पेटरोग विशेषज्ञ डा.नन्दूको उपचार अनुभव : न्यूरोका बिरामीले ‘तपाईंले नै औषधि दिनु न’ भन्दै मरिहत्ते गरे

पेटरोग विशेषज्ञ डा.नन्दूको उपचार अनुभव : न्यूरोका बिरामीले ‘तपाईंले नै औषधि दिनु न’ भन्दै मरिहत्ते गरे

पेट रोग विशेषज्ञ डा. नन्दू शिलवाल(पौडेल)ले धेरै बिरामीलाई उपचार गरेर बचाएकी छन्। चिकित्सकीय पेशामा उनले कयौं आरोह अवरोह नजिकबाट देखेकी छन्। जसमध्ये दुई वर्षअघिको प्रसंग सम्झँदा उनको मन कटक्क हुन्छ।

करिब ४० वर्षीय ती पुरषको पेट दुख्नु समस्या थियो। पुरुषको एउटा गोडा कमजोर भएकाले बैशाखीको सहारामा हिँड्दा रहेछन्।

धेरै ठाउँमा उपचार गर्दासमेत पेट दुख्ने समस्या ठिक नभएर खप्नै नसक्ने भएपछि ती पुरुषले आत्महत्या गर्ने सोचसमेत बनाएका रहेछन्। असाध्यै पेट दुखेपछि ती पुरुषमा विष सेवन गरेर आत्महत्या गर्ने सोच आउँदो रहेछ। तर, आँट भने आइसकेको रैनछ।

आत्महत्या गर्ने सोच बनाएका तिनै ४० वर्षीय पुरुष रोग ठिक हुने झिनो आशा लिएर डा. नन्दूकहाँ पुगे। स्वास्थ्य परीक्षण गर्दा ग्याष्ट्रिकको समस्याका कारण पेट दुखेको उनले निष्कर्ष निकालिन्।

उपचार थालेको केही हप्तामा नै पुरुषको पेट दुख्ने समस्या ठिक हुँदै गयो। उपचारपछि पुरुषको मुहारमा मुस्कान देखिन थाल्यो भने आत्महत्याको सोच पनि हरायो।

डेढ महिनाअघि ती पुरुष फलोअपका डा. नन्दूकहाँ पुगेका थिए। फलोअपमा जाँदा मुस्कुराउँदै डा. नन्दूलाई ती पुरुषले भनेछन्, ‘डा.साप परिवारलाई कति दुःख दिनु भनेर विष सेवन गरेर मर्ने सोच बनाएको थिएँ। तपाईंले बचाइदिनुभयो।’

ग्याष्ट्रिकको समस्या ठिक नभएर आत्महत्या नै गर्ने सोचमा पुगेका ती पुरुषको ग्याष्ट्रिकको समस्या ठिक भएपछि डा. नन्दू निक्कै सन्तुष्ट भइन्। करिब ३/३ महिनामा ती पुरुष फलोअपमा पुग्ने गरेको र अहिले स्वास्थ्य अवस्था ठिक रहेको उनले सुनाइन्।

‘भैगो डाक्टरसाप श्रीमान्को उपचार नगरौं’
गत वैशाखमा करिब ४४ वर्षका पुरुषलाई श्रीमतीले उपचारका लागि एक निजी अस्पताल पुर्याएको प्रसंग पनि डा. नन्दूको मानसपटलमा ताजा नै छ।

ती पुरुष लामो समयदेखि अत्याधिक रक्सी सेवन गर्दै आएका रहेछन्। डा. नन्दूले स्वास्थ्य परीक्षण गर्दा रक्सीकै कारण कलेजो लगायतका अंगमा गम्भीर जटिलता निम्तिएको पत्ता लाग्यो।

उनले ती पुरुषको उपचार थाल्दै रक्सी सेवन नगर्न सल्लाह दिइन्। अस्पतालबाट घर फर्किएका ती पुरुषले ‘त्यो डाक्टरलाई केही आउँदैन रहेछ। किन नखाने रक्सी?’ भन्दै फेरि पिउन थालेछन्।

भदौमा तिनै पुरुष लडेछन्। श्रीमतीले अस्पताल पुर्याइन्। रक्सी सेवनका कारण शिथिल बनेको शरीर लड्दा छातीमा रगतसमेत जमेछ। अस्पताल पुर्याउँदासम्म उनको स्वास्थ्य जटिल बनिसकेको थियो।

रक्सी सेवनले ती पुरुषको कलेजो बिग्रनुका साथै अन्ननली फूलेको थियो। साथै हेपटाइटिस–सी लगायतका स्वास्थ्य समस्या भएर जटिलता निम्तिसकेको थियो। अर्कातर्फ धेरै वर्ष उपचार गर्दा–गर्दा घरको आर्थिक अवस्था दयनीय बनिसकेको रहेछ।

पुरुषकी श्रीमतीले डा. नन्दूलाई निक्कै निरास हुँदै भनिछन्, ‘भयो डाक्टरसाप उपचार नगरौं। मेरो धेरै पैसा सकिसक्यो। अलिकति भए पनि छोरालाई सम्पत्ति बच्छ।’

श्रीमान्को उपचारका खातिर पैसा सकिएर निरास बनेकी ती पुरुषकी श्रीमतीको त्यो वाक्य सुन्दा डा. नन्दूको मन कटक्क भयो। तर, अन्तिम अवस्थासम्म बिरामीको उपचार गरेर बचाउने कोशिस गर्नु उनको धर्म हो। त्यो धर्म उनले निभाइन्।

डा. नन्दूले ती पुरुषको केही उपचार गरिन्। श्रीमतीले घर नै लाने भने पनि डा. नन्दूले बचाउन सकिन्छ की भनेर शिक्षण अस्पताल रिफर गरिन्। आफ्नो विधाभन्दा फरक समस्या देखिएकाले उनले त्यहाँ रिफर गरेकी थिइन्।

तर, पछि उनले ती ४४ वर्षीय पुरुषको मृत्यु भएको खबर सुनिन्। रक्सी सेवनका कारण उपचारमा परिवारको सम्पति पनि सकिएको र मानिसको पनि मृत्यु भएको त्यो खबर सुन्दा उनी निराश भइन्।

त्यसो त स्वास्थ्य जटिलता निम्तिएपछि अस्पताल पुगेका धेरै विरामीको उपचार गरी डा. नन्दूको समूहले बिरामीलाई बचाएको छ। रक्सी सेवन गरेर कलेजो बिग्रिनुका साथै स्वास्थ्य अवस्था नै जटिल बनेर अस्पताल पुग्ने कयौं बिरामीको उनले उपचार गरेकी छन्।

रक्सी सेवनका कारण कलेजो लगायत शरीरका अंगमा समस्या भएका कयौं बिरामीलाई बचाएर पठाए पनि केही समयपछि पुनः स्वास्थ्य अवस्था जटिल बनेर अस्पताल पुग्दा उनलाई निक्कै दुःख लाग्छ।

उपचार गरेर घर पठाएका कतिपय बिरामीले पुनः रक्सी सेवन गर्दा स्वास्थ्य जटिलता निम्तने उनी बताउँछिन्। जटिल भएर बचाउन समेत नसक्ने अवस्थामा बिरामी आइपुग्दा उनको मन भारी हुन्छ।

‘कत्ति जना कलेजोका बिरामीलाई उपचार गरेर ठिक भएपछि घर पठाइन्छ,’ उनले भनिन्, ‘अब त ठिक भइहालेँ नि भनेर फेरि रक्सी पिएर लास्ट स्टेजमा आउनुहुन्छ।’

‘तपाईंले नै औषधि दिनु न डाक्टरसाप’
डेढ वर्षअघि उपचारका लागि करिब ४७ वर्षका पुरुष अस्पताल पुगेको प्रसंग पनि डा. नन्दू कहिल्यै भुल्दिनन्।

ग्याष्ट्रिकको उपचारका लागि अस्पताल पुगेका ती पुरुषको करीब तीन महिनाको औषधि उपचारपछि ठिक भए। केहि दिन अघि तिनै ४७ वर्षीय पुरुष स्वास्थ्य परीक्षण तथा परामर्शका लागि पुनः डा. नन्दूलाई भेट्न पुगे।

ती पुरुषलाई पेट दुख्ने समस्या ठिक भए पनि अहिले भने टाउको दुख्ने, झुम्म हुने तथा निन्द्रा लाग्ने जस्ता समस्या सुरु भएको रहेछ।

पहिले ग्याष्ट्रिकको समस्या ठिक बनाइदिने डा. नन्दूले टाउको दुख्ने तथा निन्द्रा नलाग्ने जस्ता यी समस्या पनि ठिक बनाइदिन्छिन् कि भन्ने आशले उनलाई भेट्न वीर अस्पताल पुगेछन् ती पुरुष।

डा. नन्दूलाई भेटेर ति पुरुषले भनेछन्, ‘डाक्टरसाप तपाईंले उपचार गरेपछि पेटको समस्या त ठिक भयो। तर, अहिले फेरि टाउको दुख्ने समस्या सुरू भएको छ। यो समस्या पनि ठिक पारिदिनुहुन्छ कि भनेर आएको।’

बिरामीले आफूलाई विश्वास गरेको देखेर डा. नन्दू एकछिन् मौन बनिन्। उपचार गरिदिने विश्वास गरेर भेट्न पुगेका ती पुरुषलाई सुरुमा त के भनेर परामर्श दिने भन्ने दुुविधामा परिन् उनी।

डा. नन्दू पेट रोग विशेषज्ञ हुन्। ती पुरुषको समस्या न्यूरो सम्बन्धि चिकित्सकलाई देखाउनुपर्ने थियो। त्यसैले उनले सम्झाएर न्यूरो चिकित्सकसँग परीक्षण गराउन सल्लाह दिइन्।

तर, ति पुरुषले मानेनन्। पुरुषले डा. नन्दूलाई भनेछन्, ‘हैन तपाईंले नै औषधि दिनुु, ठिक भएन भने (न्यूरोमा) जाउँला।’

त्यसपछि ती पुरुषलाई मनोवैज्ञानिक रूपमा खुसी बनाउन भए पनि केही दिनका लागि उनले टाउको दुखाई कम गर्ने औषधि लेखिदिइन्। बिरामीले गरेको त्यस्तो विश्वासले उनलाई थप आत्मबल मिल्छ।

७१ वर्षीया आमाको ग्याष्ट्रिक ठिक भएपछिको आर्शिवाद
केही महिनाअघिमात्रै करिब ७१ वर्षकी आमा डा. नन्दूकहाँ उपचारका लागि पुगिन्। पेट दुख्ने समस्या भएकी आमाले धेरै ठाउँमा स्वास्थ्य परीक्षण र उपचार गराएकी रहिछन्।

१० वर्षअघिदेखिको पेट दुख्ने समस्या रहिरहेकी आमाको डा. नन्दूले स्वास्थ्य परीक्षण गरिन्। ग्याष्ट्रिकको समस्या पत्ता लागेपछि उपचार सुरू गरियो। केही हप्ताको औषधि उपचारपछि आमाको ग्याष्ट्रिकको समस्या ठिक भयो।

डा. नन्दूलाई लाग्छ, ‘सायद ती आमैको ग्याष्ट्रिकको समस्या मैले गरेको उपचारको तालमेल मिलेर ठिक भयो।’

ठिक भएपछि ती आमाले आशिर्वाद दिँदै भनिछन्, ‘साठी वर्षको उमेरदेखि उपचार गरेको कहिँ ठिक भएन। तपाईं त भगवान नै भेटिनुभयो।’

ति आमाले प्रगतिको कामना गर्दै डा. नन्दूलाई आशिर्वाद दिइन्। जुन आशिर्वाद उनी कहिल्यै भूूल्दिनन्।

औषधि उपचारपछि आमाको ओठमा छाएको मुस्कान सम्झँदा डा. नन्दूलाई बडो आनन्द लाग्छ। आमा अहिले पनि फलोअपमा डा. नन्दूलाई भेट्न पुग्छिन्। केही महिना अघि मात्रै पनि पुगेकी थिइन्।

त्यसो त पेट दुख्यो, धेरै ठाउँ पुग्यौं तर ठिक भएन भन्दै कतिपय बिरामी उनीकहाँ पुग्ने गरेका छन्। विशेषज्ञ चिकित्सककहाँ पुगेर उपचार गर्न उनी सुझाव दिन्छिन्।

पाकिस्तानमा एमबीबीएस
२०३१ मा काठमाडौंको कमलपोखरीमा जन्मेकी नन्दूले ज्ञानेश्वरको मार्टियस मेमोरियल बोर्डिङ स्कुलबाट २०४६ मा एसएलसी उत्तीर्ण गरिन्। अस्कल क्याम्पसमा आइएस्सी पढेर उनी सन् १९९४ मा पाकिस्तानको लाहोरस्थित फाथिमाजिना मेडिकल कलेज पुगेर एमबीबीएस पढ्न थालिन्।

सन् २००० मा एमबीबीएस अध्ययन पूरा गरेर नेपाल फर्किएकी उनले करिब एक वर्ष नेपाल मेडिकल कलेजमा काम गरिन्। त्यसपछि डा. नन्दू २०५९ मा लोकसेवा परीक्षामार्फत मेडिकल अधिकृतको रूपमा स्थायी चिकित्सक भएर सरकारी जागिरमा प्रवेश गरिन्।

सरकारी जागिरे भएपछि काठमाडौंको क्षेत्रपाटीस्थित परिवार नियोजन क्लिनिकमा उनको पहिलो पोष्टिङ भयो। त्यहाँ उनले करिब डेढ वर्ष काम गरिन्। 

रसुवाको त्यो अनुभव
त्यसपछि डा. नन्दू सरुवा भएर रसुवाको धुन्चेस्थित जिल्ला अस्पताल पुगिन्। त्यहाँ उनले करिब १५ महिना काम गरिन्। १५ महिना रसुवामा काम गर्दा दुर्गममा स्वास्थ्यकर्मी, चिकित्सक र बिरामीले भोग्नुपर्ने चुनौती उनले नजिकबाट देखिन र भोगिन् पनि। रसुवामा उनले गाउँ–गाउँ पुगेर बिरामीको उपचार गरेकी छन्। विभिन्न ठाउँमा स्वास्थ्य शिविर लिएर गएर बन्ध्याकरण, मिनिल्याप जस्ता काम उनले गरिन्। 

त्यहाँ काम गर्दा सुत्केरी व्यथा लागेर स्वास्थ्य अवस्था जटिल भइसकेका बिरामी अस्पताल पुगेका धेरै घटना सम्झन्छिन् उनी। आफू भर्खर मेडिकल अधिकृत भएकाले अनुभवी नर्सिङ स्टाफसँग मिलेर प्रसूति गराउँदाको क्षण सम्झँदा उनलाई लाग्छ– ‘त्यो बेला अनुभवी नर्सबाट मैले पनि धेरै सिकेँ।’

त्यो बेला राति एक बजे करिब ३२ वर्षकी महिला बच्चा जन्माउन नसकेर अस्पतालमा पुगेको डा. नन्दूलाई सम्झना छ। ती महिलाको औषधि उपचारपछि सामान्य अवस्थामा नै बच्चा जन्मिएको सम्झन्छिन् उनी। 

रसुवापछि डा. नन्दू २०६३ मा वीर अस्पतालमा सरुवा भइन्। त्यहि वर्षको साउनबाट उनी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा ‘इन्टरनल मेडिसिन’ विषयमा स्नातकोत्तर तहको ‘एमडी’ अध्ययन गर्न थालिन्।

२०६६ मा इन्टरनल मेडिसिन विषयको तीन वर्षे एमडी तहको अध्ययन पूरा भयो। एमडी अध्ययन गरेको करिब तीन वर्षपछि उनले ‘ग्याष्ट्रो इन्टेरोलोजी’ विषयमा ‘डिएम’ गरिन्। जुन विशिष्टिकृत (सुपर स्पेशलाइजेशन) अध्ययन हो। 

रसुवापछि १६ वर्षयता उनी निरन्तर वीर अस्पतालमा नै कार्यरत छिन्। डा. नन्दू दशौं तहमा कन्सल्टेन्ट ग्याष्ट्रो इन्टेरोलोजिष्ट (पेटरोग विशेषज्ञ)का रूपमा काम गरिरहेकी छन्। प्रतिष्ठानमा उनी एसिस्टेन्ट प्रोफेरसको भूमिकामा समेत छिन्।

९ पुस, २०७९, १७:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।