यौन दुर्व्यवहारका आरोपी प्राध्यापक अर्यालबारे त्रिविले छानबिन थाल्यो, प्रहरीमा उजुरी परेन

यौन दुर्व्यवहारका आरोपी प्राध्यापक अर्यालबारे त्रिविले छानबिन थाल्यो, प्रहरीमा उजुरी परेन

काठमाडौँ : शैक्षिक भ्रमणको क्रममा छात्राहरूमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका नेपाल कर्मश क्याम्पस मिनभवनका उपप्राध्यापक महेन्द्र अर्यालविरुद्ध त्रिभुवन विश्वविद्यालयले छानबिन सुरु गरेको छ।

विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटाले विश्वविद्यालयमा भएको यस्तो कार्यले आफू लज्जित भएको भन्दै घटनाको प्रकृति हेरेर कारबाही गरिने बताए।

शैक्षिक कार्यक्रम अन्तर्गत चितवन पुगेका छात्राहरुलाई अपशब्द प्रयोग गर्ने, संवेदनशिल अंग छुने लगायतका गतिविधी गरेर दुर्ब्यवहार गरेको भन्दै अर्यालविरुद्ध ३६ छात्रछात्राले क्याम्पसमा उजुरी दिएका थिए। उनीहरुले प्रहरीमा उजुरी दिएका छैनन्। यस घटनाबारे उकेराले मंगलबार समाचार प्रकाशित गरेको थियो।

‘दुर्व्यवहारसम्बन्धी घटनालाई विश्वविद्यालयले गम्भीर रूपमा लिएको छ। विद्यार्थीले निवेदन दिएको र उहाँलाई बिबिए प्रोग्रामबाट हटाएको जानकारी आएको छ,’उनले भने, त्रिविको यौन हिंसा रोक्ने कार्यविधिले शिक्षाध्यक्षलाई छानबिनको अधिकार दिएको छ। उहाँको प्रतिवेदन आएपछि के एक्सन लिने निर्णय गर्छौ।’

त्रिविको कार्यविधि अनुसार लैङ्गिक हिंसा न्यूनीकरण सम्बन्धी कार्यविधिले शिक्षाध्यक्षको नेतृत्वमा छानबिन समिति बनाउँछ।

शिक्षाध्यक्ष शिवराज भुसालले नेपाल कर्मश क्याम्पसमा भएको दुर्व्यवहारको छानबिनको जिम्मा पाएका छन्।

विद्यार्थीले माफी माग्नुपर्ने र नेपाल कर्मश क्याम्पस परिसरमा जान नदिने माग गरेको भुसालले बताए।

‘घटनाको प्रकृति हेरेर के कारबाही गर्ने टुङ्गो लाग्छ। यदि भर्वल अब्युज मात्रै हो भने सरले सरुवा माग्नुहुन्छ वा बिदा बस्नुहुन्छ' उनले भने।

शैक्षिक भ्रमणमा गएका कमर्स क्याम्पसका छात्राहरूलाई ‘हटी पाइ’ भन्दै उप-प्राध्यापकले गरे यौन दुर्व्यवहार, ३६ विद्यार्थीको उजुरी

एउटा क्याम्पसमा दुर्व्यवहार गर्नेले अर्को क्याम्पसमा सरुवा गर्दैमा समस्या समाधान हुन्छ भन्ने उकेराको प्रश्नमा भुसालले भने, ‘विद्यार्थी प्रहरीकोमा गए भने त यो घटनाको परिस्थिति बद्लिन्छ। यदि विश्वविद्यालयमा नै समस्या समाधान गर्ने हो भने घटनाको प्रकृति हेरेर हामी एक्सन लिन्छौँ। दुर्व्यवहार गर्नेलाई विश्वविद्यालयले छाड्दैन।’

अर्याल प्रजातान्त्रिक प्राध्यापक सङ्घसँग आबद्ध छन्।  प्राध्यापक सङ्घका अध्यक्ष जगत तिमल्सिनाले घटना आफूले पनि थाहा पाएको तर के भएको हो भन्नेबारे स्पष्ट जानकारी नआइसकेको बताए।

‘उहाँ हाम्रो सदस्य हो। हामीले मिडियाबाट घटना थाहा पाएका छौँ तर अर्याल सरलाई सोधेका छैनौँ,’उनले भने, ‘यदि उहाँ दोषी हुनुहुँदो रहेछ भने सङ्घले के गर्ने बैठक बसेर निर्णय गर्छ।’

२५ माघ, २०७९, २३:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।