सुकुम्बासी बस्तीमा डोजर चलाएको विरोधमा बिहीबार चक्काजामको घोषणा
काठमाडौं : सुकुम्बासी तथा अव्यवस्थित बस्ती खालि गराउने सरकारको अभियानको विरोधमा अखिल नेपाल सुकुम्बासी संघले बिहीबार चक्काजाम गर्ने घोषणा गरेको छ।
बुधबार काठमाडौँको संवाद डबलीमा पत्रकार सम्मेलन गर्दै संघले पूर्वपश्चिम राजमार्गमा बिहान ५ बजेदेखि १० बजेसम्म ५ घण्टा यातायात अवरुद्ध गर्ने जानकारी दिएको हो।
नेपाली कम्युनिस्ट पार्टी निकट अखिल नेपाल सुकुम्बासी संघका इन्चार्ज नहेन्द्र खड्काले सरकारले विकल्पबिना बस्ती भत्काउँदा अरबौंको क्षति भएको भन्दै यसको प्रतिवाद गर्नु जरुरी रहेको बताए।
उनले भने, "चक्का जामले देशभरका सुकुम्वासीको एकताको सन्देश दिन जरुरी छ, जुन अधिकारको कोषेढुङ्गा सावित हुने विश्वास छ। सरकारी अनधिकृत डोजर आतंकले आत्महत्या गर्न बाध्यदेखि अरबौं बराबर सम्पत्तिको क्षति गराएको छ, जसको प्रतिवाद गर्न जरुरी छ।"
संघले सुकुम्बासीहरुलाई होल्डिङ सेन्टरमा नभएर उनिहरुलाई जमिनको व्यवस्थापन गर्न माग गरेका छन्। सुकुम्बासी नेताहरूले सरकारले विकल्पबिना बस्ती भत्काएर नागरिकको आवासको अधिकार खोसेको आरोप लगाएका छन्।
संयुक्त नागरिक पार्टीका अध्यक्ष दलमर्दन कामीले वर्तमान सरकारले नागरिकको आवास अधिकारको संवैधानीक व्यवस्था र सर्वोच्च अदालतको आदेशको अवज्ञा गरेको भन्दै आक्रोश व्यक्त गरे। उनले प्रधानमन्त्री वालेन्द्र शाह जनताको अभिभावकभन्दा पनि तानशाहा भएको आरोप लगाए।
संघका महासचिव प्रकाश खरेलले आफूहरुले पूर्वपश्चिम राजमार्ग चक्का जाम गर्नु र भोलि नै माइतिघर मण्डलामा संयुक्त प्रदर्शन गर्ने कार्यक्रम रहेको बताए।
वैशाख ३०, २०८३ बुधबार १५:५६:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।