हिजाेका कुरामा रमेश सर : पाँचौं प्रयासमा एसएलसी पास गरेपछि बेहुली नपाउने तनावबाट मुक्त भएँ

हिजाेका कुरामा रमेश सर : पाँचौं प्रयासमा एसएलसी पास गरेपछि बेहुली नपाउने तनावबाट मुक्त भएँ

करीब चार दशक शिक्षा क्षेत्रमा समर्पित रमेश पौडेल साहित्यमा पनि उत्तिकै दखल राख्छन्। सेवा र साधना रुचाउने सिन्धुपाल्चोकको राम्चेमा जन्मिएका पौडेल पेशाले शिक्षक हुन्।

गाउँघरमै हुर्किएका उनका खेलौना भनेको पातपतिङ्गर, चिलाउने, लप्सीका गेडालगायतका थिए। भुँइमा फुल्ने फूललाई चकलेटको कागजको खोलमा बेरेर मिठाई पसल खोल्ने गर्दथे। असुरोको पातको पैसाको मुठो बनाएर व्यापार पनि गर्थे।

हुर्कँदै जाँदा हातमा कुट्टो पर्यो। त्यसले कान्ला खनेर त्यसमा रोड बनाउथे र चेप्टे ढुङ्गालाई गाडि बनाएर गुडाउने गर्दथे। अहिले उनलाई सानोमा उमेरसँगै आफ्नो खेल विकसित भएकोमा हाँसो उठ्छ।

औपचारिक शिक्षा
भर्खरै अरनिको राजमार्ग र सुनकोशी जलविद्युत आयोजना खोलिने क्रममा रहेकोमा गाउँ–गाउँमा स्कूलहरू पनि खोलिँदै थियो। खेल्दाखेल्दै पौडेल विद्यालय जान्थे। ख्यालख्यालमै उनको औपचारिक शिक्षा सुरू भयो।

अङ्गार कुटेर पाटी बनाउने, खरीमा प्वाल पारेर सानो खिरिलो पाटको डोरीले पाटीमा बाँधेर लेख्न थालेपछि उनको अक्षर चिन्ने बाटो खुल्यो।

‘एकातिर काठको फलेकरूपी पाटी बोक्ने गर्थें, अर्कातिर सुरुवालको इँजार समात्ने गर्थें,’ उनले भने, ‘दुबै हातले काम पाउथे। मलाई भ्याइनभ्याई हुन्थ्यो।’

किशोरवस्थामा पुग्दा उनी पढ्न घरबाट डेढ घण्टा हिँडेर बाह्रबिसे बजारमा पुग्थे। जहाँ उनले सबैतिरका साथीहरू भेट्थे। रित्तो खल्ती र बजारको पसल, पेटको भोक र मनको तलतल उनको मगजभरी थोपरिन्थ्यो।

कहिलेकाहीँ आमाले तिनमुखे थैली उघारेर टाउके मोहोर दिन्थिन्, जसले मिठाइ किनेर खान्थे उनी। अरू बेला त उही ढिकीमा कुटेको बाक्ला च्यूरा र कैला भटमासको भर।

२०३६, ०३७ सालतिर शिक्षक र विद्यार्थीको हड्तालका कारण जाँचमा हाजिरी गरेपछि होलपास भइरहेका उनले एसएलसीमा पनि त्यहि भन्ठाने। तर त्यसो भएन। नतिजा आउँदा उनको सिम्बोल नम्बर गोरखापत्रमा अटाएन।

‘गोरखापत्रमा मेरो सिम्बोल नम्बर अटाएनछ। तर मेरो शब्दकोशमा निरास भन्ने थिएन। पाँचौं पटकको निरन्तरताले मैले एसएलसी पास गरें,’ उनले थपे, ‘त्यो बेलाको खुशी पो खुशी। एसएलसी पासले मेरो नाम चलायो। बिहे गर्न बेहुली नपाउने जमानामा फलामे ढोका पार गरेपछि मेरो त्यो समस्या पनि हट्यो।’

‘बेहुली रोएरको देखेर कविता लेखेँ’
बिहेको सिजन थियो। छिमेकमा मसली दिदीको बिहे भयो। रातिको विवाह सकेर भोलिपल्ट विहान बेहुली अन्माउँदा उनको रुवाइभन्दा चर्कोगरी बाजा बज्न थाल्यो। तर बेहुली त्योभन्दा चर्कोगरी रोएर डोलीबाट झर्न खोजिन्। जसोतसो बेहुलीलाई जन्तीले घेरेर डाँडा कटाए तर पौडेलको मनमा यसले गहिरो प्रभाव पार्यो।

पछि उनले बिहेमा रमझम गर्नुको कारण र बेहुली रुनुको कारण खोज्दै जाँदा उनले सोह्र हरफको कविता लेखे, जसको शीर्षक राखे, ‘रोएकी बेहुली नानी’। यसरी उनकोसाहित्यको औपचारिक यात्रा सुरू भयो।

‘यही घटना मेरो कविता लेखनको पहिलो पाइलो बन्यो। त्यसपछि मैले फाट्टफुट्ट कविता लेख्दै गए। एक दशकभित्र सयौं कविता लेखेँ। सुनाएँ। पत्रपत्रिकामा छपाएँ। पत्रिकामा कविता छापिँदा फुरुङ्ग परिन्थ्यो।’

पौडेललाई आफ्ना कविताले कयौंपटक भावुक मात्र बनाएका छैनन् आँशुसमेत खसालेका छन्। दुई पात्रलाई राखेर कविता लेख्दा कुनै पात्रलाई अन्याय गरेँ कि भन्न लागेर धेरैपटक रोएको उनले सुनाए।

सयौं कविता लेखिसकेका उनी अहिलेको समाजमा साहित्यिक चेत कम भएको अनुभव गर्छन्। पहिला त अहिलेको भन्दा पनि कम हुने भएकाले आफ्ना कविता कहिल्यै परिवारलाई सुनाएनन् उनले।

‘अहिले त समाजलाई साहित्यिक चेत छैन, त्यो बेला झन् दयनीय थियो,’ उनले सम्झिए, ‘त्यसैले मैले आफ्नो रचना कहिल्यै परिवारलाई सुनाइनँ। बरू आफ्नो केही मन मिल्ने साथीहरूलाई सुनाउथेँ।’

अध्यापनमै ३६ वर्ष 
२०४१ सालदेखि पढाउन थालेका पौडेलले तीनवटा विद्यालयमा पढाए। सुरूमा घरबाट दुईघण्टा हिँडेर पढाउन जान्थे उनी। तर त्यहाँ तीन वर्षमै छाडे। त्यो अनुभवले उनलाई पढाउन झनै प्रेरित गर्यो र अर्को विद्यालयमा पढाए १२ वर्ष।

त्यसपछिको विद्यालयमा भने उनले २१ वर्ष बिताए। उनले अध्यापनबाट अनिवार्य अवकाश पाएको एक वर्ष भयो। तर आफू वर्षौंदेखि एक्लिएको महसुस हुने उनी बताउँछन्।

‘३६ वर्ष अध्यापन गराउँदा मलाई कुनै दिनको कक्षा पनि अल्छि लागेन,’ उनले भने, ‘अहिले एक वर्ष भयो विद्यालय जान छाडेको तर मलाई वर्षौंजस्तो भएको छ।’

६ दशकको हाराहारीमा पनि फुर्तिला छन् पौडेल। आफू अरुभन्दा बढि नै सन्तुष्ट भएर फुर्तिलो भएको जस्तो लाग्छ उनलाई।

३६ वर्षको शिक्षण पेसाबाट अवकाश लिएका पौडेल बाँकी जीवन आफ्नो र परिवारका लागि दिने बताउँछन्। त्यसबाहेकको समय साहित्य साधनालाई निरन्तरता दिने उनको योजना छ।

१२ माघ, २०७९, १८:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।