राजनारायणको स्टिङ अप्रेशन गर्ने पूर्व राष्ट्रिय खेलाडीको बयान ' मिठाइको पकेटमा ७८ लाख मगाए, भिडियो देखेपछि आत्तिँदै म बर्बाद हुन्छु भने'

राजनारायणको स्टिङ अप्रेशन गर्ने पूर्व राष्ट्रिय खेलाडीको बयान ' मिठाइको पकेटमा ७८ लाख मगाए, भिडियो देखेपछि आत्तिँदै म बर्बाद हुन्छु भने'

एक कलेजको सम्बन्धनको विवाद मिलाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकले ७८ लाख घुस लिने प्रयास गरेको विशेष अदालतले ठहर गरेको छ। पाठक मात्रै हैन कलेजको विवाद मिलाउन घुस दिन राजी भएका कलेजका तत्कालीन सञ्चालक लम्बोदर न्यौपाने पनि यो प्रकरणमा दोषी ठहर भएर तीन तीन वर्ष कैद सजाय नै तोकिएको छ।

यो प्रकरण कुनै सरकारी निकायले सार्वजनिक गरेको हैन। पाठकको स्टिङ गरेका थिए मार्सल आर्ट्सका एक राष्ट्रिय खेलाडीले। सार्वजनिक भएको अडियोले नै अख्तियारको दुरुपयोग गर्नेहरुविरुद्ध अनुसन्धान गर्ने आयोगकै आयुक्त जस्तो महत्त्वपूर्ण पदमा बसेकाले अख्तियारी दुरुपयोग गरेको खुलेको थियो।

यो विषयमा अख्तियार अनुसन्धानमै रहेको बेलामा पाठकको स्टिङ अप्रेशन गर्ने ती पूर्व खेलाडीसँग अनामनगरमा भेटेर कसरी भयो स्टिङ अप्रेशन भन्नेबारे विस्तृत कुराकानी भएको थियो। त्यही कुराकानी यहाँ जस्ताको त्यस्तै प्रस्तुत गरेको छु।

OOO

मेरा एक साथी हुनुहुन्थ्यो। शुभनारायण पाठक ती साथीलाई भेट्न आएका थिए। उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकका भाइ हुन्।  उनले त्यो भेटमा पूर्वाञ्चल विश्वविद्यालयको डिन बन्ने इच्छा राखे। अनि यदि डिन बन्न सके एउटा इन्जिनियरिङ कलेजको सम्बन्धन दिने प्रस्ताव राखेका रहेछन्।

शुभनारायण डिन त बने तर वाचा अनुसार सम्बन्धन दिएनन्। वाचा गरेकाले ती साथीले कलेजका लागि लगानी गरिसकेका थिए। साथीसँग शुभनारायणले सम्बन्धनका लागि १५ लाख मागेछन्। साथीले पैसा दिए । 

उता भक्तपुरको चाँगुनारायणमा रहेको नेपाल इन्जिनियरिङ कलेजबारे विवाद भइरहेको थियो। सम्पत्तिको विवाद आयोगमा पुगेको थियो। विवादमा आए सञ्चालक थिए लम्बोदर न्यौपाने।

आयोगमा रहेका आयुक्तहरूलाई क्षेत्रगत भाग लगाइएको हुने रहेछ। शिक्षा क्षेत्र आयुक्त राजनारायण पाठकको भागमा रहेछ। कलेजको विवाद ती साथीसम्म आइपुग्यो। लम्बोदरलाई मेरो साथी र शुभनारायण बिचको सम्बन्ध थाहा रहेछ। 

न्यौपानेले साथीलाई मुद्दा तामेलीमा लैजान सहयोग मागे। मेरो साथी राजी भए। राजनारायणले कुरा गर्न घरमा बोलाए। मेरो साथीलाई सम्बन्धन दिलाउन र नेपाल इन्जिनियरिङ कलेजको फाइल तामेलीमा राख्न एक करोड ६५ लाख मागे। डिल पनि भयो।

पहिला नै एकै पटक पैसा दिनुपर्ने सहमति भएको थिएन। पटक-पटक गरेर दिए हुने। राजनारायणले पहिलो पटक ४० लाख मागे। दोस्रो पटक ३८ लाख मागे।

दुवै पटक पैसा लैजाँदा राजनारायणले नै मिठाईको बट्टामा राखेर ल्याउनु भनेकाले त्यसै भएको थियो। रामेश्वर स्विटको मिठाईको प्याकेटमा पैसा राखेर उनको घरमा पुर्याइएको थियो।

पैसा लिए पनि काम भने भएन। उनलाई ८७ लाख दिन बाँकी थियो। उनले काम गरिदिने वा लिएको पैसा फिर्ता गर्नेभन्दा पनि बाँकी ५ दिनभित्र दिन दबाब दिँदै नत्र काम नहुने भन्दै उल्टै थर्काउन थाले। पाँच दिनमा बाँकी पैसा जम्मा हुन सकेन। उनले काम गरिदिएनन्। लिएको पैसा पनि फिर्ता गरेनन्।

साथीले राजनारायणसँग भएको कुराकानी मोबाइलमा रेकर्ड गरेका रहेछन्। जति गरे पनि पैसा फिर्ता पनि नआउने अनि काम पनि नहुने भएपछि ती साथी मेरो सम्पर्कमा आए। फोन रेकर्ड सुनाए । 

रेकर्डमा राजनारायणले पैसाको बार्गेनिङ गरेको प्रस्टै थियो। उनले कुराकानीमा ७८ लाख लिएको अनि बाँकी पैसा दिन दबाब दिएको प्रस्टै सुनियो। अख्तियारकै आयुक्तको यो बदमासी सुनेपछि सहनै सकिन। कारबाही गराउने सल्लाहहुँदा साथी सहमत भए।

पहिला एक पटक राजनारायणसँग भेटेर कुरा गर्ने सल्लाह भयो। पैसा भनेपछि लोभिने उसको बानी थाहा भइहाल्यो। म शिक्षा क्षेत्रमा काम गरिरहेको व्यक्ति भएको अनि विवाद आएर पैसा फस्न लाग्यो भन्दै सहयोग माग्न फोन गरे।

उनी आफैँले फोन उठाए। अनि भेट्न माने। भोलिपल्ट अख्तियारको कार्यालयमै बोलाए।
म खेलकुद क्षेत्रको व्यक्ति। सामान्य हुलियामा जाँदा नपत्याउने जोखिम थियो। गेटअप चेन्ज गरेर थ्रिपिस कालो सुट र कालै ब्रान्डेड चस्मा किनेँ। भिआइपीवाला ब्रिफकेस बोके।

२०७४ माघ १४ गते दिउस एक बजे अख्तियारको गेटमा पुगेँ। नाम र पेसा उनलाई जे भनेको त्यही टिपाएँ। उनको च्याम्बर बाहिर पुगेँ। केही समयमै भित्रबाट बोलाए।

उनले नजिकैको सोफामा बस्न भने। उनी म बसेको सोफा नजिकै बसे।
उनले ‘ल भन्नुस् म के सहयोग गर्न सक्छु?’ भने। मैले ‘तपाईँले मलाई हैन, मैले तपाईँलाई सहयोग गर्न आएको हुँ’ भनेँ।

उनी अक्क बक्क भए। 

‘हैन के भन्नुहुन्छ? भनेपछि मैले भक्तपुरको नेपाल इन्जिनियरिङ कलेजको विवादबारे कुरा निकाले। उनले टाउको हल्लाउँदै विवाद थाहा  भएको बताए।

मेरो साथीको नम्बर देखाएर ‘यो नम्बर कसको हो चिन्नुहुन्छ?’ भनेको चिन्दिन भन्दै टाउको हल्लाए।  
तपाईँ ढाँट्दै हुनुहुन्छ भन्दै इन्जिनियरिङ कलेजको मुद्दा मिलाइदिन्छु भनेर घुस खाएको हो कि हैन भनेपछि उनको अनुहारको रङ बद्लियो। 

उनी डराएको देखेपछि मैले पनि पेल्दै ‘तपाईँले पैसा लिएको स्वीकार गरेर फिर्ता गर्ने कि प्रक्रियामा जाऊँ’ भने पनि उनले ती व्यक्तिलाई चिन्दिन भन्न थाले।

तर उनको हात, खुट्टा कामिरहेको थियो। लामो समय बस्न उचित लागेन अनि तीन दिनको समय दिन्छु भनेर हिँडे।

तीन दिनको समय दिएको ३५ दिनसम्म भेटघाटै भएन। तर दुख दिन थाले। प्रहरी लगाएर बिना कारण थुनाए, कार्यालयमा गुन्डा पठाएर तर्साए। नेतामार्फत फकाउन एजेन्ट पठाए। सरकारी कर्मचारी आए।

प्रहरीले विनाकारण पक्राउ गरेर दुख दिन थाले। मलाई अनि साथीलाई खुब दुख दिए। पक्राउ गरेर महानगरीय प्रहरी अपराध महाशाखा लगेर थुन्ने। मोबाइलमा के छ भनेर खोज्न थाले।

साह्रै दुख दिन थालेपछि अडियो सार्वजनिक गर्ने हो कि भन्ने लाग्यो। अडियोले मात्र हुन्न कि भनेर भिडियो खिच्ने योजना बनायौँ।

३५ दिनसम्म पनि उनको फोन नआएपछि उनलाई आफैँले फोन गरेँ। उनले ‘जनकपुरमा छु’भनेपछि प्रमाण सरकारलाई बुझाऊँ ?’ भने।

उनले ‘भोलि तपाईँ मेरो घर आउनुस्। तपाईँसँग कुरा गर्छु भने।

गोप्य क्यामरा फिट गरेर शान्तिनगरमा रहेको उनको घरमा गएँ। पहिलो भेटमा हैन भनेरै टारे। दोस्रो दिन पनि खेर गयो।

अख्तियारका प्रमुख आयुक्त परिवर्तन हुँदै थियो। ‘अब तपाईँ नआत्तिनु, म साथ दिन्छु। अब प्रमुख आयुक्त हुनुपर्छ’ भनेँ पछि अलि नरम हुन थाले। उनलाई मेरो राजनीतिक सम्बन्ध थाहा थियो। उनले पार्टीतिर कुरा मिलाउन आग्रह गरे।

सहयोग गर्ने वचन दिएँ। प्रमुख आयुक्त नभइन्जेल फोन रेकर्डको टेन्सन नलिन भनेर हिँडे। उनले पत्याए। कुरा गर्दागर्दै 'मैले जीवनमा पहिलो पटक नचाहिने काम गरेँ। अब म त्यस्तो गर्दिनँ। मैले गल्ती गरेको हो। एक पटकलाई माफ दिनुस्’भने! अलिकति काम भयो।

उनको घरमा पटक–पटक जान थालेँ। प्रायः बिहान या बेलुकातिर बोलाउँथे। घरमा जाँदा सधैँ क्यामरा राखेको हुन्थेँ। एक, डेढ घण्टा कुरा हुन्थ्यो। जे भन्दा उनी पत्याउँथे त्यही प्रस्ताव राख्थे।

उनी बिस्तारै खुल्दै आए। ६ पटकसम्म जाँदा उनी नेपाल इन्जिनियरिङ कलेज प्रसङ्गमा जाँदै गएनन्। कुरा मिल्यो भन्ने लागेपछि अलिअलि खुल्न थाले । 

प्रमुख आयुक्त भएपछि मिलेर काम गर्ने, ५० करोडसम्म कमाउने, पुरस्कृत गर्ने जस्ता के–के भन्न थाले उनले।

८ महिनासम्म उनलाई पछ्याउँदा नौ घण्टा जतिको भिडियो खिचिएछ। ती भिडियोमा उनले आफूले गरेका बदमासी स्वीकारेका थिए। भाइ शुभ नारायणको बदमासी पनि भनेका थिए। यी सबै  सङ्कलन गर्न ८ महिना लाग्यो। माघबाट हो मैले पछ्याउन थालेको, भदौसम्म भेटिरहे। 

एक दिन भिडियो देखाइदिए। गद्दारी गर्ने भनेर रिसाए। ‘मेरो साथीलाई गद्दारी गर्ने अनि तपाईँलाई चाहिँ किन गद्दारी नगर्ने?’ भनेँ।

‘अब जेल जान तयार हुनुस्’ भनेर निस्कन खोजे। उनले हात जोड्दै ‘यस्तो नगर्नुस्, यो सबै बाहिर आयो भने त म त बर्बाद हुन्छु’ भने। 

उनले ल्यापटपमा आफ्नो गोप्य भिडियो हेरेको, बर्बाद हुन्छु भनेको पनि खिचिरहेको थिए। उनले ‘म त बर्बाद हुन्छु, मलाई दया गर्नुहोस्, म बिरामी मान्छे’ भन्दै आत्तिए। पार्टीगत सम्पर्कका आधारमा तत्कालीन प्रधानमन्त्री केपी ओली शर्मासम्म पुग्यो। उहाँ कारबाहीका लागि तयार हुनु भयो। यता महाअभियोगको तयारी हुँदाहुँदै भोलिपल्ट राजनारायणले राष्ट्रपतिसमक्ष राजीनामा बुझाएछन्।

ooo

कुराको बिट मार्दै गर्दा स्टिङमा संलग्न उनले भनेका थिए' अख्तियारमा बसेर अख्तियारको दुरुपयोग गर्नेमाथि कारबाही त होला नि है!' मुद्दा विशेष अदालतमा पुगे पनि पाठक धरौटीमा बाहिरै थिए। बिहीबार फैसला आउँदा उनी दोषी ठहर भए। सजाय भयो।

(२०७५ फागुन १० मा स्टिङ अप्रेसनमा संलग्न पूर्व राष्ट्रिय खेलाडीसँग भएको कुराकानीमा आधारित)

२८ पुस, २०७९, २१:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।