नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीलाई अदालतले पठायाे जेल

नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीलाई अदालतले पठायाे जेल

काठमाडौं: नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी जेल चलान भएका छन्। अदालतले ६ महिना कैद फैसला गरेर फरार रहेका चौधरीलाई बिहीबार दिउँसो बाँकेबाट प्रहरीले पक्राउ गरेको थियाे।

यसपछि प्रहरीले उनलाई शुक्रबार जिल्ला अदालत कैलालीमा पेश गरेकाे थियो। अदालतले चौधरीलाई कैद पुर्जी दिएपछि उनी जेल चलान भएका हुन्।

कैलाली क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरीलाई कैलाली जिल्ला अदालतले आगजनी गरेको मुद्दामा दोषी ठहर गरेको थियो। १० वर्षअघि आगजनी गरेको कसूरमा उनीमाथि ६ महिना कैद र ८ लाख जरिवाना गर्ने फैसला भएकाे थियो।

माघ १६ गते उकेराले नागरिक उन्मुक्तिका सांसद अरुण आगजनीमा ६ महिना कैद सजाए पाएका दोषी भएको समाचार प्रकाशित गरेको थियो। उनी विगत १३ वर्षदेखि प्रहरीकाे फरार सूचीमा थिए।

उकेराको खोजविनमा अदालतले दोषी ठहर गरेका अरुण र कैलाली २ का सांसद अरुण एकै व्यक्ति भएको पुष्टि भएको छ।

निर्वाचन आयोगमा बुझाएको विवरणमा उनको स्थायी ठेगाना कैलाली लम्की चुहा नगरपालिका गिधिनिया उल्लेख छ। २०७० वैशाख ९ मा जिल्ला अदालत कैलालीका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासबाट फैसलामा उल्लेख गरिएको अरुणको ठेगाना पनि उही हो।

फरार दोषीहरूको खोजी सम्बन्धी प्रहरी रेकर्डमा पर्शुराम चौधरीको मात्र नाम छ। उनको बाबुको नाम करिंगा चौधरी उल्लेख छ। आयोगमा रहेको विवरणअनुसार अरुणको बाबुको नाम पनि करिंगा चौधरी नै हो। पर्शुराम उनको दाइ हुन्।

आयोगको विवरणमा उनको नाम अरुन लेखिएको छ। अदालतको फैसलामा अरुण। तर उनको नाम अरुण हो भन्ने सिद्धार्थ बैंकले उनी र उनको श्रीमतीको नाममा निकालेको सूचनामा उल्लेख भएको विवरणले समेत पुष्टी गर्छ।

पर्शुराम र अरुणले २०६६ भदौ ३ गते लु. २ त. २११ नम्बरको को ट्याक्टर जलाएको पुष्टि भएको थियो। साजन चौधरीले ट्याक्टर चलाएर ढुङ्गा लिन चिसापानीमा रहेको गोराङ्गा खोलामा गएका थिए।

उनीहरूले ढुङ्गा लोड गरेर लम्कीतर्फ आउने क्रममा साँझतिर बलिया–८ धोबेनी खोला स्थित सडकमा १० जना जतिले नियन्त्रणमा लिएर ट्याक्टरमा आगो लगाइदिएका थिए।

२० माघ, २०७९, ११:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।