चित्र बनाएकाले 'चिसो कोठा'मा थुनिनेहरू

चित्र बनाएकाले 'चिसो कोठा'मा थुनिनेहरू
तस्बिरहरू: 'खोज'।

२०७९ पुस १९ गते, रातको साढे ११ बजे। ज्ञानेश्वर हाइटमा उनीसँग एक ऐतिहासिक घटना हुन जान्छ। त्यो घटनाबारे उनीहरू पहिल्यै सचेत थिए। 

तर, कहिले हुन्छ भन्ने चाहिँ उनीहरूलाई थाहा थिएन। 

१९ गते राति प्रहरीले तीन जनालाई चौकी लान्छन्। तर उनीहरू अपराधी होइनन्। कुनै अभियोग पुष्टि भएको दोषी पनि होइनन्। 

चित्रकारको समूह हो त्यो। एक- पोख्त, दुई- सिकारु। उनीहरू शहरका भित्ताहरूमा आफ्नै खर्चमा चित्र बनाउँदै हिँड्छन्। 

साँझ-रात-बिहान-दिउँसो। जहिल्यै। जहाँ, जुनसुकै बेला। 

ती तीनको पहिलो अनुभव थियो- ‘चिसो कोठा’। चिसो कोठा यो मानेमा कि एक त कोठा चिसो नै थियो। र तीन जनालाई चिसोमा राख्नेहरूको व्यवहार मान्छे नै नदेखेको जस्तो थियो।

उनीहरूमा मनमौजी भने बढी भएकै हो। त्यस घटनाअघि उनीहरूलाई प्रहरीले चित्र बनाइरहँदा सोध्न नआएका होइनन्। आफ्नो उद्देश्य/काम/योजनाबारे बताएपछि प्रहरी ‘मेरो साथी’ बन्थे। 

त्यस दिन त्यसो हुन पाएन। उनीहरूलाई प्रहरीको भ्यानमा राखियो। ठूलै सफलता हात पारेको सोचेर हो या त्यो पेशामा त्यस्तै हुन्छ, केहीले तल्लो स्तरको व्यवहार देखाए। 

मानौँ, उनीहरू अरू ग्रहबाट आएका हुन् र मान्छे कहिल्यै देखेका छैनन्। खैर, छाडौँ। सबै त्यस्ता थिएनन्।

नियन्त्रणमा लिइएका ती तीनलाई अपराधीको कुर्सीमा राखेर हेरियो। त्यो रात चौकीबाट उनीहरू नछुट्ने भए। उनीहरूलाई ‘खोर’ मा पसाइयो। बिल्कुल अलग दुनियाँ। शक्तिहीन ठाउँ (यस्तै सोचियो)।

साँचो अरूकै हातमा भएको चौकुना। जाडो याम। ढुसी गनाउने कोठा। 

ठ्वास्सै गन्ध आउने डसना। उता नमीठो बोली। तब त के, स्वतन्त्र भएर पनि नभएको जस्तो। सबै छ, तर शून्य भए जस्तो। 

तर, उनीहरू दु: ख मानिरहेका थिएनन्। त्यो घटनाको पूर्वज्ञात भएर हो या उनीहरू मात्र त्यस कोठामा थुनिएर। मस्तले गफिए उनीहरू। 

ती तीनको पहिलो अनुभव थियो- ‘चिसो कोठा’। चिसो कोठा यो मानेमा कि एक त कोठा चिसो नै थियो। र तीन जनालाई चिसोमा राख्नेहरूको व्यवहार मान्छे नै नदेखेको जस्तो थियो।

०००
अब केही उनीहरूले के गरे भन्ने कुरा बताउँछु। तब बल्ल बाँकी घटना बुझ्न सजिलो होला।

तपाईं वीर अस्पतालको नयाँ भवन जाँदा भित्तामा केही शब्द र चित्र देख्नुहुन्छ। पुरानो बानेश्वरतिर जानु भए पोल र भित्तातिर चित्र देख्नुहुन्छ। 

धेरै ठाउँमा स्ट्रिट आर्ट गैरकानूनी मानिन्छ। गैरकानूनी हुने तरिकाले गरिन्छ। किनकी भित्ता (अरू पनि हुनसक्छ)को मालिकसँग अनुमति लिने गरिँदैन। 

यी क्षेत्रहरूमा चित्र बनाउने एक कलाकार छन्। उनको समूह छ। उनीहरू यो अङ्ग्रेजी वर्षमा १००१ स्केच शहरका भित्तामा बनाउने ध्याउन्नमा छन्। 

ती कलाकारले ४५ बढी एब्स्ट्राक्ट चित्रहरू भित्तामा बनाइसकेका छन्। किन? किनकी धेरै मान्छेले चित्र देख्लान्, चित्रकार देख्दैनन्। बनाउने प्रक्रिया देख्दैनन्। त्यस्तै सीमित मान्छेहरू मात्र ग्यालरी जान्छन्। चित्र क्यानभासमा मात्र हुनुपर्छ भन्ने छैन। यिनै कुरा चिर्न उनीहरू सडकमा छन्। 

उनीहरूको काम ‘स्ट्रिट आर्ट’ वा ‘ग्राफिटी’ भित्र पर्छ। तर उनीहरूको धारणा के छ भने सडक नै जीविकोपार्जनको मूल हो। यसबाट नै दैनिकी चल्छ। 

अनि शहरका खाली भित्तामा चित्रले किन स्थान नपाउने? भित्तेचित्रको इतिहास मावन सभ्यताको सुरुआतसँगै भएको हो। चित्रकारिताको दुनियाँमा यो कुनै नौलो घटना होइन।

केवल उनीहरूले नेपालमा अभ्यास मात्र गरिरहेका हुन्। अब यही कारण थुनामा पर्छन् त किन उनीहरू दुःख मन नगरून्।

धेरै ठाउँमा स्ट्रिट आर्ट गैरकानूनी मानिन्छ। गैरकानूनी हुने तरिकाले गरिन्छ। किनकी भित्ता (अरू पनि हुनसक्छ)को मालिकसँग अनुमति लिने गरिँदैन। 

बिहान हुन्छ। छाड्दैनन्। सबैको फोन खोसिदिएको छ। तै पनि चिया, दुनोट खाँदै उनीहरू चिसो कोठामा अनुभव साटासाट गर्छन्। उनीहरूको साथी आइपुग्छन्। तर भेट्न पाउँदैनन्। 

यहीलाई आधार बनाएर स्ट्रिट आर्टलाई गैरकानूनीको उपमा भिराइने गरिएको छ। त्यस्तै कतिले स्ट्रिट आर्टलाई ‘भित्ता फोहोर गर्ने’ भनेर तल्लो स्तरको तक्मा आफैँ दिन्छन्। 

थाहा पाइहाल्नु भयो होला, उनीहरूलाई पनि त्यही मति ए, ए… अनुमति कै कारण चिसो कोठी पुर्याइएको थियो।

चिसो कोठामा मस्त कुराकानी गरिरहेका उनीहरूलाई मान्छे नदेखे जस्तो गर्नेहरूले सुत्ने आदेश दिन्छन्। सुतेको एक घण्टा भएको छैन, 'उठ्' भन्ने आदेश दिन्छन्। 

उनीहरूको हातमा हतकडी लगाइन्छ। अपराधीको महसुसले उनीहरूलाई ढाक्छ। ‘रक्सी खाएको/नखाएको’ सोध्न तीन बजे उनीलाई वीर अस्पताल लगिन्छ। 

त्यहीँ उनीहरूले लेखेको ‘अचेत शहर’ले गिज्याइरहेको देखिन्छ।

बिहान हुन्छ। छाड्दैनन्। सबैको फोन खोसिदिएको छ। तै पनि चिया, दुनोट खाँदै उनीहरू चिसो कोठामा अनुभव साटासाट गर्छन्। उनीहरूको साथी आइपुग्छन्। तर भेट्न पाउँदैनन्। 

राति चित्र कोरेको भित्ताको मालिकलाई ल्याएछन्। मुद्दा चलाउने/नचलाउने कुरा भएछ। नचलाउने भएपछि के-के जातिमा ल्याप्चे र सही गरेपछि बल्ल उनीहरू छुट्छन्। यसरी उनीहरूको जीवनमा एक ऐतिहासिक घटनाको अन्त्य हुन्छ। 

के थाहा, फेरि यही कुरा भविष्यमा दोहोरिएला।

०००

यस घटनामा उनीहरूले धन्यवादका पात्र चयन गरेका छन्। जसमा पक्राउ गर्ने प्रहरी र भित्ताका मालिक छन्। 

भोकाएको चितुवाले मृगलाई छोड्ला र! खैर, प्रहरीले ‘ती तीन’लाई समातेर आफू भएको देखाए। आफ्नो जिम्मेवारीमा वफादारिता देखाए।

उनीहरूको लागि यो एउटा विल्कुल नयाँपन हो। पक्राउ नपरेको भए त्यो अनुभव प्राप्त हुँदैनथ्यो। 

यस घटनामा तीन पक्ष छन्। पक्राउ पर्ने, पक्राउ गर्ने र भित्ता मालिक। अब तीनै पक्षको नजरबाट उनीहरूले केलाएको कुराको बखान पढ्नुस्।

पक्राउ गर्ने पक्ष
समाजलाई शान्ति सुरक्षामा राख्ने काम प्रहरीको हो। कुनै नराम्रो घटना हुनबाट रोक्न प्रहरीले प्रमुख भूमिका खेलेका हुन्छन्। 

यो उनीहरूको अधिकार र दायित्वभित्रको एक पाटो हो। हुन त प्रहरीले ‘ती तीन’लाई पहिलो मौका दिएका थिए। 

‘ती तीन’ जब्जर। ढिपे। फेरि अर्को ठाउँमा चित्र बनाउन पुगिहाले। प्रहरी आइहाले। समातिहाले। चिसो कोठाभित्र थुनी त हाले। 

भोकाएको चितुवाले मृगलाई छोड्ला र! खैर, प्रहरीले ‘ती तीन’लाई समातेर आफू भएको देखाए। आफ्नो जिम्मेवारीमा वफादारिता देखाए।

अनजान, आफ्नो काममा गरिरहेको भित्ता मालिकलाई खबर गरे। यो काम पनि सराहनीय नै छ। यो मानेमा प्रहरीलाई धन्यवाद।

भित्ता मालिक
उनले आफ्नो भित्तामा चित्र कोरिएको सायद पछि मात्र थाहा पाउँथे। मन नपरे मेटाइदिन्थे। 

बनाउनेसँग चिनजान तत्कालै हुँदैनथ्यो। तर, प्रहरीको सक्रियताले उनले चाल पाए। ‘ती तीन’सँग भेटे। रातारात चित्र बनाउने र बिहान ‘सरप्राइज’ दिनेहरूलाई देखे।

विचरा ‘ती तीन’ जो कलाकार न परे। के दिन सक्लान्! बस्, कहानी बन्ने भो- जमानामा चित्रकारलाई थुनियो। 

यो घटनाले उनलाई प्रहरीप्रति थप विश्वासनीय बनाएको हुनुपर्छ। 

‘तपाईंको भित्तामा चित्र बनाउनेलाई पक्राउ गरेका छौँ। चौकी तु-आउनूस्।’ 

सायद उनको यस्तो अनुभव पहिलो होला। उनी स्वयं जिल्ल थिए। उनैले 'ती तीन'लाई छुटाए। उनलाई पनि धन्यवाद। 

ती तीन
प्रहरीको सक्रियतालाई उनीहरूले सकारात्मक लिए। यस्तै सक्रियता राज्य सञ्चालन गर्नेहरू र समाजमा कलङ्क मच्चाउनेहरूप्रति देखाए झन् गज्जब हुन्थ्यो। 

विचरा ‘ती तीन’ जो कलाकार न परे। के दिन सक्लान्! बस्, कहानी बन्ने भो- जमानामा चित्रकारलाई थुनियो। 

अनि, यसरी शब्दहरू बुनिने भो।

अँ ‘ती तीन’मा पङ्क्तिकार पनि थिए। एक ऐतिहासिक घटनाको अध्ययन गर्नु भएकोमा तपाईंलाई मुरीका मुरी धन्यवाद।

८ माघ, २०७९, ०९:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।