नक्कली शरणार्थी प्रकरणः ८ जनाको टोलीले मिसिल अध्ययन गर्ने, मंगलबारभित्र प्रतिवेदन बुझाउने

नक्कली शरणार्थी प्रकरणः ८ जनाको टोलीले मिसिल अध्ययन गर्ने, मंगलबारभित्र प्रतिवेदन बुझाउने

नक्कली भुटानी शरणार्थी प्रकरणलाई सरकारी वकिल कार्यालयले अध्ययन गरी अभियोग पत्र दर्ता गर्न ८ जनाको टोली बनाएको छ। 

यस प्रकरणको अनुसन्धान प्रतिवेदन प्रहरीले आज बुझाउने भएको छ। दुई महिना लामो अनुसन्धान सकेर प्रहरीले सरकारी वकिल कार्यालयलाई प्रतिवेदन बुझाउने तयारी गरेको हो।  

मुद्दाको मिसिल आइसकेपछि त्यसको अध्ययन गरेर सरकारी वकिलको टोलीले अभियोग पत्र दर्ता गर्ने गर्छ।

उक्त सरकारी वकिलको टोलीका प्रमुख सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेले मंगलबारभित्र प्रतिवेदन बुझाइसक्नुपर्ने समयसीमा पाएको बताए। 

उनले भने, '२४ घण्टा रातदिन काम गरेर भए पनि हामीले पर्सि मुद्दा अदालतमा दर्ता गर्नैपर्छ।

यो प्रकरणको ६० दिनभित्र अनुसन्धान सकेर अभियोग दायर भइसक्नुपर्ने कानुनी प्रावधान हुन्छ। 

यस प्रकरणमा हालसम्म १६ जना पक्राउ परिसकेका छन्। उनीहरूविरुद्ध ठगी र संगठित अपराधमा मुद्दा चलाउनुपर्ने प्रहरीको निष्कर्ष थियो। 

त्यसबाहेक उक्त प्रकरण आकर्षित हुने अन्य थप अभियोगहरूमा पनि उनीहरूविरुद्ध मुद्दा चलाउन सकिने प्रहरीले बताएको छ।

अख्तियार दुरुपयोग तथा सम्पत्ति शुद्धीकरणका मामिलामा सम्बन्धित निकायलाई कारबाही अघि बढाउन लेखेर पठाउन सकिने पनि प्रहरीले बताएको छ। 

यस प्रकरणमा पूर्वउपप्रधानमन्त्री तथा पूर्वगृहमन्त्री र पूर्वगृहसचिवजस्ता हाई प्रोफाइल व्यक्तिहरूका साथै बिचौलियाहरू समातिएका छन्। 

७ जेठ, २०८०, १५:२७:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।