शिशिर खनालको प्रश्नमा प्रधानमन्त्री नाजवाफ

शिशिर खनालको प्रश्नमा प्रधानमन्त्री नाजवाफ

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् शिशिर खनालले उठाएको प्रश्नमा प्रधानमन्त्री पुष्पकमल दाहाल नाजवाफ भएका छन्।

बिहीबार भएको प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यक्रममा सांसद् खनालले सोधेको प्रश्नमा प्रधानमन्त्री दाहाल नाजवाफ भएका हुन्।

खनालले वैशाख १० गते भएको उपनिर्वाचनमा हेलिकोप्टर चढेको पैसा जनताको करबाट तिरिन्छ कि प्रधानमन्त्रीको खल्तीबाट भन्दै प्रश्न गरेका थिए।

खनालले सोधेका थिए, ‘गत वैशाख १० मा भएको उपनिर्वाचनमा तपाईंलगायत पूर्वप्रधानमन्त्रीहरू हेलिकोप्टरमा चढेर हाम्रा उम्मेदवार हराउन जिल्ला जिल्लामा पुग्नुभयो। गठबन्धनका उम्मेदवारहरूलाई मन्त्री बनाउने आश्वासन पनि दिनुभएको सर्वविदितै छ। त्यो आश्वासन आचारसंहिता विपरित थियो कि थिएन? त्यो नैतिकताको प्रश्न म आज सोध्दिन। म के सोध्न चाहन्छु भने त्यो हेलिकोप्टरको रकम जनताको रगत पसिनाले उठेको करको पैसाले तिरिन्छ कि हजुरको गोजीबाट तिरिन्छ?’

तर, प्रधानमन्त्रीले यसको जवाफ दिएनन्। खनालले नै सोधेको लाल आयोगको प्रतिवेदन कहिले सार्वजनिक हुन्छ भन्ने प्रश्नको जवाफ दिँदै दाहालले हेलिकप्टर खर्चबारेको प्रश्न टारेका हुन्।

लाल आयोगको प्रश्नको जवाफ दिँदै उनले भनेका थिए- ‘म दोस्रो पटक प्रधानमन्त्री हुँदा मधेश र थरुहट आन्दोलनको विषयमा छानबिन गरेर रिपोर्ट पेस गर्नुपर्छ, त्यो आयोगको प्रतिवेदन सार्वजनिक गरिनुपर्छ भन्ने भित्र म पनि पर्छु, तर सर्वोच्चले रोकेको छ।’

४ जेठ, २०८०, १८:२०:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।