चल्न थाल्यो दक्षिण भारतीय सुपरस्टार विजयको डिभोर्सको हल्ला

चल्न थाल्यो दक्षिण भारतीय सुपरस्टार विजयको डिभोर्सको हल्ला

एजेन्सी: तमिल स्टार थलापति विजयको श्रीमती सङ्गीतासँग सम्बन्ध विच्छेद भएको हल्ला यतिबेला खुब चल्न थालेको छ। थेरी, मेर्सल, आरएडब्ल्यू जस्ता चलचित्रबाट उदाएका विजय र सङ्गीताबीच वैवाहिक सम्बन्ध पछिल्लो दिन राम्रो नभएको आकलन गर्दै विभिन्न भारतीय सञ्चारमाध्यमले लेखेका छन्।

सङ्गीता विजयको आउँदो फिल्म 'वरिसु' को अडियो लञ्चमा देखा नपरेपछि यो अनुमान सुरु भएको थियो। त्यसयता यी दुईबीचको विभिन्न घटना अगाडि आइरहेको छ जसले यिनको सम्बन्ध राम्रो नभइरहेको सङ्केत गर्छ।

यस्तै आगोमा घ्यू थप्ने काम गर्यो एउटा घटनाले। चर्चित दक्षिण भारतीय फिल्म निर्देशक एटलीकी श्रीमती प्रियाको बेबी सावरमा विजय एक्लै गए। सङ्गीता पुगिनन्।

करिब २३ वर्षअघि यी दुईले विवाह गरेका थिए। यिनीहरूको एक छोरा र एक छोरी छन्। छोरा जेसन बुवालाई लिएर फिल्म निर्देशन गर्न चाहन्छन्। छोरी दिव्या भने विजयको छोरी बनेर फिल्म थेरीमा देखापरिसकेकी छिन्।

तर हालैको दिनमा भने सङ्गीता र विजयको सम्बन्ध विच्छेद भइसकेको र सङ्गीता आफ्नो बुवाआमासँग लण्डनमा बस्न थालेको भन्दै गाइँगुइँ चल्न थालेको छ।

यस्तै कतिपयले भने उक्त खबर झुट भएको र सङ्गीता आफ्ना छोराछोरीसँग विदेशमा बसेको बताएका छन्।

यी दुवैले आफ्नो सम्बन्धबारे औपचारिकरूपमा केही बताएका छैनन्। यद्यपि, सङ्गीता र विजय पछिल्लो समय सँगै देखिन भने छोडेका नै हुन्।

२४ पुस, २०७९, ०८:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।