'जिदान नै फ्रान्स हुन्, हामीले त्यस्ता महान् खेलाडीको अपमान गर्नु हुँदैन' : एम्बाप्पे

'जिदान नै फ्रान्स हुन्, हामीले त्यस्ता महान् खेलाडीको अपमान गर्नु हुँदैन' : एम्बाप्पे

एजेन्सी: यस संस्करणको विश्वकपको उपविजेता टोली फ्रान्समा अहिले विवाद चुलिएको छ। फ्रेन्च फुटबल फेडेरेशनका अध्यक्ष नोएल ले ग्राएतले फ्रान्सका दिग्गज खेलाडी जिनेदिन जिदानले 'फोन गरे पनि नउठाउने' भन्ने अभिव्यक्ति दिएपछि फ्रेन्च टोली दुई भागमा बाँडिएको छ।

जिदानले राष्ट्रिय टोली सम्हाल्न छलफल गर्न फोन गरे पनि आफूले नउठाउने उनले बताएका थिए। अध्यक्षको यस्तो अभिव्यक्ति लगत्तै फ्रेन्च स्ट्राइकर किलियन एम्बाप्पे भने जिदानको समर्थनमा उत्रिएका छन्।

फ्रेन्च फुटबल फेडेरेशनले शनिबार मुख्य प्रशिक्षक डिडियर डेसच्याम्पसँगको सम्झौता नवीकरण गरेको छ। उनले सन् २०१८ को विश्वकप जिताएका थिए भने यो पटक पनि फाइनलसम्म पुर्याएका थिए। अब भने प्रशिक्षक परिवर्तन हुने र डेसच्याम्पको स्थानमा जिदानले राष्ट्रिय टोली सम्हाल्ने आकलन थियो।

तर जब ले अध्यक्ष ग्राएतलाई 'जिदानले के अब फ्रान्सको साटो ब्राजिलियन टोली सम्हाल्ने हुन् त?' भन्ने प्रश्न गर्दा उनले निकै अपमानपूर्ण ढङ्गले भने, 'मलाई केही चासो छैन। उनी जहाँ मन लाग्छ जान सक्छन्।'

उनले थप भने, 'मलाई राम्ररी थाहा छ जिदान जहिल्यै रेडारमा थिए। उनका थुप्रै समर्थक छन्। केही त डेसच्याम्पको बहिर्गमन पनि कुरिरहेका थिए। तर कसले डेसच्याम्पको कमजोरी भेटाउन सक्छ? कसैले सक्दैन।'

उनले क्रुद्ध हुँदै जिदानले आफूलाई राष्ट्रिय टोलीको जिम्मा लिने भनेर फोन गरिहाले पनि आफूले नउठाउने बताए।

फेडेरेशनका अध्यक्षको यस्तो अभिव्यक्तिपछि एम्बाप्पेले ट्वीटरमार्फत जिदानको समर्थनमा उत्रिएका छन्। उनले लेखेका छन्, 'जिदान नै फ्रान्स हुन्, हामीले त्यस्ता महान् खेलाडीको अपमान गर्नु हुँदैन।'

रियल मड्रिडको मुख्य प्रशिक्षक हुँदा जिदानले लगातार तीन वटा च्याम्पियन्स लिग जिताएका थिए भने उनी आफैँ सन् १९९८ को विश्वकप उपाधि जित्दाको महत्त्वपूर्ण खेलाडी हुन्।

२५ पुस, २०७९, १०:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।