सन्दीप सम्बन्धित दुवै निवेदनको सुनुवाइ बल्ल बन्द इजलासमा

सन्दीप सम्बन्धित दुवै निवेदनको सुनुवाइ बल्ल बन्द इजलासमा

काठमाडौँ : सरकारी पक्षको माग अनुसार उच्च अदालतको धरौटी फैसला बदर गर्ने कि सन्दीप लामिछानेको धरौटी घटाएर विदेश जान अनुमति दिने भन्ने दुवै निवेदनको सुनुवाइ बन्द इजलासमा भएको छ।

गोपिनीयता र मुद्दाको संवेदनशीलताको आधारमा यस्ता मुद्दा बन्द इजलासमा हुनसक्ने भए पनि यस अगाडिका सबै सुनुवाइ खुल्ला इजलासमा हुँदै आएको थियो। आइतबार सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुडालको संयुक्त इजलासले मुद्दाको सुनुवाइ बन्द इजलासमा गर्न आदेश दिएको हो।

नाबालिग बलात्कारको मुद्दामा काठमाडौँ जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा पठाएका लामिछानेलाई उच्च अदालत पाटनले धरौटीमा छाड्ने आदेश दिएको थियो। सर्तसहित २० लाख धरौटीमा मुक्त भएपछि क्रिकेट एसोसिएसन अफ नेपालले उनको निलम्बन फुकुवा गर्दै नेपाली राष्ट्रिय टोलीबाट खेलाएको थियो।

नेपाल बाहिर जान नपाउने अदालतको सर्तका कारण युएइमा हुने प्रतियोगितामा लामिछाने सहभागी हुन नपाउने भएपछि विदेश जान पाउने मागसहित धरौटी घटाउन भन्दै लामिछानेकोतर्फबाट सर्वोच्चमा निवेदन परेको थियो।

उता सरकारी वकिल पनि उच्च अदालतको आदेशविरुद्ध धरौटी खारेज गरी पुर्पक्षका लागी कारागारमा राख्न माग गर्दै पहिल्यै सर्वोच्च गएको थियो।

यस अगाडिको खुल्ला सुनुवाइमा क्यानका तर्फबाट सन्दीपको जिम्मेवारी लिने विनोद दासको भनाइको सामाजिक सञ्जालमा आलोचना भएको थियो। आइतबार सुनुवाइ सुरु गर्नुअघि सन्दीपका वकिलले बन्द इजलासमा सुनुवाइ गर्न माग गरेपछि आदेश आएसँगै पक्ष र विपक्षका कानुन व्यवसायी मात्र रहने गरी बन्द इजलासमा सुनुवाइ भइरहेको छ।

१४ फागुन, २०७९, १३:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।