'रविनसिंह कार्कीविरुद्ध कसैले पनि उजुरी नदिँदा हामीले केही गर्न सकेनौँ'

'रविनसिंह कार्कीविरुद्ध कसैले पनि उजुरी नदिँदा हामीले केही गर्न सकेनौँ'

काठमाडौंः पूर्वप्रदेश सांसद बिन्दिया कार्कीका छोरा २४ वर्षका रविनसिंह कार्कीले मदिराको नसामा सवारी चलाउँदा एक जनाको मृत्यु भए पनि उनलाई कारबाही हुन सकेको छैन। 

मदिरा पिएर आमाको नाममा रहेको प्रदेश ३-०१-०२२ च २१३९ नम्बरको कार चलाएका रविनले एक मजदुरको ज्यान लिए।

२०७८ जेठ २० गते बेलुका बेलुका ७ः३५ बजे न्यु एभरेस्ट फर्निचरमा काम सकाएर कोठामा जान सडक किनारामा हिँडिरहेका भारतीय नागरिक राजकुमार राजवंशी र मुकेश दासलाई कार्कीले चलाएको गाडीले ठक्कर दिएको थियो।

विराटनगर एयरपोर्ट जाने बाटोमा भएको दुर्घटनामा दासको ज्यान जोगिएन। उपचारका लागि कोसी अञ्चल अस्पताल पुर्याइएका उनको बाटैमा मृत्यु भएको थियो।

पछि पोस्टमार्टममा शक्तिशाली ठक्करका कारण उनको मृत्यु भएको प्रमाणित भएको थियो।

घटनास्थलमा बायाँ पिल्लर भाँचिएको थियो भने घटनास्थलको २० फिट परसम्म गाडीको सिसा फुटेको घटनास्थलको मुचुल्काबाट देखिन्छ।

थुनछेक बहसमा अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठायो। पछि फैसला आउँदा कार्कीले मादक पदार्थ सेवन गरेर जानाजान दुर्घटना गराएको ठहर गर्दै जिल्ला अदालतले उनलाई २०७६ कात्तिक १५ मा तीन वर्ष कैद र ३० हजार जरिवानाको फैसला गरेको थियो। 

तर जिल्लाको फैसलाविरुद्ध कार्की परिवार उच्च अदालतमा पुनरावेदनका लागि गएपछि जिल्ला अदालतका न्यायाधीश सुदर्शन लामिछानेले जानाजान देखेको दुर्घटना उच्चका न्यायाधीश कृष्ण कमल अधिकारी र जगनारायण प्रधानले प्राविधिक गडबडी देखे।

न्यायाधीशहरूले रविनको सजायलाई ६ महिना १५ दिनमा झारिदिए भने जरिवानालाई ३० हजारबाट  २ हजारमा बनाइदिए।

न्यायाधीशको ध्यान नक्कली लाइसेन्सतिर गएन। सवारी लाइसेन्स नभएका रविनसँग एउटा कागज थियो-भेषबहादुर थापा नाम गरेका एक जनाको। तर उक्त कागज पनि लाइसेन्स भने नभएको पुष्टि भइसकेको छ। त्यो कागज पनि सवारी लाइसेन्समा अनुत्तीर्ण भएको माझीको थियो। उनले त्यसकै आडमा बागमती यातायात कार्यालयबाट लाइसेन्स निकाले।

तर उक्त नम्बरबाहेक सबै कागजातमा रविनकै नाम देखिन्छ भने अहिले उनले त्यही किर्ते कागज प्रयोग गरेर बनाएको लाइसेन्स प्रयोग गरिरहेका छन्। उक्त लाइसेन्स यातायात व्यवस्था विभागले समेत खारेज गरेको छैन।  

यता उच्च सरकारी वकिलले मृतकको तर्फबाट पुनरावेदन गर्न महान्याधिवक्ताको कार्यालयमा अनुमति माग गर्दा दोहोर्याइरहनुनपर्ने भन्दै २०७९ साल साउन ४ गते निर्णय गर्यो।

नक्कली लाइसेन्सबारे अनुसन्धान नै नगर्नु र मदिरा पिएर ज्यान लिँदासमेत कारबाही नहुनुमा 'पावर' ले काम गरेको थियो।

​​​​​​रविनकी आमा विन्दिया कांग्रेसको तर्फबाट सांसद थिइन् भने त्यतिबेला महान्यायाधिवक्ता खम्मबहादुर खाती कांग्रेस सरकार भएको बेला नियक्त भएका थिए। 

यसले प्रभाव र पहुँचका आधारमा न्याय सम्पादन भएको बलियो आधार देखाएको थियो।

नक्कली लाइसेन्स भएको प्रमाणित भइसक्दा पनि किन खारेज हुन सकेन ? बागमती प्रदेश यातायात कार्यालयलाई कुन कानुनी अड्चनले छेक्यो ? यिनै सन्दर्भमा उकेराले बागमती प्रदेश यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमति पत्र एकान्तकुनाका कार्यालय प्रमुख राजकुमार कपालीसँग गरेको कुराकानीः 

२ वर्षअघि यस कार्यालयले जारी गरेको रवीन सिंह कार्कीको सवारी चालक अनुमति पत्रमा भेषबहादुर माझीले आवेदन दिएको र ट्रायलमा अनुत्तीर्ण भएको पाइएको छ। अब के हुन्छ ? 

सम्बन्धित व्यक्ति जो हो, उसैको कायम हुन्छ। कसै न कसैले पत्राचार नगरी कारबाही गर्न मिल्दैन। 

अहिले पनि जसले सवारी चालक पत्र बोकेका छन्, उनी ट्रायल पास नै भएका छैनन् र किर्ते कागजात प्रयोग गरेर अनुमति पत्र लिएको पुष्टि भइसकेको छ। किन पत्राचार नगर्नुभएको त ? 

हामीले रविनसिंह कार्कीको आमालाई बोलाएको थियौँ । पछिसम्म सम्पर्क गर्न आउछु भन्नुभएको थियो। अहिलेसम्म आउनुभएको छैन।

लाइसेन्स किन निष्क्रिय भएन त ?

त्यतिबेला यस कार्यलयमा १२ सय सवारीचालक अनुमतिपत्रबारे छानबिन भएको थियो। त्यतिबेलाका कर्मचारी निलम्बनमा पर्नुभएकाले पनि काम हुन सकिरहेको छैन। अलिकति अप्ठयारो भएकै हो। 

कार्यालय प्रमुख फेरिए पनि काम त हस्तान्तरण हुन्छ नि हैन ? 

त्यो त हो। हामीले धान्नै नसक्ने काम गरेका छौँ। योचाहिं राष्ट्रियस्तरको केस भएकाले गाह्रो भएको हो। 

जिल्ला अदालतले लाइसेन्स माग गर्दा यही कार्यालयका कर्मचारीले सवारी लाइसेन्स रवीनकै रहेको व्यहोरा उल्लेख गर्दै पठाउनुभयो। लापरबाहीपूर्वक काम गरेको देखिएन र ? 

यस  विषयमा मैले विभागमा कुरा राखेको छु। 

किर्ते कागजातको आधारमा लाइसेन्स जारी भएको छ भनेर थाहा हुँदा पनि टुलुटुलु हेरेर बस्नुहुँदो रहेछ हैन ? 

भेष बहादुर माझीले निवेदन दिने हो भने सहज हुन्थ्यो। उहाँ पनि आउनुभएको छैन। रवीनसिंह कार्कीलाई बोलाएको छैन। उहाँहरू पनि अटेर गर्नुभएको छ। हामी फेरि बोलाउँछौँ उहाँहरुलाई । 

विन्दिया कार्की कांग्रेस पूर्वसांसद, त्यतिबेला सरकार पनि कांग्रेसकै । महान्याधिवक्ता दोहार्याउनुनपर्ने निर्णय भएको भन्छ। कतै तपाईंलाई पनि दबाब आएको हो त ? 

मलाई दबाब त आएको छैन। मैले भनेको छु यदि यो कुरामा कुरामा भेषबहादुर र रवीन सिंह कार्की दुईमध्ये एक जनाले मात्रै निवेदन दिए पनि खारेज गर्न सहज हुन्थ्यो।

अनि अर्काे कुरा पहिले ढड्डा भइन्जेल हामीले खारेज गर्न सक्थ्यौँ। यो लाइसेन्स खारेज गर्न यातायात व्यवस्था विभाग र अन्य व्यक्तिबाट उजुरी नआई मिल्दैन। 

आफ्नै कार्यालयबाट कर्मचारीको मिलमतोमा लाइसेन्स जारी भएको छ। आफैंले खारेज गर्दा आफैंमाथि प्रश्न उठ्छ भनेर हो त ? 

त्यस्तो पनि  होइन। हामी यो विषयमा यातायात व्यवस्था विभागमा कुरा राख्छौँ। 

लापरवाहीपूर्वक जसलाई पायो उसलाई लाइसेन्स दिने देखियो है यातायात कार्यालयले ?  

तपाईंलाई ठ्याक्कै भन्दा ४० प्रतिशत लाइसेन्स शंकाको घेरामा छन्। आवेदन एउटाको, लाइसेन्स अर्काे। १२० वटा हामीले नाम सच्चाएका छौँ।

सार्वजनिक रुपमा उठेका मुद्दालाई आफैंले प्रमाण देख्दासमेत आन्तरिक छानबिन समिति बनाएर सल्टाउन मिल्दैन ? 

जानाजान भए जस्तो लाग्दैन। म एक्लैले केही गर्न नसकेकै हो। यो केस यातायात व्यवस्था विभागले अख्तियार अनुसन्धान दुरुपयोग आयोगमा समेत पत्र पठाएको छ भन्ने सुनेको छु। अख्तियारले छानविन गर्दै होला यस विषयमा यस कारण पनि छानबिन समिति बनाउन नसकेको हो। 

अदालतमा पुगेको लाइसेन्सको प्रमाण नक्कली भएको पुष्टि भएको डेढ वर्षपछि बल्ल अनुसन्धानमा जुट्यो यातायात कार्यालय

सांसद पुत्रले बियर पिएको प्रमाण जिल्लाले देख्दा उच्चले देखेन, लाइसेन्सतिर ध्यानै छैन न्यायाधीशको

पूर्व सांसदको छोरालाई जोगाउन तत्कालीन महान्यायाधिवक्ता खातीले पुनरावेदन रोकेर उन्मुक्ति दिए

बटुवा मार्ने भिआइपी चालक जोगाउन यातायातमै सेटिङ, अख्तियार पुग्यो लाइसेन्सको फाइल

नक्कली लाइसेन्सको भरमा पूर्व सांसद्को छोरालाई उन्मुक्ति दिन न्यायाधीश र महान्यायधिवक्ताले यतिसम्म गरे

छोराको नक्कली लाइसेन्स बुझाएकी पूर्वसांसद विन्दिया यातायात कार्यालयले बोलाउँदा गइनन्

१५ बैशाख, २०८०, १८:४४:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।