गण्डकीको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त 

गण्डकीको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त 

पोखराः गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन्। नेता अधिकारीले प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष ३३ जनाको समर्थन रहेको हस्ताक्षर सहित गण्डकीको मुख्यमन्त्रीका लागि दाबी पेस गरे सँगै उनलाई प्रदेश प्रमुख गुरुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आज ४ बजेसम्म सरकार गठनको लागि आह्वान गरेका थिए। संविधानको धारा १६८(२) बमोजिम मुख्यमन्त्री बन्न एमालेका अधिकारीले आफ्नो पार्टी सहित माओवादी, राप्रपा र एकिकृत समाजवादी प्रवेश गरेका दिपक मनाङे सहितको समर्थनमा दाबी पेस गरेका थिए। 

अधिकारी मुख्यमन्त्रीको आकांक्षासहित संघीय सांसदको उम्मेदवार नबनी गण्डकी प्रदेशसभा सदस्यमा उमेदवार बनेर कास्की १ ‘क’ बाट निर्वाचित भएका थिए। यसअघि स्वास्थ्य र गृहमन्त्री समेत भएका अधिकारी प्रदेशकै मुख्यमन्त्री बन्नका लागि पार्टी अध्यक्ष केपी ओलीको सल्लाहमा प्रदेशसभामा झरेर निर्वाचन लडेका थिए।

६० सदस्यीय गण्डकी प्रदेश सभामा सरकार बनाउन ३१ सदस्यकाे समर्थन आवश्यक पर्छ। एमालेसँग २२, माओवादीको ८, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) २ र मनाङेको १ सिट सहित ३३ सिट पुग्छ। अधिकारीले आजै ४ः ३० बजे शपथ ग्रहण गर्ने प्रदेश प्रमुखकाे कार्यालयले जनाएको छ ।

गण्डकी प्रदेशसभाको ६० सिटमध्ये २७ सिट जितेर नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बनेपनि सत्ता बहिर रहने निश्चित भएको छ। 

२५ पुस, २०७९, १५:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।