माओवादीले भन्यो– फैसलाको पूर्णपाठ नआउँदासम्म गृह मन्त्रालयबारे थप निर्णय हुँदैन

माओवादीले भन्यो– फैसलाको पूर्णपाठ नआउँदासम्म गृह मन्त्रालयबारे थप निर्णय हुँदैन

काठमाडौं : माओवादी केन्द्रले अदालतबाट रवि लामिछानेको विषयमा मुद्दाको पूर्ण पाठ नआउँदासम्म गृह मन्त्रालयबारे थप निर्णय नहुने जनाएको छ।

मंगलबारको  पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग बोल्दै पार्टी प्रवक्ता कृष्णबहादुर महराले सर्वोच्च अदालतको आदेशको पूर्ण पाठ आएपछि मात्र गृह मन्त्रालयबारे निर्णय हुने जानकारी दिए।

‘सर्वोच्च अदालतबाट फैसलाको पूर्णपाठ नआउँदासम्म गृह मन्त्रालयबारे थप निर्णय हुँदैन,’ उनले भने, ‘प्रधानमन्त्री आफैँले राख्नुभाको छ।’

नागरिकता पाएकै दिन पार्टीको सदस्य हुँदै सभापति बने लगत्तै प्रधानमन्त्री लाई भेटेर दबाब बढाएका रवि मंगलबार पनि प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए।

गठबन्धन गर्दाको सर्तअनुसार गृह राष्ट्रिय स्वतन्त्र पार्टीको भएकाले यसमा तलमाथि नगरी कसलाई गृहमा पठाउने त्यसको निर्णय पार्टीलाई गर्न दिन रविले आग्रह गरेका थिए।

सरकार छाड्ने रास्वपाकाे चेतावनीपछि प्रधानमन्त्रीले भने- 'सकेसम्म नटुटोस् भन्ने चाहेकाे छु'

प्रचण्डले आइतबारको जस्तै जवाफ दिँदै यसबारे गठबन्धनका दलबीच छलफल गर्ने बताएपछि उनले मंगलबार दिनभरमा निर्णय नआए पार्टी सरकारबाट बाहिरिन सक्ने चेतावनी दिएका थिए।

उनको चेतावनीपछि पनि प्रचण्डले सकारात्मक जवाफ दिएका थिएनन्।

यता गृह मन्त्रालयबारे रवि नियमित एमाले अध्यक्ष केपी ओलीको सम्पर्कमा समेत रहेका छन्। आफ्नो भेटमा दाहाल सकारात्मक नदेखिएको भन्दै दबाब बढाउन रविले ओलीको सहयोग मागेका थिए। ओलीले आफू रास्वपाकै पक्षमा रहेको जवाफ दिएका थिए। ओलीसँगको परामर्शपछि रवि मंगलबार प्रचण्डलाई भेट्न गएका हुन्।

संवैधानिक इजलासको फैसलाको पूर्णपाठ नआएको अनि दोहोरो राहदानी प्रयोग लगायतका विषय अझै अनुसन्धानमै रहेको भन्दै दाहालले गृह आफैसँग राखेर अन्य मन्त्रालय दिन राजी छन्। तर, रवि गृह छाड्ने पक्षमा छैनन्।

रवि सांसद बन्न योग्य कि अयोग्य भन्ने मात्र टुंगिएको हो। दोहोरो नागरिकता प्रयोग गरेर गरेको कामबारे प्रहरीको अनुसन्धान जारी छ।

दोहोरो नागरिकता प्रयोग गरेको अनी दोहोरो राहदानी बनाएर प्रयोग गरेको प्रमाणबाट पुष्टि भइसकेको छ। सो आरोपमा मुद्दा प्रक्रियामा गए उनी राजनीति गतिविधिकै लागि कानुनतः अयोग्य हुनेछन्।

त्यसैले उनी सकेसम्म प्रहरी अनुसन्धान नै हुन नदिने, भए पनि आफ्नै पक्षमा लैजाने प्रयासमा देखिन्छन्।

१७ माघ, २०७९, १४:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।