प्रभास र दीपिकाको 'प्रोजेक्ट के' दुई भागमा आउने !

प्रभास र दीपिकाको 'प्रोजेक्ट के' दुई भागमा आउने !

एजेन्सी: बाहुबली स्टार प्रभास र बलिउड अभिनेत्री दीपिका पादुकोण यतिबेला प्यान इण्डिया फिल्म 'प्रोजेक्ट के'मा सँगै काम गरिरहेका छन्। यो फिल्ममा अमिताभ बच्चनको समेत महत्त्वपूर्ण भूमिका हुने बताइएको छ।

फिल्म साइन्स फिक्सन विधामा बन्नेछ। निर्देशक हुनेछन्- नाग अश्विन।

भारतीय मिडिया रिपोर्टका अनुसार फिल्म दुई भागमा बनिरहेको छ। फिल्मको प्लट बढ्दै गएपछि निर्माण युनिटले यसलाई दुई भागमा रिलिज गर्ने तयारी गरेको हो।

जसअनुसार पहिलो भागमा फिल्मको कथा र द्वन्द्व स्थापित हुनेछ भने सम्पूर्ण कथा दोस्रो भागमा उघारिनेछ।

भारतीय मिडियाको रिपोर्टअनुसार निर्माण युनिटले पहिलो भागको शुटिङ सकेर दोस्रोको शुटिङ थाल्ने तयारीमा छ। दुवै भागको शुटिङ सकेर वर्ष दिनभन्दा कम समयको फरकमा दुवै भाग रिलिज हुनेछ।

हाल फिल्मको पहिलो भाग पोस्ट प्रोडक्शनको चरणमा छ। भीएफएक्स आर्टिस्टहरू फुटेजमा काम गरिरहेका छ।

प्रोडक्शन टोली भने दोस्रो भागको शुटिङको लागि सेट तयार गर्दैछन्।

यद्यपि यो कुरामा केही भने सहमत छैनन्। निर्माण युनिटले आधिकारिक सूचना नदिएकाले फिल्म दुई भागमा बन्ने कि नबन्ने भन्नेमा चलचित्र क्षेत्रका केही भने सहमत नभएका हुन्।

१९ माघ, २०७९, ११:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।