मुख्य अभिनेता, अभिनेत्री र निर्देशकसहित ४६ जनाको ज्यान लिने फिल्म 'द कन्करर'

मुख्य अभिनेता, अभिनेत्री र निर्देशकसहित ४६ जनाको ज्यान लिने फिल्म 'द कन्करर'

एजेन्सी: फिल्महरू काल्पनिक हुन्छन्। तर यो एउटा यस्तो फिल्मको कथा हो जसले वास्तविकतामै ४६ जनाको ज्यान लिएको छ।

फिल्म हो- द कन्करर। सन् १९५६ मा प्रदर्शनमा आएको यो हलिउड फिल्म मङ्गोल शासक चङ्गेज खाँको प्रेम कथामा आधारित थियो। फिल्मलाई सक्दो यथार्थपरक देखाउन निर्माता/निर्देशकले यूटाको सेन्ट जर्ज भन्ने स्थानमा शुटिङ गर्ने निधो गरे।

फिल्मका कलाकार र क्रुले यूटामा शुटिङ गर्ने कुराको विरोध गरे। किनकि, सन् १९५१ देखि १९५५ को बीचमा यूटामै अमेरिकाले लगातार कयौँ आणविक अर्थात् न्यूक्लियर परीक्षण गरेको थियो।

तर फिल्मका निर्माता तथा निर्देशकले आफ्नो कलाकार र क्रुलाई शुटिङस्थल पूर्णरूपमा सुरक्षित रहेको भन्दै आश्वस्त पार्यो। र, सन् १९५४ देखि १९५५ सम्म यही आणविक परीक्षण केन्द्रबाट केवल २२० किलोमिटरको दूरीमा फिल्मको शुटिङ थालियो।

यो लोकेशन छान्नुको कारण थियो- यहाँको मरुभूमियुक्त जमीन। तर यहाँको विषाक्त हावा र परीक्षण केन्द्रबाट उडेर आएको धूलोले फिल्ममा काम गरिरहेका २२० जनामध्ये ९१ जना (४१%) लाई क्यान्सर भयो। क्यान्सर पीडितमध्ये ४६ जना (२१%) को ज्यान गयो।

अझ स्तब्ध बनाउने तथ्य त के हो भने मृतकहरूमा फिल्मका नायक, नायिका, निर्देशकसहित मुख्य व्यक्तिहरू समेत थिए। 

फिल्मका निर्देशक डिक पोवेलको सन् १९६३ मा ज्यान गयो। फिल्म रिलिजको सात वर्षपछि क्यान्सरकै कारण उनको मृत्यु भएको थियो। मुख्य अभिनेता जन वेन र अभिनेत्री सुसन हेवर्डको पनि क्यान्सरकै कारण ७० को दशकमा मृत्यु भयो।

अर्का मुख्य कलाकार अर्मनडारिजलाई पनि किड्नीको क्यान्सर देखियो। आफ्नो हालत निकै खराब भएको थाहा पाएपछि सन् १९६३ उनले आत्महत्या गरे। यस्तै कलाकार जन होएटलाई फोक्सोको क्यान्सर देखियो। उनको मृत्यु १९९१ मा भयो।

यत्रो दुःख भोगेको फिल्म बक्स अफिसमा भने फ्लप भएको थियो। यसलाई इतिहासकै खराब फिल्मको उपाधि दिइएको थियो।

७ माघ, २०७९, १०:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।