सिट-बेल्ट नबाँधेको भन्दै बेलायतका प्रधानमन्त्री सुनकलाई जरिवाना

सिट-बेल्ट नबाँधेको भन्दै बेलायतका प्रधानमन्त्री सुनकलाई जरिवाना
तस्बिर: बीबीसी

एजेन्सी: बेलायतका प्रधानमन्त्री ऋषि सुनकलाई जरिवाना गराइको छ। गुडिरहेको कारमा सिट-बेल्ट नबाँधी बसेको र सामाजिक सञ्जालको लागि भिडियो खिचेकाले उनलाई जरिवाना गराइएको हो।

लन्काशायर प्रहरीका अनुसार ४२ वर्षीय प्रधानमन्त्री सुनकविरुद्ध जरिवाना गरिएको हो। उनीविरुद्ध फिक्स्ड पेनाल्टी नोटिस जारी गरिएको छ। यो भनेको २८ दिनभित्र जरिवाना तिर्नैपर्ने गरी पठाइएको सूचना हो।

प्रधानमन्त्री कार्यालय (नम्बर १०) ले भने प्रधानमन्त्री सुनकले उक्त गल्ती स्वीकारेको र माफी पनि मागेको बताएको छ। यस्तै उनले जरिवाना रकम समेत तिर्ने प्रष्ट पारिएको छ।

बेलायतमा सिट-बेल्ट नबाँध्ने प्यासेन्जरलाई एक सय पाउण्डसम्म जरिवाना गरिन्छ। यदि मामिला अदालतमा पुगेको खण्डमा जरिवाना रकम पाँच सय पाउण्ड पर्नसक्छ। पाँच सय पाउण्ड भनेको आजको विनिमय दरअनुसार ८० हजार ४२५ रुपैयाँ हो।

उत्तरी इङ्ग्ल्याण्डको यात्राका क्रममा लन्काशायर भन्ने स्थानमा प्रधानमन्त्री सुनकले सिट-बेल्ट फुकाएर सामाजिक सञ्जालका लागि भिडियो खिचेका थिए। उक्त भिडियो उनको इन्स्टाग्रामबाट पोस्ट गरिएको थियो।

सरकारमा छँदै जरिवाना तिर्नुपर्ने गरी सुनक दोस्रो पटक कारबाहीमा परेका हुन्। यसअघि गत अप्रिलमा कोभिड लकडाउन सम्बन्धी नियम पालना नगरेकाले तत्कालीन प्रधानमन्त्री बोरिस जोनसनसहित जरिवाना भर्ने गरी कारबाहीमा परेका थिए।

७ माघ, २०७९, ११:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।