डा. रविन्द्रको उपचार अनुभव : थला परेका बिरामीले तुरुन्तै उपचार नगरे आत्महत्या गर्छु भनेपछि...

डा. रविन्द्रको उपचार अनुभव : थला परेका बिरामीले तुरुन्तै उपचार नगरे आत्महत्या गर्छु भनेपछि...

जोर्नी प्रत्यारोपण विशेषज्ञ डा. रविन्द्र रेग्मीले कयौं बिरामीको उपचार गरेका छन्। जुन उनको धर्म हो। विशेषगरी हिप र घुँडाको जोर्नी प्रत्यारोपण गर्ने उनी करिब नौ महिनाअघिको एउटा प्रसङ्ग भने कहिल्यै भुल्दैनन्।

करिब ४५ वर्षका पुरुष राष्ट्रिय ट्रमा सेन्टरमा डा. रविन्द्रलाई भेट्न ह्विलचेयरमा पुगे। कतैबाट उनको नाम सुनेर ती पुरुष झिनो आशा बोकेर भेटन् पुगेका रहेछन्। पुरुषको दायाँतर्फको हिपको जोर्नी खिएर खुट्टा नचल्दा सामान्य हिँडडुल गर्नसमेत नसक्ने अवस्था थियो।

खुट्टा फटाएर दिसा, पिसाब गर्न सक्दैनथे। ट्वाइलेट जान नसक्दा कोपरामा दिसापिसाब गर्नुपथ्र्यो। सामान्य दैनिकीसमेत गर्न नसकेर थला परेका विराटनगरका ती पुरुष बिरामीले निक्कै कष्ट खेपिरहेका थिए।

डा. रविन्द्रले स्वास्थ्य परीक्षणको क्रममा पुरुषमा बाथ लगायत समस्याका कारण हिपको जोर्नी नै खिइएको पत्ता लगाए। जोर्नी खिइएकाले बिरामी हिँड्न नसकेर ओछ्यानमै थला परेको ६ महिना भइसकेको रहेछ।

मादक पदार्थ सेवन गर्ने ती बिरामी दुखाइको पीडा भुल्ने भ्रममा थप रक्सी सेवन गर्दा रहेछन्। जसले गर्दा जोर्नी मात्रै होइन, कलेजो लगायत शरीरको अन्य अंगमासमेत समस्या निम्तिएको थियो।

परीक्षणपछि दायाँतर्फको हिपको जोर्नी नै प्रत्यारोपण गर्नुपर्ने देखियो। तर, कलेजोलगायत शरीरका अन्य भागसमेत समस्या भएकाले तत्काल शल्यक्रिया गर्दा बिरामीको ज्यानकै जोखिम निम्तने देखियो। त्यसैले डा. रविन्द्रको टिमले केही हप्ता उपचार गरेपछि मात्रै शल्यक्रिया गरेर हिपको जोर्नी प्रत्यारोपण गर्ने योजना बनायो।

केही हप्ता औषधि उपचार गरेपछि मात्रै प्रत्यारोपण गर्ने योजनासहितको परामर्श दिएर डा. रविन्द्रले ती पुरुष बिरामीलाई घर पठाए। चिकित्सकको सल्लाहअनुसार परिवारले बिरामीलाई विराटनगरस्थित घर लिएर गए।

तर, अस्पतालमा परामर्श दिएको ४÷५ दिनपछि तिनै पुरुष बिरामीले करिब ९ बजे राति डा. रविन्द्रलाई फोन गरेछन्। फोनमा ती बिरामीले भनेछन्, ‘डाक्टरसाप तपाईंले मेरो जोर्नी चाँडै प्रत्यारोपण नगरिदिने भए म चाहिँ झुण्डिन्छु। म सँग अरु विकल्प छैन।’

बिरामीले झुण्डिने कुरा गरेको सुनेर डा. रविन्द्र झस्किए। केही हप्तामा नै शरीरका अन्य समस्या ठिक भएपछि जोर्नी प्रत्यारोपण गर्ने भएकाले त्यतिबेलासम्म धैर्य गर्न आग्रह गर्दै उनले बिरामीलाई सम्झाए। बल्लबल्ल बिरामी उनको कुरामा सहमत भए।

त्यसको एक घण्टापछि फेरि उनै बिरामीले फोन गरे। दोस्रो पटक फोन गरेर ति बिरामीले भनेछन्, ‘हैन डाक्टरसाप, मैले खप्न सकिँन। तपाईंले तुरुन्तै प्रत्यारोपण नगरिदिने हो भने म झुण्डिएर आत्महत्या गर्छु।’

पहिलो पटक फोन गर्दा त रक्सी पिउने व्यक्ति भएकाले नसाको सुरमा झुण्डिन्छु भनेका हुन् की जस्तो पनि लागेको थियो उनलाई। बिरामीले रक्सीको नसामा नभई सामान्य अवस्थामा नै फोन गरेको थाहा पाएपछि डा. रविन्द्र बढि नै झस्किए।

डा. रविन्द्रले बिरामीलाई जोर्नी प्रत्यारोपणका लागि भोलिपल्ट बिहानै अस्पताल आउन भने। रातभरी पीडा भुल्ने उपायहरूका बारेमा उनले सल्लाह दिए। तर, डाक्टरको मनमा ती पुरुषले झुण्डिन्छु भनेको कुराले मनमा छटपछी भइरह्यो।

भोलिपल्ट बिहान बिरामी पुरुष काठमाडौं आए। सबेरै अस्पताल पुगेर डाक्टरले ती बिरामी भेटे। त्यसपछि दुवैको मन शान्त भएको उनी सुनाउँछन्।

अस्पतालमा डा. रविन्द्रको टिमले बिरामीको हिपको जोर्नी प्रत्यारोपण गर्ने छलफल गर्यो। तर, छलफलले तत्काल प्रत्यारोपण गर्दा शल्यक्रियाका क्रममा स्वास्थ्य जटिलता निम्तनसक्ने निष्कर्ष निकाल्यो।

पीडाले छटपटिएका बिरामीले जे भए पनि प्रत्यारोपण गरिदिन अनुरोध गरेपछि चिकित्सकको टिमलाई दुई चुनौती थपियो। एकातर्फ जोर्नी प्रत्यारोपण गरिहाल्नुपर्ने र अर्कोतर्फ बिरामीको ज्यान बचाउनुपर्ने।

जोखिम मोलेरै भए पनि चिकित्सकको टिम बिरामीको हिपको जोर्नी प्रत्यारोपण गर्न तयार भयो। प्रत्यारोपणका बिरामीलाई अस्पताल भर्ना गरियो। करिब अढाइ घण्टाको चिकित्सकको मेहनतपछि हिपको जोर्नी प्रत्यारोपण गरेर कृत्रिम जोर्नी राख्न सफल भयो डा. रविन्द्रकाे टिम।

शल्यक्रियापछि बिरामीलाई आईसीयूमा नराखी पोष्ट अपरेटिभ वार्ड हुँदै जनरल वार्डमा सारियो। जोर्नी प्रत्यारोपण गरेको भोलिपल्टै बिरामी अलि–अलि हिँड्न सक्ने भए। एक हप्तापछि बिरामी घर फर्किए। ह्वीलचेयरमा अस्पताल पुगेका बिरामी हिँडेर घर फर्कँदा डा. रविन्द्रप्रति निक्कै कृतज्ञ भए।

तुरुन्त प्रत्यारोपण नगरिदिए आत्महत्या गर्छु भनेर फोन गरेका बिरामीले मुसुक्क मुस्कुराउँदै अस्पतालबाट डिस्चार्ज भएर फर्केको सम्झँदा डा. रविन्द्रलाई निक्कै आनन्द लाग्छ। जोर्नी प्रत्यारोपण गरेका ती व्यक्ति तीन महिनाअघि फलोअपमा ट्रमा सेन्टरमा पुगेका रहेछन्। अहिले बैशाखी बिना नै ती व्यक्ति हिँडडुल गर्नसक्ने अवस्थामा पुगेको उनले सुनाए।

२२ वर्षीया युवती पैसैको अभावमा अपाङ्ग
आर्थिक अभावमा उपचार नै गर्न नसक्ने अवस्थाका बिरामी देख्दा साह्रै पीडा हुने डा. रविन्द्रले सुनाए। आर्थिक अभावकै कारण उपचार गर्न नसकेर अपाङ्गता जीवन बिताइरहेकी २२ वर्षीया युवतीको प्रसङ्ग सुनाए उनले।

युवतीको दायाँतर्फको हिपको जोर्नी खिइएकाले हिँडडुल गर्न नसक्ने अवस्था थियो। जन्मजातै यस्तो समस्या रहेछ उनको। आर्थिक अभावका कारण २२ वर्षको उमेरसम्म उपचार गर्न नसकेपछि युवती दायाँतर्फको खुट्टो लठ्ठिमा बेरेर हिँडडुल गर्दिरहिछन्।

सस्तोमा कुनै अस्पतालले उपचार गरिदिन्छ की भनेर युवतीले केही अस्पताल नचाहारेकी पनि हैनन्। तर, आर्थिक अभावमा उपचार हुन नसकेपछि केही हप्ता अघि मात्रै झिनो आशा बोकेर युवती एक्लै राष्ट्रिय ट्रमा सेन्टर पुगिन्।

परीक्षणपछि डा. रविन्द्रले हिपको जोर्नी प्रत्यारोपण गर्नुपर्ने सल्लाह दिन्छन् डा. रविन्द्र। युवतीले आर्थिक समस्याकै कारण उपचार गर्न नसकेको वृतान्त सुनाइन्। अर्को दिन आउन सल्लाह दिँदै डा. रविन्द्रले जोर्नी प्रत्यारोपणका लागि पहल गर्ने संकेत गरे।

अर्कोदिन पुनः युवती आमासँग अस्पताल पुगिन्। युवतीका बुवाले तीनवटी श्रीमती ल्याएका रहेछन्। उनीचाहिँ जेठी श्रीमतीकी छोरी रहिछन्। युवती भने माइली आमासँग अस्पताल पुगेकी रहिछन्।

आर्थिक अभावकै कारण युवतीले अपाङ्गता जीवन बिताएको देखेपछि डा. रविन्द्रले आफैँ आर्थिक व्यवस्थापनको जोहोको लागि पहल थाले। तर, युवतीको हिपको जोर्नी प्रत्यारोपण हुन बाँकी नै रहेको उनले बताए। कृत्रिम जोर्नी निःशुल्क प्रत्यारोपण हुने भएपछि युवतीको हिपको जोर्नी प्रत्यारोपण गर्ने योजना बन्यो र प्रत्यारोपण भयो पनि।

आर्थिक अभावका कारण रोग पाल्दै बिरामी पीडामा बस्नुपरेको देख्दा डा. रविन्द्रलाई साह्रै पीडा हुन्छ। मनै कटक्क खान्छ।

जब आमैले ‘तपाईं भगवान हो’ भन्दै अंगालो हालेर रोइन्...
करिब एक वर्षअघि घुँडाको जोर्नी प्रत्यारोपणपछि ६४ वर्षीया आमै ठमठम हिँड्न सक्ने भएर खुसी भएको प्रसङ्ग सम्झँदा डा. रविन्द्रलाई निक्कै आनन्द लाग्छ।

मनाङकी करिब ६४ वर्षीया ती आमै जोर्नी खिइएकाले राम्रोसँग टेकेर हिँड्न नसक्ने अवस्थामा, उपचारका लागि ट्रमा सेन्टरमा पुगेकी थिइन्। घर बाहिर जानुपर्दा ह्वील चेयरको सहारा लिनुपर्थ्याे उनले।

डा. रविन्द्रको टिमले ट्रमा सेन्टरमा आमैको घुँडाको प्रत्यारोपण गर्यो। प्रत्यारोपणपछि आमै हिँडडुल गर्न सक्ने भइन्। तीन महिना अघि फलोअपका लागि ट्रमा सेन्टर पुगेकी थिइन् ती आमै।

तीन महिनापछि फलोअपमा पुग्दा आमै बैशाखीविना नै राम्रोसँग हिँडडुल गर्नेसक्ने भइसकेकी थिइन्। फलोअपमा पुग्दा त ती आमैले डा. रविन्द्रलाई अंगालै मारेर रोइछन् र, भनिछन्, ‘डाक्टर साप तपाईं त मेरो लागि भगवान नै भएर आउनुभयो।’

आमै हिँड्ने भएको देख्दा डा. रविन्द्रलाई निक्कै आनन्द लाग्यो। तर, रुँदा भने उनी भावुक पनि बने।

बेडमा सार्ने क्रममा ९१ वर्षे बाजे बेहोस भएपछि...
करिब सात महिनाअघि लडेर हिपको गेडी भाँचिएका ९१ वर्षका बाजेलाई शल्यक्रियापछि अस्पतालको बेडमा सार्ने क्रममा बेहोस भएर आईसीयूमा लानु परेको प्रसंग भने डा. रविन्द्र कहिल्यै भुल्दैनन्।

हिँड्नै नसक्नेगरी थला परेका ती बाजेको हिपको जोर्नी प्रत्यारोपणपछि पोष्ट अपरेटिभ वार्डबाट जनरल वार्डमा सार्ने क्रममा लिफ्टमा लाँदा बेहोस भएको उनी सम्झन्छन्।

बेहोस भएपछि आईसीयुमा सारेर उपचार गरेको उनले सुनाए। केही दिन आईसीयुमा राखेपछि ठिक भएको उनी सुनाउँछन्। अहिले पनि फलोअपका लागि अस्पताल पुग्ने गरेका ती बाजे विना लौरो हिँडडुल गर्दा डा. रविन्द्रलाई पनि अनौठो लाग्दोरहेछ।

फिलिपिन्समा कलम समाउन सुरु गरेपछि...
रविन्द्र २०४१ मा पाल्पाको पोखराथोकमा जन्मिए। त्यसपछि सरकारी जागिरे उनका बुवाको दाङ सरुवा भएछ। त्यसैले केही समय उनको हुर्काइ दाङमा भयो। त्यसपछि बुवा स्नातकोत्तर अध्ययनका लागि फिलिपिन्स पुगेछन्। त्यसैले रविन्द्रले पनि नर्सरी र एलकेजी फिलिपिन्समा पढेछन्।

‘मैले फिलिपिन्समा कलम समाउन सुरु गरेको हो’, उनले भने।

केही वर्षपछि रविन्द्रका बुवाआमा नेपाल फर्किएर नेपालमा नै अध्ययन गर्न थाले। उनले प्रारम्भिक शिक्षा काठमाडौंमा लिए। रविन्द्रले सन् २००० मा काठमाडौंको भानुभक्त मेमोरियल हाइयर सेकेण्डरी बोर्डिङ स्कुलबाट एसएलसी उत्तीर्ण गरे। उनले निष्ट कलेजमा प्लस–टु अध्ययन गरे।

चिकित्साको यात्रा, सर्जरीको चासो
प्लस–टुपछि काठमाडौं युनिभर्सिटी स्कुल अफ मेडिकल साइन्सेस (काठमाडौं विश्वविद्यालय)मा रविन्द्र सन् २००३ देखि एमबीबीएस अध्ययन गर्न थाले। सन् २००९ मा उनको एमबीबीएस अध्ययन पूरा भयो।

एमबीबीएस अध्ययनपछि उनले धुलिखेल अस्पतालमा करिब डेढ वर्ष मेडिकल अधिकृतका रूपमा काम गरे। एक वर्ष बनेपामा रहेको अपाङ्ग बाल अस्पतालमा काम गरे।

त्यसपछि सन् २०११ मा काठमाडौं विश्वविद्यालयमा नै स्नातकोत्तर तहको एमएस अर्थोपेडिक्स सर्जरी विषय अध्ययन गर्न थाले। सन् २०१४ मा अर्थोपेडिक्स सर्जरी विषयको अध्ययन सकियो। त्यो बेला बीएण्डबी अस्पतालमा अर्थोपेडिक्स विषयको अध्ययन हुन्थ्यो रे।

यो अध्ययनपछि धुलिखेल अस्पतालमा नै अर्थोपेडिक्स सर्जरी विशेषज्ञका रुपमा डा. रविन्द्र काम गर्न थाले। अध्ययनको क्रममा उनलाई पेडियाट्रिक अर्थोपेडिक्स सर्जरीमा चासो थियो। हाडजोर्नी सम्बन्धी समस्या भएका बालबालिकाको उपचारमा उनलाई बढि केन्द्रीत हुन मन लाथ्यो।

धुलिखेलमा काम गर्दा पाका उमेरका व्यक्तिमा घुँडा खिइने, हिप खिइने जस्ता समस्या भएर हिँडडुल गर्नसमेत नसक्ने धेरै बिरामीको उपचार गरे उनले। विशेषगरी रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेजस्ता पायक पर्ने जिल्लाबाट त्यस्तो समस्या लिएर धेरै बिरामी धुलिखेल अस्पताल पुग्ने गरेको डा. रविन्द्रले अनुभव सुनाए।

हिँड्न नसक्ने पाको उमेरका व्यक्तिलाई हिँड्नसक्ने बनाउन पाइयो भने थप आत्मसन्तुष्टि मिल्ने उनले महसुस गरे। नभन्दै डा. रविन्द्रले सन् २०१६ मा अष्ट्रेलिया पुगेर एक वर्षसम्म जोर्नी प्रत्यारोपणसम्बन्धी तालिम लिने मौका पाए।

तालिम घुँडा र हिपको जोर्नी प्रत्यारोपणमा केन्द्रीत थियो। तालिमपछि नेपाल फर्केर धुलिखेल अस्पतालमा नै हाडजोर्नी प्रत्यारोपण विशेषज्ञका रूपमा काम गरे उनले।

त्यसपछि डा. रविन्द्र वि.सं. २०७६ मा लोकेसवामार्फत जोर्नी प्रत्यारोपण विशेषज्ञका रुपमा सरकारी जागिरमा प्रवेश गरे। उनको पहिलो पोष्टिङ राष्ट्रिय ट्रमा सेन्टरमा नै भयो। डा. रविन्द्र हाल राष्ट्रिय ट्रमा सेन्टरमा जोर्नी प्रत्यारोपण विशेषज्ञ तथा रिकन्स्ट्रश्सन सर्जनका रूपमा कार्यरत छन्।

उनकी श्रीमती पनि चिकित्सक नै रहिछन्। दुवै चिकित्सक भएकाले तीन वर्षे छोरालाई पर्याप्त समय दिन भने कठिन हुने गरेको उनले सुनाए।

कृतिम जोर्नी हालेर हिँड्न बनाउने डाक्टर
डा. रविन्द्र विशेषगरी पाको उमेरका व्यक्तिको हाडजोर्नी सम्बन्धी उपचारमा केन्द्रीत हुँदै जान थाले। विशेषगरी घुँडा र हिपको जोर्नी प्रत्यारोपण गर्नु डा. रविन्द्रकाे दैनिकी हो।

लड्ने, संक्रमण हुने, बाथ लगायत विभिन्न कारणले खिएको जोर्नीलाई कृत्रिम जोर्नी राखेर सामान्य अवस्थामा ल्याउनु उनको मुख्य काम हो। घुँडा तथा हाड जोर्नी मर्कने जस्ता समस्याको स्वास्थ्य उपचार गर्छन् उनी। 

हिँड्न नसकेर थला परेका सयौं व्यक्तिलाई कृत्रिम जोर्नी हालेर तथा उपचार गरेर हिँड्न सक्ने बनाएका छन् उनले। विशेषगरी ५० वर्षमाथिका उमेरका व्यक्तिमा घुँडा र हिपको जोर्नी खिइने समस्या बढि हुने उनी बताउँछन्।

सामान्यतया ५० भन्दा कम उमेरका व्यक्तिमा भने विभिन्न कारणले संक्रमण हुने लड्नेजस्ता समस्याका कारण जोर्नी खिइने समस्या हुने गरेको डा. रविन्द्रले सुनाए।

आफूले जोर्नी प्रत्यारोपण गर्दा अहिलेसम्म बिरामी र घुँडा नै गुमाउनु नपरेको र त्यस्तो अवस्था नमिन्तियोस् भन्नेमा उनी सचेत छन्।

सामान्यतया जोर्नी प्रत्यारोपण गर्दा आकस्मिक शल्यक्रिया नहुने र योजनाबद्ध रूपमा गर्न सकिने भएकाले प्रत्यारोपणका क्रममा बिरामी नै गुमाउनुपर्ने अवस्था सितिमिती ननिम्तने उनले सुनाए।

१० मंसिर, २०७९, १८:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।