी कार्यक्रम सञ्चालनमै रमाउन थालिन्। 

अहिले उनी रियालिटी शो ‘मेरो भोइस् युनिभर्स’मा उद्घोषकको भूमिकामा छिन्। 

‘कलाकार रियालिटी शोमा निर्णायक बन्नु सामान्य हो’
मनोज पण्डित, निर्देशक

नेपाली टेलिभिजन शोमा धमाधम कलाकार निर्णायकका रूपमा प्रवेश हुनु अनौठो हैन। यो अभिनयकै एउटा रूप हो। कलाकारको भूमिका विभिन्न हुन्छ। फिल्मका कलाकारहरूले सिनेमामा मात्र काम गर्नु पनि कलाकारिता हैन।कलाकारिताको आयामहरू र त्यसको परिधि फरक हो। 

पहिला सिनेमा मात्रै थिए। टेलिभिजनमा मात्रै थियो।

अहिले अभिनय मात्र हैन नृत्य, गायन, लेखन सबै ज्ञान भएकालाई कलाकार मानिन्छ। त्यो हिसाबले विभिन्न ठाउँमा काम गर्नु ज्ञानको आयाम फराकिलो बन्नु हो। यसले कलाकारितामा सहयोग नै गर्छ। 

रियालिटी शोमा जोजो जहाँ जहाँ भए पनि आखिरमा गर्ने अभिनय नै हो। अब पर्फर्मेन्स गर्नेलाई जज गर्न सक्ने भनेको अनुभवीले नै हो। 

जज भनेको छुट्टै ठाउँबाट ल्याउने कुरा होइन। यो त हाम्रै समाजमा काम गरिरहेका, काममा पनि एक्प्रेरियन्स भएको मान्छेले कुनै ठाउँमा जज गर्छन् भने समस्या छैन। तर निर्णयमा कस्तो एंगल प्रस्तुत भएको छ, उहाँहरूले के कुरालाई महत्व दिनुभएको छ ? अनि कलाकारिताको अनुभवबाट सिकेको क्षमताको आधारमा निर्णय गर्नुभयो कि भएन भन्ने कुराको महत्व हुन्छ।

यसमा अभिनय गरेको फिल्म सफल वा असफल भएको पक्ष जोडिन्न। किनकि फिल्मको सफलता या असफलता  कलाकारमा मात्र निर्भर हुँदैन। यसमा लेखक,निर्देशक र निर्माता पनि उत्तिकै जिम्मेवार हुन्छन्। 

१२ जेठ, २०८०, १९:२७:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।