जीपिले दोस्रो विवाह गर्दै पहिली श्रीमती उषा भएकै घरमा श्रीमती भित्र्याए

काठमाडौं : पहिलो श्रीमती उषा खड्गीसँग डिभोर्स भएको ६ महिनामा सञ्चारकर्मी जीपी तिमिल्सिनाले दोस्रो विवाह गरेका छन्। जिपीले सविना अधिकारीसँग विवाह गरेका हुन्।
पारिवारिक कलहका कारण पूर्व मिस नेपाल खड्गी र जिपीविच जेठ २६ मा औपचारिक रूपमा सम्बन्ध विच्छेद भएको थियो। सम्बन्ध विच्छेदसँगै अदालतले सम्पत्ति चार भाग र ऋण २ भाग लगाए पनि सम्पत्ति बाँडफाँड नटुङ्गिँदा उषा त्यही घरमा बस्छिन् जहाँ जिपीले दोस्रो श्रीमती भित्र्याएका छन्।
जिपीले मङ्सिर १९ गते विवाह गरेका थिए। तीन तले घरमा पहिलो तला भाडामा दिइएको छ। दोस्रो तलामा उषा २ सन्तानसहित बस्छन्। तेस्रो तलामा जिपी नयाँ श्रीमतीसहित बस्छन्।
पारिवारिक हिंसा भएको भन्दै उषाले सम्बन्ध विच्छेदको प्रक्रिया अगाडि बढाएकी थिइन्। मदिरा पिएर कुटपिट गर्ने गरेको भन्दै उनले श्रीमान् श्रीमतीको रूपमा सँगै बस्न नसक्ने भन्दै सम्बन्ध विच्छेदको मुद्दा प्रक्रिया अगाडि बढाए पनि जिपीले आरोप मिथ्या भएको दाबी गरेका थिए।
जिल्ला अदालत भक्तपुरले दुबैलाई मेलमिलापको अवसर दिए पनि सम्भव नभएपछि सम्बन्ध विच्छेदको निवेदन स्वीकार गर्दै सम्पत्ति र ऋण दुवै बाँडफाँडको फैसला गरेको थियो। उषाले जिपीले अदालतको फैसला अनुसार सम्पत्ति नदिएको भन्दै सोही घरमा बस्दै आएकी थिइन्।
घर चार भाग, ऋणको दायित्व २ भाग
भक्तपुर जिल्ला अदालतले फैसला गर्दा भक्तपुरमा रहेको घरको चार भाग लगाएको थियो। एक भाग उषाको हुने, २ भाग दुई सन्तान र एक भाग जिपीको हुने फैसलामा उल्लेख छ।
जिपीले अदालतमा घर बनाउँदा लिएको ऋणको विवरण पनि पेस गरेका थिए उनले पेस गरेको विवरणमा आवास कर्जा १५ लाख र व्यक्तिगत कर्जा २० लाख निकालेको उल्लेख थियो। अदालतले यसको सावा र ब्याज उषाको भागमा पनि पर्ने फैसला गरेको थियो।