प्रकाशकीय : तथ्यमा उकेरा लगाउने यात्रा

प्रकाशकीय : तथ्यमा उकेरा लगाउने यात्रा

कोरोना कहरका बीच उकेरा डटकमको प्रारम्भ गर्दा अनलाईन सञ्चार माध्यमको भीडमा केवल सङ्ख्या थप्नु मात्र हाम्रो उद्देश्य थिएन।

'के भयो' भन्ने सूचनाको भीडमा 'किन भयो' भन्ने तथ्यलाई प्राथमिकता दिएर समाचार प्रकाशित गर्न सकिन्छ कि, भन्ने आशा थियो। सूचनालाई नै समाचार बनाउने नभई सूचनालाई पछ्याएर समाचार पस्कने उद्देश्य थियो। 

आज हामी पहिलो वर्षको खुड्किलो पार गरेर दोस्रो वर्षको यात्रामा लम्किँदा प्रारम्भिक उदेश्यमा आंशिक सफल भएको अनुभव गरेका छौं। यसमा हामी खुशी छौं। 

डिजिटल सञ्चारमाध्यमको भीडमा नयाँ सञ्चार संस्थालाई पाठकसँग परिचित हुन सहज छैन। मिडियाको आवरणमा भइरहेका अनेक हथकण्डा, पत्रकारिताको बहानामा हुने क्लिककारिता, तथ्यको बहानामा फैलाइने मिथ्याले पत्रकारिताको धर्म र मर्म बोकेर आए पनि नयाँ सञ्चार संस्थालाई पाठकको विश्वास जित्न कठिन बनाएको छ। 

यो एक वर्षमा उकेराले जति पाठकको विश्वास आर्जन गर्न सक्यो त्यसले हामीलाई थप उत्साहित बनाएको छ। पाठकमाझ विश्वासयोग्य बन्न अझै विश्वासको धेरै अग्निपरीक्षामा उत्तीर्ण हुन बाँकी नै छ। आगामी दिनमा हामीले प्रकाशन गर्ने तथ्यपरक सामाग्रीको साथले हामी ती परीक्षामा उत्तीर्ण हुनेछौं भन्नेमा विश्वस्त छौं। 

प्रश्न सोध्ने पेशा हो पत्रकारिता। सँगै आएको उत्तर बिनाकुनै छेडछाड प्रकाशन गर्ने दायित्व पनि प्रश्न सोध्ने अधिकारसँगै जोडिन्छ भन्ने हामीले कहिल्यै बिर्सिएनौं र बिर्सने पनि छैनौं। हामीले प्रश्न सोध्न छाडेनौं। सँगै आएका उत्तरलाई बिनाकुनै पूर्वाग्रह पाठकमाझ ल्यायौं पनि।

आगामी दिनमा पनि यो अभ्यास जारी रहनेछ नै। 

'राजनीतिक उछलकुद मात्रै समाचार हुन्' भन्ने भ्रमबाट मुक्तहुँदै सामाजिक विषयवस्तुमा केन्द्रीत हुने प्रयास गर्यौं। भुईँमान्छेका कथा-व्यथा, हाँसो-रोदन, सफलता-कष्ट सधैं हाम्रो प्रथमिकतामा रहे। आवाज सुनिनेहरूको बोली चर्काउनुभन्दा आवाजहीनहरूको आवाज बन्ने अभ्यास गरिरह्यौं। र, गरिरहने छौं। 

याे एक वर्षमा हामी आफूमाझ आइपुग्ने सूचनामा मात्र सन्तुष्ट भएनौं। आफैं सूचनाको भण्डारसम्म पुग्ने अभ्यास समेत गर्याैं। 

'छौरीमैयाँ खै?', 'हेटौंडा कपडा', 'उखु किसान ठगी', 'सहकारी ठगी', 'दासढुंगा', 'पुस्तकालय', 'वैदेशिक रोजगार ठगी', 'अपराध अनुसन्धानमा प्रहरीको बदमासी', 'वीर-ट्रमाको बदमासी', 'स्वास्थ्य कोष', 'मिटर ब्याजीको रजगज', '५२ बलात्कारीको बयान', 'ललितपुर पार्किङ बदमासी' लगायतका श्रृंखला यही अभ्यासका नतिजा थिए। 

भारतमा मारिएका अर्घाखाँचीका हेमराज बन्जाडेकाे परिवारको अवस्थाबारे बुझ्न अर्घाखाँची नै पुग्नु परोस् या मेलम्चीमा बाढीको कहरबारे रिपोर्टिङ होस्, फिल्डमै पुगेर रिपोर्टिङ गर्नु सधैं हाम्रो प्राथमिकतामा रह्यो। होली खेल्दा झुक्किएर अनुहारमा एसिड परेकी नाङलेभारेकी अस्मिताको अवस्थाबारे तीन महिनासम्म पछ्याएर तयार पारेको रिपोर्ट पाठकले मन पराउँदा हामी फुरुङ भयौं। 

आइतबार 'प्रसव पीडा र खुसी', सोमबार 'भुईँमान्छेको कथा', मङ्गलबार 'चौथो अंग', बुधबार 'ब्याच नम्बर ६९', बिहीबार 'हिजोको कुरा', शुक्रबार 'कान्तिपुर गाथा' अनि शनिबार 'डाक्टरको सुखदुख'। हरेक दिन एउटा कोलम अनलाईन पत्रकारितामा नौलो अभ्यास थियो। पाठकले यसलाई कसरी लिने हुन् टुंगो थिएन। तर सात बार सात कोलम उकेराको पहिचान बन्दा हामी खुशी छौं। 

पहिलो वार्षिकोत्सव, यात्राको एक पाइला न हो। यात्रा लामो छ। अनगिन्ती पाइला चाल्न बाँकी नै छ। हाम्रा जति पाइला चल्नेछन् ती पत्रकारिताको धर्म र मर्मका साथ चल्नेछन्। तथ्यमा उकेरा लगाउँदै सामाग्री पस्कने यात्राबाट हामी कदापि विचलित हुने छैनौं। 

हामीलाई विश्वास गर्ने पाठक, मार्गदर्शन गराउने शुभेच्छुक र सहयोग गर्ने विज्ञापनदाता सबैलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छौं। यो साथ, यो विश्वास कायम रहोस्। 

तथ्यमा उकेरा लगाउने यात्रा जारी छ। 

सन्तोष बर्तौला
अध्यक्ष
पाथसिड नेपाल प्राली

७ कात्तिक, २०७८, ०७:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।