पूर्व गृहमन्त्री खाण विरुद्ध दुई प्रमाण, पक्राउ अगाडि देउवाको अनुमति

पूर्व गृहमन्त्री खाण विरुद्ध दुई प्रमाण, पक्राउ अगाडि देउवाको अनुमति

काठमाडौँ : नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन सक्रिय समूहका सदस्यसँग आर्थिक लेनदेन गरेको र उनीहरूलाई सहयोग पुग्ने निर्णय गरेको प्रमाणका आधारमा पूर्व गृहमन्त्री बालकृष्ण खाण पक्राउ परेको देखिएको छ।

छुट भएका भुटानी शरणार्थी पुन प्रमाणीकरण गराउन समिति बनाउने निर्णय रामबहादुर थापा गृहमन्त्री हुँदा नै भएको थियो।

खाणको पालामा मन्त्रिपरिषद्बाट शरणार्थीलाई तेस्रो देशमा पुनर्वासका लागि पहल गर्नेदेखि पुन प्रमाणीकरण गर्नेसम्मका निर्णय भएका थिए।

शङ्कास्पद निर्णयसँगै तत्कालीन गृह सचिव टेक नारायण पाण्डे अनि बिचौलिया समूहका सदस्य सानु भण्डारीले बयानमा खाणलाई एक करोड बढी रकम दिएको दाबी गरेका छन्।

यी दुवै प्रमाणपछि नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अनुमति लिएर खाणलाई मैजुबहालमा रहेको डेराबाट बुधवार बिहान पक्राउ गरिएको थियो।

प्रहरीले आरोपी सानु भण्डारी र सचिव पाण्डेको बयानलाई त्यसपछि खाणको सक्रियतामा भुटानी शरणार्थीबारे भएका निर्णयको प्रकृतिलाई जोडेर विश्लेषण गरेको देखियो।

सानु भण्डारीले खाणलाई समेत पैसा दिएको बयान दिएका छन्। पाण्डेले पैसा लिएको स्विकार्दै सो रकम तत्कालीन गृहमन्त्री खाणका लागि लिएको बयानमा पोले।

पैसा लिएको अन्य आरोपीको बयान अनि उनीहरूको योजनालाई सघाउन भएका एकपछि अर्को निर्णयलाई नै प्रहरीले खाणको संलग्नताको प्रमाण मानेर पक्राउ गरेको देखिन्छ।

'ठ्याक्कै लेनदेन भन्दा पनि सचिव पाण्डे र खाणविचको संवाद अनि गृहले गरेका निर्णय नै पक्राउको आधार हो'अनुसन्धानमा संलग्न स्रोत भन्छ' प्राप्त प्रमाण आरोपी बनाउन पर्याप्त छन्। अदालतमा पुष्टि हुनेसम्मका प्रमाण छन्।'

२८ बैशाख, २०८०, ०८:१२:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।