सप्तरीः सप्तरीमा नेपाल-भारत सीमा नजिक रहेकाे बलान बिहुल गाउँपालिका–४ बेल्हीमा ८ कक्षासम्म पढाइ हुने एउटा विद्यालय छ, जनता आधारभूत विद्यालय। २०११ सालमा स्थापना गरिएको यस विद्यालयमा ८ कक्षासम्म पढाइ भएपनि शिक्षक भने दुई जना मात्र छन्।
उकेरा शिक्षा
दुई जना शिक्षकले नै यी सबै कक्षाका विद्यार्थीलाई सम्हालेका छन्। शिक्षक अभावले बालविकास कक्षाका साथै कक्षा १ र २ लाई एउटै ठाउँमा राखेर पढाउने गरिएको छ।
यस्तै, प्रधानाध्यापक नेतीलाल यादवका अनुसर शिक्षक नभएका कारण नै कक्षा ३, ४ र ५ तथा कक्षा ६, ७ र ८ का विद्यार्थीलाई एउटै ठाउँमा राखेर कक्षा संचालन भैरहेकाे छ।
विद्यालयमा कक्षा ६ मा ४०, कक्षा ७ मा ५७ तथा कक्षा ८ मा ५४ विद्यार्थी रहेकाे यादवले बताए।
‘डेढ सय विद्यार्थी एउटै ठाउँमा राखेर पठाउनु परिरहेको छ,’ उनले भने, ‘यसरी कक्षा संचालन गर्दा शिक्षक र विद्यार्थीलाई असहज त हुने गरेको छ, तर हामीसँग अरू उपाय छैन।’
यस विद्यालयमा बालविकास कक्षामा ४० तथा कक्षा १ देखि ८ सम्म दुई सय ६९ विद्यार्थी पढिरहेका छन्। विद्यालयमा दुई शिक्षक बाहेक दुई बालविकास सहयोगी तथा एक कार्यालय सहयोगी कार्यरत छन्।
विद्यालयमा निमावि राहततर्फ एउटा तथा प्राथमिक तहमा दुई स्थायी दरबन्दी खाली छ। तर विद्यालयको समस्याप्रति गाउँपालिका शिक्षा शाखा अनविज्ञ छ।
विद्यालयमा चार बजेसम्म र सबै विषयको पढाइ कमै मात्रै हुने विद्यार्थीहरू बताउँछन्। उता, शिक्षकहरू भने तीन वटा कक्षाका विद्यार्थी एउटै ठाउँमा राख्नुपर्ने बाध्यता भएकाले विद्यार्थीलाई सम्हाल्नै मुस्किल रहेकाे धारणा राख्छन्।
२०७९ पुष २४ गते १४:४३ मा प्रकाशित
उकेरामा प्रकाशित कुनै सामग्रीबारे गुनासो भए या कुनै जानकारी भए हामीलाई ukeraanews@gmail.com मा इमेल गर्न अनुरोध गर्दछौ ।