राष्ट्रपति भण्डारीद्वारा मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय प्रशासनिक भवनको उद्घाटन

राष्ट्रपति भण्डारीद्वारा मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय प्रशासनिक भवनको उद्घाटन

काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो शुक्रबार सुर्खेतको कुइनेपानीमा एक भव्य कार्यक्रमबीच मध्यपश्चिम विश्वविद्यालयको नवनिर्मित केन्द्रीय प्रशासनिक भवनको शिलालेख अनावरण गरी उद्घाटन गरेकी छिन्। राष्ट्रपति भण्डारीले विश्वविद्यालयका ठूला दाता मोतीप्रसाद सापकोटाज्यूलाई अभिनन्दनसहित कदर पत्र प्रदान गर्दै उद्घाटन समारोहलाई सम्बोधन समेत गरेकी थिइन्।

मध्यपश्चिम विश्वविद्यालयको वर्तमान नेतृत्त्वले अवलम्बन गरेको भ्रष्टाचारविरोधी अभियान, पारदर्शिता, जवाफदेहिता र अन्य विभिन्न क्षेत्रमा सफलता हासिल गरेकोमा मुक्तकण्ठले प्रशंसा गर्दै उनले मध्यपश्चिम विश्वविद्यालयको नेतृत्त्वले नेपालको समग्र शैक्षिक सुधारका लागि नेतृत्त्वदायी भूमिका निर्वाह गर्न आग्रह गरिन्।

समारोहमा कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारको उपस्थिति रहेको थियो। मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहले समारोहमा विश्वविद्यालयको नीति तथा कार्यक्रमको सङ्क्षिप्त प्रस्तुतिसहित स्वागत मन्तव्य राखेका थिए।

समारोहमा सङ्घीय सांसदहरू, प्रदेश सरकारका मन्त्रीहरू, कर्णाली प्रदेश सभाका माननीय सांसदहरू, विश्वविद्यालय सभाका सभासद्हरू, प्राध्यापक, कर्मचारी, विद्यार्थी लगायतको उपस्थिति थियो।

कार्यक्रम संचालन मध्यपश्चिम विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. नारायणप्रसाद पौडेलले गरेका थिए। धन्यवाद ज्ञापन योजना, विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक प्रा. डा. चन्द्रप्रसाद रिजालले गरेका थिए।

उक्त समारोहको प्रत्यक्ष प्रसारण मध्यपश्चिम विश्वविद्यालयको आधिकारिक फेसबुक पेज मार्फत गरिएको थियो।

९ पुस, २०७९, ०८:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।