उकेरा मन्थन

ब्लग

संसारलाई झुक्याउने किट्टियाको फोटोग्राफीमा पहिल्यैदेखि 'कन्भिन्स्ड' थिएनन् फोटोपत्रकार चन्द्रशेखर कार्की


तस्बिर: अल्पाइनम्याग

किट्टिया पावलोस्की। यो नामले केही साताअघि तहल्का मच्चाएको थियो। अहिले स्तब्ध बनाएको छ। कारण- किट्टियाले कठोर दुःख गरेर खिचेको भनिएको अत्यन्त सुन्दर हिउँ चितुवाको तस्बिर 'फेक' साबित हुनु।

'अल्पाइनम्याग' नामक सञ्चारमाध्यमले गरेको गहिरो खोजमूलक रिपोर्टले आज यो सनसनीपूर्ण खुलासा गरेको हो। त्यहाँ भनिएअनुसार किट्टियाले त्यो तस्बिर 'खिचेकी' होइनन्, 'म्यानिप्युलेट' गरेकी हुन्। 

अस्वाभाविक प्रकाश र कोलाज इफेक्ट (तस्बिरहरू जोडिएको) हुनसक्ने आकलनपछि अल्पाइनम्याग्ले यसबारे खोज गरेको रहेछ। जसमा किट्टियाले सार्वजनिक गरेको चारमध्ये तीन फोटो म्यानिप्युलेट गरिएको तथ्य अगाडि आयो।

तस्बिरको सत्यता पुष्टि गर्न उनीहरूले पृष्ठभूमिमा देखिएको हिमालको सहारा लिएका रहेछन्। अनि अर्को आधार चाहिँ हिउँ चितुवाको रहनसहनलाई लिइएको रहेछ। हिउँ चितुवा विज्ञ भिन्सेन्ट मुनिएरलाई उद्धृत गर्दै अल्पाइनम्यागले भनेको छ- त्यति उँचाइमा हिउँ चितुवा पाइँदैन। र वर्षौँ कुर्दा पनि हिउँ चितुवा देख्न मुस्किलै पर्ने जनावर हो।

किट्टियाले खिचेको भनिएको तर झुटो साबित भएको दुई तस्बिर

यो पाटोमा त तै-तै 'भाग्य'ले साथ दियो भन्न सकिन्थ्यो। तर, किट्टियाको त परिचय नै शंकास्पद रहेछ। 

उनले आफूलाई अमेरिकन फोटोग्राफर भनेर चिनाए पनि वाइल्डलाइफ फोटोग्राफी र माउन्टेन फोटोग्राफी वृत्तका कसैले पनि उनलाई चिन्दैन रहेछन्।

खैर, जति लामो कुरा गरे पनि तस्बिर फेक हो भन्ने अगाडि आइसक्यो। यसबारे विस्तृतमा अल्पाइनम्याग नै पढ्दा अझ राम्रोसँग बुझिएला। यहाँ चाहिँ म यो तस्बिरसँगको मेरो अनुभव भन्छु। र भेट्रान फोटोपत्रकार चन्द्रशेखर कार्कीले कसरी सुरुदेखि यो तस्बिरको असलियतमाथि प्रश्न गरिरहे भन्ने बताउँछु।

चन्द्रशेखर कार्की को हुन् भन्ने जिज्ञासा छ भने मेटिदिहालौँ। उनी कान्तिपुर पत्रिकाका पहिलो फोटोपत्रकार हुन्।

फोटोपत्रकार चन्द्रशेखर कार्की

सबैभन्दा पहिला जिरीको कुरा। 

चन्द्रशेखर दाइ र प्रबोध मल्ल दाइ (मेरो नजरमा प्रबोध दाइ खत्रै भिडियोग्राफर हुन्) जिरीमा वृतचित्र बनाउन जाने मूडमा रहेछन्। चार वर्षपछि मेरो साथी समीर पनि नेपाल आएको थियो। उसलाई घुमाउन अझ भनौँ ट्रेकिङको अनुभव दिलाउनु मेरो परम् कर्तव्य थियो। 

चन्द्रशेखर दाइले एक दिन फोन गरेर सोध्नुभयो- 'असीम, जिरी जाने हो?' मलाई त चिठ्ठै परेजस्तो भो। 'हस्' भनेँ।

तर म त उकेराको डेस्क एडिटरको जिम्मेवारीमा थिएँ। सहजै बिदा कहाँ पाइन्थ्यो। सम्पादक केपी दाइलाई फोन गरेँ। दाजुभाइको नाता गाढा नै हो, बिदा मिलाउन त्यति समस्या पनि भएन।

अनि चार जनाको टोली लागियो जिरी। मेरो काम विशुद्ध साथीलाई घुमाउनु, चन्द्र दाइ र प्रबोध दाइको काम विशुद्ध जिरीको वृत्तचित्र बनाउनु।

तस्बिर: जिरी बजार। -चन्द्रशेखर कार्की

पहिलो दिन नै जिरीबाट एक घण्टाको अफरोड गाडी यात्रा अनि तीन घण्टाको ठाडो उकालो हिँडेर चेर्दुङ पुगियो। चेर्दुङ भनेको डाँडाको थुम्काको नाम हो।

साथमा भएका रमेश दाइ र एक जना (नाम बिर्सिएँ)ले हाम्रो भारी बोकेर ठूलो गुन लगाए। चन्द्र दाइको लङ्गौटिया यार याम दाइ र जिरी नगरका ५ नम्बर वडाका अध्यक्ष नर बहादुर जिरेल जी पनि सँगै भएकाले जिरीको 'लोकल' कुरा सुन्दै यात्रा तय गरियो।

चेर्दुङ पुग्नासाथ गौरीशङ्कर हिमालको दृश्यले 'पागलै' बनायो। त्यसमाथि बादलै बादलको सागर। कालिञ्चोक भगवतीको डाँडातिर अस्ताउँदै गरेको घाम। ओहो के भनौँ र। सम्झिँदा अहिले पनि लालबन्दीमा भएको घर-खेत बेचेर त्यतै बसौँ जस्तो लाग्ने।

तस्बिर: गौरीशङ्कर हिमाल। -चन्द्रशेखर कार्की

त्यहाँ पुगेर अबेर रातसम्म हिमाल अनि बिहान उठ्नासाथ पनि हिमालै हेरियो। राति याद नगरे पनि बिहान सूर्योदय भएको नुम्बुर हिमालको फोरग्राउण्डले फेरि लोभ्यायो।

तस्बिर: नुम्बुर हिमाल। -चन्द्रशेखर कार्की

अँ साँच्चै, चेर्दुङ त अथाहा पर्यटकीय सम्भावना बोकेको ठाउँ रहेछ। चल्तीको भाषामा भन्दा 'भर्जिन टुरिष्ट डेस्टिनेशन'। त्यहाँबाट पर-परसम्मको हिमाल देखिन्छ। अनेकौँ हिमशृङ्खला देखिन्छ।

यो हिमालै हिमालको संसारमा रमाउँदा करिब २४ घण्टा हामी सबै सञ्चारबाट टाढा थियौँ।

तस्बिर: नुम्बुर र गौरिशङ्कर हिमालसहित रोल्वालिङ हिमशृङ्खला । -चन्द्रशेखर कार्की

जिरी बजारको होटल ग्याबिला आइपुग्दा साँझ-साँझ पर्यो।

अनि लुगाफाटो फेरेर फ्रेश भएर मोबाइल खोल्नासाथ फेसबुकभरि किट्टियाको उही हिउँ चितुवाको तस्बिर छ्याप्छ्याप्ती भइसकेको रहेछ। तल रेष्टुराँमा झर्यौँ।

फोटो र भिडियोका हस्तिहरू सँगै भएपछि मैले त्यो फोटो देखाउँदै भनेँ- 'लु हेर्नु बुढाहरू तपाईं दुवैको जमाना सकियो। फोटो भनेको यस्तो हुन्छ।' 

प्रबोध दाइ त आश्चर्यचकित भए। चन्द्र दाइ भने केही प्रतिक्रिया दिँदैनन्।

खासमा चेर्दुङबाट फर्किने क्रममा हाम्रो देशका केही 'नाम उँच, काम बुच' अर्थात् नाम ठूलो भए पनि काम झुर गर्ने फोटोपत्रकार/फोटोग्राफरका विषयमा गफ भएको थियो। 

त्यसबेला पनि कतै चन्द्र दाइले अरूको उत्कृष्टता सहन नसकेका हुन् कि जस्तो लागेको थियो। त्यसमाथि किट्टियाको फोटो हेरुञ्जेल चन्द्र दाइ र म चाहिँ 'पदमचाल' भन्ने जडीबुटीको झोल समाएर 'चियर्स' गरिसकेको मूडमा थियौँ। एकछिनसम्म फोटोको तारिफ मात्रै भएपछि दाइ बोले- 'यो लक हो। हन्ड्रेड पर्सेन्ट लक हो।' 

प्रबोध दाइ हल्का कूटनीतिक भए- 'लक त हो तर मेहेनत पनि छ।' 

म उग्र भएँ- 'कसरी लक? एउटा फोटोग्राफरले यत्रो मेहेनत गरेर त्यतिमाथि हिउँ नै हिउँको रासमा पुगेर खिचेको फोटो लक हुन्छ?' 

आफ्नै अनुभव नि सुनाइदिएँ- 'हामीलाई हिजो ३२ सय मिटरको हाइटमा कति गाह्रो भाको थियो? यो केटीले त पाँच हजार ४८६ मिटरमा गएर यस्तो अद्भूत फ्रेमिङ र लाइटमा फोटो खिचेको छ। सानो कुरा हो र?' 

प्रबोध दाइ विस्तारै मेरो कुरामा कन्भिन्स्ड भए।

चन्द्र दाइ चाहिँ अब फोटोलाई गहिरोसँग हेर्दै परीक्षण गर्न लागे। अनि पहिला सोधे- 'यो कता खिचेको रैछ?' 

फोटोको 'फोटो स्टोरी' पढिरहेको थिएँ। मैले जवाफ दिएँ- 'सगरमाथाको गोरक्षेप रे।' 

'पुमोरीतिर जस्तो देखिन्छ', चन्द्र दाइले आफ्नै पारामा भने, 'यहाँतिर छ नि हिउँ चितुवा पाउने ठाउँ चाहिँ होइन हेर।'

अनि फेरि भने- 'यो लाइटिङ जल्ले जे भनोस् यस्तो लाइटिङ सम्भवै छैन।' मोबाइलको स्क्रिनमा फोटो जुम गर्दै फेरि दोहोर्‍याए- 'यताबाट पनि, यताबाट पनि यो दुईतिरबाट लाइट आउने चान्स नै छैन। यो फोटो यदि साँच्चै हो भने हन्ड्रेड पर्सेन्ट लक नै हो, होइन भने फोटोसपमा केही न केही त गरेकै छ।'

तस्बिर: अल्पाइनम्याग

जुन तथ्य आज अल्पाइनम्यागले भन्यो, त्यो बारे संशय चाहिँ चन्द्र दाइले त्यही बेला गरेका हुन्। उनले फेरि भने- 'यो फोटोमा यार चितुवा यस्तो मज्जाले पोज दिएर बसेको छ। कहाँ यस्तो भेटिन्छ। फुत्त-फुत्त-फुत्त-फुत्त भागिहाल्छ नि।'

यतिबेला प्रबोध दाइले पनि 'हो मा हो' मिलाए। मेरो साथी समीरले पनि स्वीकारोक्ति जनायो।

केहीबेरमा चन्द्र दाइ अलि लचक भए। 'बरू केसम्म हुनसक्छ भने घाम र जून एकैपटक देखिएको बेला खिचिएको हुनसक्छ। तर त्यो अनुसारको लाइट कलरमा देखिँदैन। तिमी जे भन यो फोटोमा म चाहिँ कन्भिन्स्ड छुइनँ', मतिर इङ्गित गर्दै भने। 

यसबीच हामी तीन जना फोटो हेर्दै त्यसमा मन्त्रमुग्ध भइरहेका थियौँ। इन्स्टाग्राम र गूगलमार्फत किट्टियाका अरू फोटो हेरेर यो लक होइन, मेहेनत नै हो भन्नेमा पुगिसकेका थियौँ। त्यो रात त्यसै बित्यो।

दुई दिन अरू जिरी बसियो। त्यस दौरान त्यही फोटोको दृष्टान्त दिँदै प्रबोध दाइले 'अमेरिकन नेपाल आएर हिउँ चितुवा खिचेर लगिसक्यो तपाईं यही गाउँ ठाउँ मात्र खिच्ने हो' भन्दै जिस्क्याए। जिस्क्याउने काममा मेरो पनि ठूलो साथ थियो नै।

फर्किने दिन पनि गाडीमा- '२४ वर्षकी किट्टियाले संसार हल्लाई, दाइ तपाईंको २४ वर्षे करियर त खेरै गएछ नि' भनियो। 

'तिमीहरू तर जे भन त्यो हन्ड्रेड पर्सेन्ट लक हो र त्यो फोटोमा केही न केही म्यानिप्युलेसन छ-छ', यही वाक्य दोहोर्‍याइरहे।

तस्बिर: अल्पाइनम्याग

'बरू यसो अब पैसा कमाउन देऊ, एउटा हाई-लक्स किनेर हामी पनि हिमालतिर जानुपर्छ', दाइले आफ्नो योजना सुनाए, 'पार्टीको कार्यकर्ताबाहेक अरूले त काम पाउनै मुस्किल भइसक्यो। नत्र तिमीहरूलाई म एकछिन पनि काठमाडौंमा राख्दिन थिएँ। के गर्ने कुरो रिसोर्स मै अड्किन्छ, मेहनत गर्न त अझै पनि सकिन्थ्यो नि, त्यो केटीले खिचेको जस्तो हामी नि खिच्थ्यौँ नि। तर असीम तिमी चाहिँ वेट (वजन) घटाऊ। नेक्स्ट टूर च्छो-रोल्पा जानुपर्छ।'

अन्त्यमा,

तस्बिर 'फेक' हो भन्ने त अनुसन्धानले देखाइ नै हाल्यो। यसबारे किट्टिया स्वयंको धारणा सार्वजनिक भएको छैन। उनको दावीले अर्को बहस पनि सिर्जना हुनसक्छ। यो चाहिँ केवल यात्राको अनुभव र संयोगवश जुरेको सन्दर्भको कुरा हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

आफैँलाई जलाउने प्रेम आचार्य र विद्रोही बन्ने 'गोड्से' फिल्मका विश्वनाथ: दुवै भ्रष्ट सिस्टमभित्र पिल्सिएका पात्र

'गोड्से' पनि यस्तै एउटा व्यक्ति विश्वनाथ रामाचन्द्रको कथा हो। जो 'आफ्नै देशमा केही गर्छु, उद्योग खोलेर शिक्षित बेरोजगारहरूलाई रोजगार दिन्छु' भनेर विदेशमा भएको उद्योग धन्दा....

सामाजिक सञ्जालको जालोमा बालबालिका, कसरी जोगाउने?

बालबालिका, किशोरकिशोरी, महिला, पुरुष, जेष्ठ नागरिक, जसले पनि सामाजिक सञ्जालको राम्रा तथा नराम्रा पक्षहरूको महसुस वा अनुभव गरेका छन्। यसबाट अझ बालबालिका र किशोकिशोरहरू बढि....

चित्र बनाएकाले 'चिसो कोठा'मा थुनिनेहरू

१९ गते राति प्रहरीले तीन जनालाई चौकी लान्छन्। तर उनीहरू अपराधी होइनन्। कुनै अभियोग पुष्टि भएको दोषी पनि होइनन्।  चित्रकारको समूह हो त्यो। एक- पोख्त,....

गम्भीर वित्तीय विचलनमा किन नरम भयो राष्ट्र बैंक !

नेपालका बैंक तथा वित्तीय संस्थाहरूले कर्जाको ब्याजदर निर्धारण गर्दा आधार दरलाई सन्दर्भ दरको रूपमा लिने गर्छन्। आधार दर भन्नाले कोष लागत प्रतिशत, अनिवार्य नगद लागत....

‘राजा नमान्ने अनि रुसलाई चाहिँ मान्ने?’

हामीहरू प्राणको बाजी लगाएर देशभित्र आयौं। हामी ती व्यक्ति हौं, जसको निर्देशनमा ओखलढुंगाजस्ता काण्डहरू भएका थिए। तसर्थ हामी निश्चय नै प्राणको बाजी लगाएर आएका थियौं।....