मेस्सी र रोनाल्डो दुवैले गोल गरे, खेल पीएसजीले ५-४ ले जित्यो

मेस्सी र रोनाल्डो दुवैले गोल गरे, खेल पीएसजीले ५-४ ले जित्यो

एजेन्सी: गए राति सम्पन्न पीएसजी र साउदी अल स्टार ११ बीचको खेल पीएसजीले जितेको छ। मिड सिजन टुरका लागि मध्यपूर्वमा रहेको पीएसजीले साउदी अरेबियाको दुई शीर्ष क्लब (अल नासिर र अल हिलाल)का संयुक्त टोलीलाई ५-४ गोलअन्तरले पराजित गरेको हो।

लियोनल मेस्सी, किलियन एम्बाप्पे, नेयमार जुनियर, सर्जियो रामोस जस्ता खेलाडी सम्मिलित पीएसजीले क्रिस्टियानो रोनाल्डोको कप्तानीमा उत्रेको साउदी अल स्टार ११ विरुद्ध सकसपूर्ण जित निकालेको हो।

मेस्सी र रोनाल्डोबीचको अन्तिम भिडन्त भनेर पनि व्याख्या गरिएको यस खेलमा मेस्सी र रोनाल्डो दुवैले गोल गरे। खेलमा तीन मिनेटमै मेस्सीले नेयमारको पासमा गोल गरे भने मार्किनोसले ४३ मिनेटमा, रामोसले ५३औँ मिनेटमा, एम्बाप्पेले ६०औँ मिनेटमा, ह्युगो एकिटिकेले ७८औँ मिनेटमा गोल गर्दै पीएसजीका लागि पाँच गोल गरे। 

साउदी अल स्टार ११ का लागि दुई गोल रोनाल्डोले गरे। खेलको ३४औँ मिनेटमा पेनाल्टीमार्फत रोनाल्डोले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए। यस्तै पहिलो हाफको इन्जुरी समयमा थप एक गोल गरे। खेलको ५६औँ मिनेटमा जाङ ह्युन सोले गोल गरे भने चौथो गोल दोस्रो हाफको इन्जुरी समयमा टालिस्काले गरे।

पीएसजीले पाएको थुप्रै अवसर गुमाएको थियो। एम्बाप्पे र नेयमारले गरेका केही प्रहार गोलमा परिणत हुन सकेको थिएन। यता नेयमारले पेनाल्टी पाउँदा समेत गोल गर्न सकेनन्। उनले प्रहार गरेको फितलो पेनाल्टी साउदी अल स्टार ११ का गोलकिपर मोहम्मद अल ओवाइसले सहजै रोके।

यस्तै पीएसजीका जुहान बर्नाटले खेलको ३९औँ मिनेटमा रातो कार्ड पाएका थिए। त्यसपछि पीएसजी १० खेलाडीमा सीमित भएको थियो।

६ माघ, २०७९, ०७:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।