निर्वाचन डायरी: काठमाडौंका मतदान केन्द्रमा 'लाइन' कम भएको अधिकांशको अनुभव

निर्वाचन डायरी: काठमाडौंका मतदान केन्द्रमा 'लाइन' कम भएको अधिकांशको अनुभव

काठमाडौंः काठमाडौंको निर्वाचन क्षेत्र नं. १ मा पर्ने बानेश्वर क्याम्पस मतदान केन्द्र र क्षेत्र नं. २ मा पर्ने वडा नं. ९ का अन्नपूर्ण बोर्डिङ स्कुल मतदान केन्द्र, गुह्वेश्वरी मतदान केन्द्र, ब्रिजवाटर स्कुल मतदान केन्द्र, बालापीठ मतदान केन्द्र पुग्दा शान्तिपूर्ण रूपमा मतदान भइरहेको देखिएको छ। ११ बजेसम्मको अवस्थामा उकेराकर्मी पुगेका यी मतदानस्थलमा निर्वाचन गतिविधि शान्तिपूर्ण र उत्साहपूर्ण देखिएको छ।

मतदान गर्न पुग्नेले यसपालि सहज रूपमा मतदान गरेको पनि बताए। मतदानका लागि लामो 'लाइन' नभएकाले सहज भएको मतदाताको भनाइ थियो।

बानेश्वर क्याम्पस मतदान केन्द्रमा मतदान गरेर बिहान करिब ८ः४५ मा बाहिर निस्केका ५० वर्षे भगवान थापाले सहज रूपमा मतदान गरेको बताए। ‘सहज, सुलभ र सौहार्दपूर्ण वातावरणमा मतदान गरेर आइयो’, थापाले भने। उनले प्रायः सबै निर्वाचनमा मतदान गर्दै आएको बताए।

काठमाडौं क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्यतर्फ नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रवीन्द्र मिश्र, एमालेका किरण पौडेल, नेपाल सुशासन पार्टीका रमेशप्रसाद खरेल र राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम लगायत ३२ जनाको उम्मेदवारी छ।

०००
बानेश्वर क्याम्पस मतदान केन्द्रपछि क्षेत्र नं. २ मा पर्ने वडा नं. ९ का अन्नपूर्ण बोर्डिङ स्कुल मतदान केन्द्र, गुह्वेश्वरी मतदान केन्द्र, ब्रिजवाटर स्कुल मतदान केन्द्र र बालापीठ मतदान केन्द्र पुग्दा त्यहाँ पनि शान्तिपूर्ण रूपमा नै मतदान भइरहेको देखियो।

बालापीठ मतदान केन्द्रमा मतदान गरेर ७२ वर्षे धनकुमारी केसी मतदानस्थलबाट बाहिर निस्किइन्। अधिकांश निर्वाचनमा मत दिँदै आएको बताउने ७२ वर्षे केसीले सहज रूपमा मतदान गरेको सुनाइन्। उनको अनुभवमा यसपालि अरू बेलाभन्दा मतदान गर्न लाइन कम थियो। ‘लाइन कम छ। सजिलो भएको छ’, उनले भनिन्।

निर्वाचित सांसदले बाटोघाटो, पानीलगायतको व्यवस्थापन गर्नुपर्ने उनको सुझाव छ।

उकेराकर्मीको अनुगमनमा अधिकांश मतदाता मतदान गरिसकेपछि मुस्कानसहित बाहिरिएको देखियो। आफूले भोट दिएको उम्मेदवारले परिवर्तन ल्याउने विश्वास उनीहरूमा देखिन्थ्यो।

यसपटक पत्रकारलाई भने मतदानस्थलका कम्पाउण्डभित्र प्रवेश गरेर फोटो लिन दिइएको छैन। सुरक्षा व्यवस्था चुस्त देखिन्थ्यो। तर, मतदानस्थल बाहिरबाट हेर्दा खासै लाइन भने देखिएको थिएन।

काठमाडौं क्षेत्र नं. २ मा एमालेका मणिराम फुँयाल, माओवादी केन्द्रकी ओनसरी घर्ती, राष्टिय स्वतन्त्र पार्टीकी सोविता गौतम, राष्टिय प्रजातन्त्र पार्टीकी कुन्तिदेवी पोखरेल (उपाध्याय) लगायत ३० जना प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार छन्।

४ मंसिर, २०७९, १३:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।