राष्ट्रिय क्रिकेट टोली सन्दीपविना युएई जाने, अनुमति पाए बीचमै पठाउने क्यानको योजना

राष्ट्रिय क्रिकेट टोली सन्दीपविना युएई जाने, अनुमति पाए बीचमै पठाउने क्यानको योजना
तस्बिर- क्यान

काठमाडौं : सन्दीप लामिछानेले दायर गरेको मुद्दामा अदालतको फैसला नआएपछि युएईमा हुने त्रिदेशीय सिरिजका लागि उनीविनाकै राष्ट्रिय क्रिकेट टिम युएई प्रस्थान गर्ने भएको छ।

आइतबार आईसीसी विश्वकप क्रिकेट लिग–२ को युएई, नेपाल र पीएनजी सम्मिलित त्रिदेशीय सिरिजका लागि नेपाली टोली युएई प्रस्थान गर्दैछ।

नेपालमा भएको नेपाल, नामिबिया र स्कटल्याण्डबीचको त्रिदेशीय सिरिजका चार खेलमा सन्दीपले १३ विकेट लिएर उत्कृष्ट पुनरागमन गरेपछि उनलाई युएई लैजान क्यान अग्रसर देखिएको हो।

शुक्रबार भएको सुनुवाइमा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले उनले दायर गरेको निवेदन र उनीविरुद्ध परेको निवेदनमा आइतबार एकै ठाउँमा राखेर सुनुवाइ गर्न आदेश दिए। योसँगै उनी राष्ट्रिय टिमको साथमा विदेश जान नपाएका हुन्।

सर्वोच्चले दिएन सन्दीपलाई विदेश जाने अनुमति, आइतबार पुनः सुनवाइ हुने

नाबालिग बलात्कारको मुद्दा खेपिरहेका उनलाई उच्च अदालतले विदेश जानबाट रोक लगाउँदै अन्य विभिन्न शर्त राखेर २० लाख धरौटीमा रिहा गरेको थियो। अदालतले उनको पासपोर्ट रोक्का गर्नसमेत अध्यागमन विभागलाई आदेश दिएको थियो।

सो आदेशको विरुद्ध सन्दीप सर्वोच्च गएका हुन्। सर्वोच्चमा उनले धरौटीको रकम घटाउनुपर्ने र क्रिकेट खेल्नका लागि विदेश जान पाउनुपर्ने माग गरेका छन्। आइतबार उनको पक्षमा फैसला आई पासपोर्ट फुकुवा भएमा उनलाई क्रिकेट खेल्न युएई लैजाने योजनामा क्यान लागेको छ।

क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकका अनुसार अदालतको कानूनी अड्चन फुकुवा गरेमा उनलाई जुनसुकै समय टिममा समावेश गर्न सकिन्छ। उकेरासँगको कुराकानीमा उनले पासपोर्ट फुकुवा गरिदिए आफूहरूले उनलाई खेल्नका लागि युएई पठाउने योजनामा रहेको बताए।

‘यता(नेपाल)को कानूनी कारणले मात्रै रोकिएको हो,’ पाठकले उकेरासँग भने, ‘यताबाट फुकेको खण्डमा उता(युएई)मा जुनसुकै बेला पनि खेलमा समावेश गर्न सकिन्छ।’

शुक्रबार अदालतमा सन्दीपको तर्फबाट भएको बहसमा क्रिकेट एसोसिएसन अफ नेपालको तर्फबाट विनोद दासले लामिछानेको जिम्मा आफूले लिने भन्दै उनलाई विदेश जाने अनुमति दिन माग गरेका थिए।

लामिछानेविरुद्धको नाबालिग बलात्कारको अभियोगमा जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिए पनि उच्च अदालतले सर्तसहित २० लाख धरौटीमा रिहा गर्ने फैसला गरेको थियो।

उच्च अदालतले  पुस २८ गते २० लाख धरौटीमा छाड्ने आदेशदिँदा उपत्यका छाड्दा प्रहरीलाई जानकारी दिनुपर्ने तर विदेश जान नपाउनेसहितको सर्त राखेको थियो।

१२ फागुन, २०७९, १८:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।