माओवादीको दाबी : अहिले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छैन

माओवादीको दाबी : अहिले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छैन

काठमाडौं : सत्तारुढ दल माओवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फेरि विश्वासको मत लिनु नपर्ने निष्कर्ष निकालेको छ।

शनिबार बसेको सत्ता गठबन्धनको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था नभएको दाबी गरे।

‘अहिले त विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छैन,’ उनले भने, ‘त्यो चाहिँ आवश्यकता परिराको छैन।’

रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता दिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्छ भन्ने एकाथरीको भनाइ आइरहँदा माओवादीले यस्तो दाबी गरेको हो।

बैठकमा भोलिदेखि चल्ने संसदमा संसद बैठकलाई प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको बताए। भोलिको बैठकमा सरकारको सिद्धान्त र प्राथमिकताबारे प्रस्तुत गर्ने कार्यक्रम रहेका उनको भनाइ छ।

तर संविधानको धारा १०० को उपधार (२) मा प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्नुपर्ने व्यवस्था छ।

२३ बैशाख, २०८०, १९:४४:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।