प्रधानमन्त्री आउने सुनिश्चितता नभएपछि संसद्को दोस्रो बैठक पनि स्थगित
काठमाडौं : सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन'को उपस्थितिको मागसहित विपक्षी दलहरूले अवरोध जारी राखेपछि प्रतिनिधिसभाको दोस्रो बैठक पनि १५ मिनेटका लागि स्थगित भएको छ।
बुधबारको दोस्रो बैठक सुरु भए लगत्तै विपक्षी सांसदहरूले प्रधानमन्त्री शाहको उपस्थितिको सुनिश्चितता खोज्दै विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले बैठक स्थगित गरेका हुन्।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका संसदीय दलका प्रमुख भीष्मराज आङ्दम्बेले प्रधानमन्त्रीलाई संसदमा उपस्थित गराउन सभामुखबाट रुलिङ हुनुपर्ने माग राखेका थिए। यस्तै, एमाले संसदीय दल उपनेता पद्मा अर्यालले पनि सदनमा प्रधानमन्त्रीको उपस्थिति अनिवार्य हुनुपर्ने धारणा राखिन्।
एमालेकै अर्का सांसद गुरु बरालले भने सदनमा प्रयोग भएका असंसदीय शब्दको छानबिनका लागि समिति गठनको माग गरे। सदनमा जारी अवरोधका बीच राष्ट्रिय स्वतन्त्र पार्टीका मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीले नियमावलीअनुसार सदन सञ्चालन हुन दिनुपर्ने र कुनै पनि बहानामा बैठक रोकिन नहुने तर्क गरे।
विपक्षीको मागमा सभामुख अर्यालले कुनै पनि सांसद वा प्रधानमन्त्रीको सदनमा उपस्थितिको कार्यतालिका तोक्ने अधिकार आफूमा नरहेको बताए। उनले प्रधानमन्त्रीको तर्फबाट मन्त्रीलाई जिम्मेवारी तोकेर पठाइसकिएको जानकारी गराउँदै सदन सञ्चालनमा सहयोग गर्न आग्रह गरेका थिए।
तर, विपक्षी सांसदहरूले आसन ग्रहण नगरी विरोध जारी राखेपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ। यसअघि बैठक अवरुद्ध भएपछि सभामुखले प्रमुख सचेतकहरूसँग छलफल गरे पनि सहमति जुट्न सकेको थिएन।
वैशाख ३०, २०८३ बुधबार १६:११:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।