‘संविधानमा ललितकला शब्द घुसाउँदैमा कलालाई फाइदा पुग्दैन’

‘संविधानमा ललितकला शब्द घुसाउँदैमा कलालाई फाइदा पुग्दैन’

काठमाडाैं : कलाका विभिन्न विधाहरू हुन्छन्। जसमा सबैभन्दा पुरानो कला विधा हो, भित्तेचित्र। नेपालमा भित्तेचित्रको परम्परा कहिलेबाट सुरु भयो भन्ने यकिन तथ्य फेला नपारे पनि यो सबैभन्दा पुरानो कला विधा भएकोमा दुईमत छैन।

अन्तराष्ट्रिय स्तरमा स्ट्रीट आर्ट नामले यो विधा परिचित छ। तर, स्ट्रीट आर्टले नेपाली भित्तेकलालाई पूर्ण रूपमा नसमेट्ने आर्टयुडियोका सञ्चालक कैलाश के श्रेष्ठ बताउँछन्।

केहि हिप्पीहरूले कलाकारसँग मिलेर सुरु गरेको हो स्ट्रीटआर्ट तर नेपालमा भित्तेकला संस्कार र संस्कृतिसँग समेत जोडिएकाले यी दुईलाई एकै ठाउँमा राख्न मिल्दैन भन्छन् उनी।

नेपालमा भित्तेकला परियोजना २०७९ अन्तर्गत केहि कार्यक्रमहरू भइरहेका छन्। जसका लागि पहिलो चरणबाट सर्टलिष्ट भएका विभिन्न जिल्लाका १० कलाकार छनोटमा परेका छन्। सोमबार ललितपुर महानगरपालिकाको बगैंचामा छनोटमा परेका कलाकार लाइभ आर्ट सोकेसको हिस्सा भइरहेका छन्।

दश कलाकार ठिमीका बिशाल मानन्धर, खोटाङका इशान राई, सिन्धुलीका खेम बहादुर पाल्पाली, ललितपुरका किरण मानन्धर, जनकपुरका कमल पुर्बे र सरिता मण्डल, सर्लाहीकी मनिषा साह, भक्तपुरका सुचिन श्रेष्ठ र सुदिप बल्ल, झापा छेतन शेर्पा हुन्।

यी चित्रकारहरूले आ–आफ्नो अवधारणमा प्रत्यक्ष चित्र बनाउँदैछन्। चित्र सामाजिक समावेशीकरण र समानतामा केन्द्रित छन्।

कलाकार सहकार्य किन गर्दैनन् ?
कन्टेम्पोररी आर्टमा काम थालेको झण्डै १२ वर्ष भएछ आर्टयडियोले। 

संविधान घोषणा भएको दिनदेखि सुरु भएका मुभमेन्टहरुमा सँगै छ। राजनीतिक नारा नारा र पोष्टरले वाक्क भएका मानिसलाई ‘वी मेक द नेशन’ भन्ने नारासहित कला मार्फत आन्दोलन पनि गर्यो।

कोभिड–१९ को समयमा काठमाडौं महानगरपालिकाको भित्तामा एउटा चित्र बनेको थियो, ‘कोभिड वारियर’ भन्ने। त्यो चित्र महानगरले मेटायो। यो विषयमा नेपालमा भएका चित्रकारहरूसमेत एक हुन सकेनन्। केहि चित्रकारले आवाज उठाए पनि त्यो सशक्त हुन सकेन।

यो विषयमा कैलाशले भने, ‘कलाकार एक्लै हिड्न रुचाउँछ। उसको दिमागमा के चलिरहेको हुन्छ, उसैलाई थाहा हुँदैन, सामुहिक हुन सक्दैन। त्यसैले कलालाई सफ्ट पावरका रुपमा सरकारले लिनुपर्छ।’

कला समृद्धि कि गरिबी!
यतिबेला सरकारले कलालाई महत्त्वका साथ हेरेको छैन। कलालाई प्राथमिकता नदिने सरकार विश्वभर राम्रो मानिँदैन।

‘एउटा बच्चालाई कला दिनुभएन भने के हुन्छ? सामान्य भाषामा बुझाउँदा बच्चालाई भोक लाग्नेबित्तिकै रुन्छ, विद्रोह गर्छ र खाना पाउने बित्तिकै भोक भुल्छ,’ आर्टयुडियोका संस्थापक कैलाशले भने, ‘तर माया दिइएन भने जिन्दगीभर मनमा रहिरहन्छ। माया कला हो। जसले प्रत्यक्ष, अप्रत्यक्ष रुपमा मानिसमा प्रभाव जमाइरहन्छ। कला बिना समाज बिरामी हुन्छ।’

त्यसो त, कला विद्रोह हो। विश्वमा जति पनि क्रान्ति भएका छन्, त्यसमा चित्रकला, नाट्यकला, संगीतकलाको भूमिका अमुल्य छ। हेर्न नपाएका कुरा भित्तामा कोरिए र भित्तेकला भयो। सुन्न नपाएका कुरा कागजमा कोरिए कुनै साहित्यकला भए, कुनै चित्रकला।

नेपालमा स्वर्णीम युग मानिएको मल्ल कालमा धेरै कला बने। त्यो समयमा प्रतिस्पर्धा थियो, कसको दरबार सुन्दर, कसको टोल समृद्ध। त्यहि सिलसिलामा पाटनमा सुन्दरी चोक बन्न पुग्यो।

मोनलिसाको चित्रभन्दा सात सय वर्षअघि बनेका चागुँनारायणको भिमकाय विष्णुको मुर्ति होस् या ठूला दरबारहरू, सम्पन्नताकै उदाहरण हुन्। पाटन दरबार, बागभैरव, तलेजु, हनुमानढोका लगायमा समृद्ध देखाउन बनाइएका भित्तेचित्र अझै बाँकी छन्। घर–घरमा भित्तेचित्र छ।

नेपाल समृद्ध नभएकैले कला कमजोर बनेको कैलाशको भनाइ छ। उनका अनुसार सरकारले कलालाई बेवास्था गर्नु भनेको भविष्य नसोच्नु हो। सरकारकै कारण यतिबेला कला माध्यम मात्रै भयो, विषय बन्न सकेन।

भित्ता माग्न कानूनी झमेला
धनसँग कला जोडियो। त्यसैले अहिले कला निश्चित वर्गको हातमा छ। त्यो वर्गले कलालाई सीमित ठाउँमा गुम्स्याएको छ। सबै वर्गमा कला पुग्न सकेको छैन।

कलालाई ग्यालरीभित्र मात्रै नगुम्स्याउने उदेश्यले नै ‘भित्तेकला परियोजना २०७९’ सुरु गर्न लागिएको कैलाशले बताए। 

काठमाडौं महानगरसँग यहि परियोजना अन्तर्गत भित्ता माग्ने काम भइरहेको छ। तर, सरकारले आफैँ बोलाएर हामीलाई भित्ता दिनुपर्नेमा कलाकार नै जाँदासमेत भित्ता पाउन मुस्किल छ।

कैलाशले १० वर्षअघिको अनुभव सुनाए, ‘म कलाकारितामा लाग्दै गर्दा काठमाडौं महानगरसँग भित्ता माग्न गएको थिएँ। मेरो कुरा सुनेपछि महानगरका मानिसले यो गैरकानूनी काम हो, नेपालमा गर्न मिल्दैन भनेर फर्काए। अहिले दश वर्षपछि त सरकारले भित्ते कलाको महत्त्व बुझ्यो होला भनेको पारा उस्तै रहेछ। अहिले पनि भित्ता माग्न जानुपर्ने कलाकारको दुभाग्य हो।’

अहिले कला बुझ्ने मानिस ठाउँमा आए पनि विभिन्न कागजात र प्रक्रिया पुर्याउन झन्झट रहेको कैलाशको भनाइ छ। विभिन्न राजनितीक नारा लेख्न, पोष्टर टाँस्न भित्ता छ। तर, सचेतना फैलाउने, मानिसलाई क्रियटिभ बनाउने चित्र बनाउन सरकारसँग भित्ता छैन।

कैलाशका अनुसार, नेपाल सरकारले भित्ता दिने कुनै प्रष्ट कानुन बनाएको छैन। संविधानमा ललितकला शब्द घुसाउँदैमा त्यसले कलालाई फाइदा नपुग्ने भन्दै सरकारले कला र कलाकारको अस्तित्व स्वीकार नगरेको गुनासो गरे।

१२ मंसिर, २०७९, १६:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।