बालेनलाई राजीनामा दिन कसले दियो दबाब ! आफ्नै मनले कि अमुर्त शक्ति केन्द्रले ?

बालेनलाई राजीनामा दिन कसले दियो दबाब ! आफ्नै मनले कि अमुर्त शक्ति केन्द्रले ?

काठमाडौँ : सामाजिक सञ्जालमा देखाउने व्यवहारका कारण बारम्बार विवादमा तानिइरहने काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले शनिवार एकाएक आफूलाई राजीनामा गराउन दबाब आएको छोटो सन्देश राखे।

पछिल्लो समय आफ्नै गतिविधिका कारण उनी आलोचनाको केन्द्रमा आइरहन्छन्। तर उनलाई राजीनामा नै गराउने गरी कसैले सार्वजनिकरुपमा दबाबको गतिविधि गरेका छैनन्।

उनी कुनै दल विशेषका उम्मेदवार पनि हैनन्। स्वतन्त्र उम्मेदवार हुन्। अल्पमत या बहुमतको आधारमा उनलाई कसैले हटाउन पनि सक्दैन। तर उनले एकाएक राजीनामा दिन दबाब आएको हल्का सन्देश सार्वजनिक गरे।

लेखेका छन् 'मेयर पदबाट मलाई आज राजीनामा दिन लगाउन खोज्दैछन्। यो देश कहिल्यै पनि बन्दैन।’

उनको छोटो सन्देश पाँच हजार सात सय सेयर भइसकेको छ भने १० हजार बढी प्रतिक्रिया आएका छन्। अधिकांश प्रतिक्रिया उनको पक्षमा छन् तर केहीले भने निर्वाचित मेयरलाई कसले अनि किन राजीनामा दिन दबाब दियो भन्ने प्रश्न उठाएका छन् भने केहीले अटेन्सनका लागि लेखेको भन्दै आलोचना समेत गरेका छन्।

महानगरको मेयरमा निर्वाचित भएदेखि नै उनी सञ्चारकर्मीसँग दोहोरो साक्षात्कारबाट टाढा बस्दै आएका छन्। सार्वजनिक कार्यक्रममा सहभागी भएको बेलामा उनी मुड अनुसार प्रश्नोत्तरमा सहभागी भने हुन्छन्।

मेयर निर्वाचित भएसँगै उनले काठमाडौँको फोहोरको समस्या दीर्घकालीन रूपमा समाधान नगरेसम्म खादा-माला नलगाउने अनि अन्तर्वार्ता नदिने दाबी गरेका थिए।

आफूमाथि मिडिया अनि सामाजिक सञ्जालमा उठ्ने सवालको जवाफ उनी सामाजिक सञ्जालबाटै दिने गरेका छन्। केही समय अगाडि उनी र फिल्म निर्देशक विशाल भण्डारीबिच सामाजिक सञ्जालमै दोहोरो विवाद चलेको थियो।

बालेनको विपक्षमा धारणा राख्नेहरूलाई उनका समर्थकहरूले साइबर बुलिङ गर्ने गरेका छन्। 

१३ फागुन, २०७९, १६:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।