प्रधानमन्त्रीसँगको भेटमा ओलीको चासो टोपबहादुरमा कम, प्रेम राईमा ज्यादा

प्रधानमन्त्रीसँगको भेटमा ओलीको चासो टोपबहादुरमा कम, प्रेम राईमा ज्यादा

काठमाडौं : प्राय माओवादी केन्द्रसँग राजनीतिक संवाद समेत गर्न नरुचाउने एमाले अध्यक्ष केपी शर्मा ओली बिहीबार एकाएक सिंहदरबार गएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटे।

संसद स्थगित भइसकेको, संवैधानिक परिषद्बाट नियुक्तिको विषय पनि कुना लागि सकेको थियो।

बुधबार आठ सय बढि नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गरेको घटनामा ओलीको मन्त्रिपरिषद्मा मन्त्री रहेका टोपबहादुर रायमाझी तानिएको खवर सार्वजनिक भएको थियो।

रायमाझीसँगै उनको छोरा, ओली मन्त्रिपरिषद्का गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीकको नाममा पक्राउ पुर्जी जारी भएको थियो।

बिहीबार रायमाझीका छोरा पक्राउ परिसकेका थिए। रायमाझी पक्राउ परेको हल्लाकाबीच ओली सिंहदरबार गए।

दुवैको भेटको उदेश्य एमाले सचिवसमेत रहेका रायमाझीकै प्रसङ्ग रहेको अड्कलकाबीच ओलीले नै छलफलको विषय खुलाएका थिए।

उनले पटक-पटक सांसद् अनि उपप्रधानमन्त्री समेत भइसकेका व्यक्ति कतै नभाग्ने अनि बाटैबाट समात्ने षड्यन्त्र गर्न नहुने तर्क गरेका थिए।

ओलीले रायमाझीसँग फोनमा कुरा भएको र रायमाझीले आईजीपीसँग कुरा गर्दा ‘केही विषय आएका छन्, आएर प्रष्ट पारिदिनुस् न!’ भनेको सार्वजनिक गरेका थिए।

शनिबार पुन ओली प्रचण्डलाई भेट्न सिंहदरबार नै पुगे। करिब एक घन्टाको बसाइपछि बाहिरिएका ओलीको मुड बिहीबारको भन्दा भिन्न थियो।

उनले छोटो-छोटो उत्तर मात्र दिए त्यो पनि पन्छाउने शैलीमा। ‘टोपबहादुर त फरार भए नि’ भन्दा पत्रकारलाई ‘आफैँ खोज्नुस्’ भन्ने ठाडो जवाफ फर्काए। उनका सबै उत्तर उस्तै शैलीका थिए। उनले षड्यन्त्रको दाबी गरेनन् शनिबार।

बिहीबारको भेटबारे प्रधानमन्त्री प्रचण्डले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणबारे कुरा नभएको दाबी गरेका थिए।

तर शनिबार उनले बिहीबार आफूले ढाँटेको भन्दै बिहिबार पनि नक्कली भुटानी शरणार्थी प्रकरणबारे चासो राखेको र शनिबार पनि त्यही विषयमा चासो राखेको बताए।

पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले दोषी नउम्किउन् अनि निर्दोष नफसुन् भन्नेमा सरकार सचेत रहेको दाबीसमेत गरे।

छानविनमा दबाब आएकोबारे जिज्ञासामा प्रचण्डले ओली भेटबारे खुलाउँदै भने, ‘अस्ति पनि उहाँको कन्सर्न थियो। तर, आफ्नो नेता बचाइदेऊ भनेर प्रधानमन्त्रीसँग भन्न सक्ने कुरा भएन।’

ओलीको चासो के हो?
ओली अनि प्रचण्डको अभिव्यक्तिले दुवैबीच भइरहेको भेटको विषय नक्कली शरणार्थी प्रकरणमा जोडिएका व्यक्ति र अनुसन्धान नै देखियो।

सम्पूर्ण अनुसन्धान वा व्यक्तिकेन्द्रित छलफल भन्ने चाहिँ खुलेको छैन। नक्कली भुटानी शरणार्थी प्रकरण ओली प्रधानमन्त्री भएकै समयमा शुरू भएको थियो। प्रचण्ड प्रधानमन्त्री हुँदा पनि यो निरन्तर रहेको देखियो।

ओलीको समयमा गृहमा रामबहादुर थापा बादल, गृह सचिवमा प्रेम राई थिए। पछि कांग्रेससहितको सरकार बन्यो। शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा गृहमा बालकृष्ण खाँण र सचिवमा टेकनारायण पाण्डे आए।

ओलीको कार्यकालका गृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजित राई समातिए। बादलका छोरा प्रतीक थापा फरार छन्। ओली कार्यकालकै मन्त्री टोपबहादुर रायमाझी फरार छन्। उनको छोरा सन्दीप हिरासतमा छन्।

खाँणको पालाका गृहसचिव पाण्डे पक्राउ परे। अन्य पक्राउ परेका छैनन्।

बादलको समयमा गृह सचिव प्रेमकुमार राई अहिले अख्तियारको प्रमुख आयुक्त छन्। यो प्रकरणमा उनको नाम समेत पोलिएपछि राष्ट्रपतिलाई भेटिसकेका छन्।

दुलाल, सन्देश शर्मा, सानु भण्डारी, सागर थुलुङ राई र टंक गुरुङ पनि पक्राउ परिसकेका छन्। अन्यको नाम पनि अनुसन्धानको दायरामा रहेको दाबी आइरहेको छ तर सार्वजनिक भएको छैन।

ओली-प्रचण्ड भेटबारे जानकारका अनुसार उनको चासो रायमाझीसँगै अख्तियारका प्रमुख आयुक्त राईको संलग्नता पनि हो। राईले सचिव हुँदा समन्वय गरेको र अख्तियार पुगेपछि शरणार्थी ठगीमा नाम आएकालाई बोलाएर सहमति गराएकोसम्म देखिएको छ।

ठगीमा पक्राउ परेका ईन्द्रजितलाई सल्लाहकार बनाउन राईले नै पहल गरेका थिए।

‘ओलीज्यूले चासो राखेको अन्य केही नाम पनि छन्। ती अनुसन्धानकै दायरामा रहेकाले नाम सार्वजनिक नगरौँ’, स्रोत भन्छ।

उता दुवै पूर्व गृहमन्त्री पनि छानविनको दायरामा छन्। उनीहरूको आर्थिक लेनदेन खुलाउने प्रमाण फेला परेको छैन।

२३ बैशाख, २०८०, १६:२५:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।