स्वतन्त्रको भ्रम छर्दै पार्टीका उम्मेदवार : आफ्नो पार्टीको नाम लुकाउँछन्, चिन्ह मात्र देखाउँछन्

स्वतन्त्रको भ्रम छर्दै पार्टीका उम्मेदवार : आफ्नो पार्टीको नाम लुकाउँछन्, चिन्ह मात्र देखाउँछन्

काठमाडौं : आगामी मङ्सिर ४ मा हुने संसदीय निर्वाचनमा अधिकांश राजनीतिक दल र उम्मेदवारहरू पार्टीको पहिचान खुलाउँदै मत माग्न सक्रिय छन्।

काठमाडौं-८ मा उम्मेदवार बनेका सुमन सायमी हाम्रो नेपाल पार्टीका उम्मेदवार हुन्। तर उनी आफ्नो प्रचार सामाग्री र प्रचार प्रसारको कार्यक्रममा पार्टीको नाम लिँदैनन् चुनाव चिन्ह मात्रै प्रचार गर्छन्।

स्थानीय तहको निर्वाचनमा काठमाडौं र पोखरा महानगरपालिका अनि धरान उपमहानगरपालिकाका मेयरका उम्मेदवारसहित अधिकांश स्वतन्त्र उम्मेदवारहरूले लौरो चुनाव चिन्ह पाए। बालेन्द्र शाह र हर्क साङपाङको जितसँगै लौरो चिन्ह चर्चित भएपछि स्वतन्त्र उम्मेदवारबारे कार्यक्रम गर्ने समूहले निर्वाचन आयोगमा पार्टी दर्ता गरेर चुनाव चिन्ह लौरो कब्जा गरे।

सोही पार्टीबाट सामयीसहित विभिन्न उम्मेदवारहरू चुनावी मैदानमा छन् लौरो चिन्ह लिएर। तर उनीहरू भोट नआउने भयले पार्टीको नाम लुकाउँछन् र स्वतन्त्र उम्मेदवार झैँ चुनाव चिन्ह मात्रै प्रयोग गर्छन्।

सायमी मात्रै हैनन् दलको उम्मेदवार बनेर पनि आफ्नै दलको नाम लिन डराउने उम्मेदवारहरू दर्जन हाराहारी देखिए। अर्का हुन् काठमाडौँ-१ को प्रतिनिधि सभाका उम्मेदवार रवीन्द्र मिश्र।

२०७४ को संसदीय निर्वाचनका प्रचार सामाग्रीमा मिश्रले चुनाव चिन्ह तराजुसँगै पार्टीको नाम समेत राख्ने गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेर वरिष्ठ उपाध्यक्ष भए उनी। काठमाडौं-१ बाट उम्मेदवार पनि बने। तर उनले खुलेर आफू राप्रपाको नेता भएको बताउन सकेको देखिँदैन।

उनले आफ्ना प्रचार सामाग्रीमा पार्टीको नाम राख्दैनन् केवल हलो मात्र राख्छन् र भोट माग्छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बम, अनि तोसिमा कार्कीले पनि चुनाव चिन्हको मात्र प्रयोग गर्छन्। पार्टीको नाम राख्दैनन्। बम काठमाडौँ-१ र कार्की ललितपुर-३ बाट प्रतिनिधि सभाको उम्मेदवार हुन्। मिलन पाण्डे, रमेश खरेल पनि पार्टीभन्दा चुनाव चिन्हकै प्रचार बढी गर्छन्।

पार्टीको नाम भन्दा मतदाता बिच्किने भय

पार्टीको नाममा प्रचार नगर्ने र पार्टीबाट उम्मेदवार बने पनि स्वतन्त्रको शैलीमा प्रचार गर्ने उम्मेदवारहरूमा पार्टीको नाम लिँदा उम्मेदवार बिच्किने भय देखिन्छ। गणतन्त्र र धर्मनिरपेक्षता स्वीकार गर्दै वैकल्पिक दल बनाउने भन्दै गत निर्वाचनमा मत मागेका थिए मिश्रले। मतदाताले पनि राम्रै साथ दिए उनलाई।

उनी यो पटकको निर्वाचनमा ठ्याक्कै उल्टो राजनीतिक लाइन बोकेको राप्रपाबाट उम्मेदवार बनेका छन्। उनी संलग्न दल निरकुंश राजतन्त्रको पक्षधर र दरबारियाहरुको स्वार्थमा केन्द्रित दलको रूपमा परिचित छ। राप्रपा धर्म निरपेक्षताको सट्टा हिन्दु धर्म र गणतन्त्रको सट्टा राजतन्त्रको वकालत गर्छ।

राप्रपाको उम्मेदवार भन्दा राजावादी उम्मेदवारको परिचय बन्दा स्वतन्त्र मत प्रभावित हुनसक्छ नै। त्यही छविबाट जोगिन उनी पार्टीको नाम प्रयोग गर्दैनन्।

सबैभन्दा धेरै भ्रम फैलाउने दलका उम्मेदवार देखिएका छन् हाम्रो नेपाल पार्टीका उम्मेदवार। उनीहरू सबै दलका उम्मेदवार हुन् तर स्वतन्त्र जसरी प्रचार गर्छन्। मतदातालाई भ्रमित पार्छन्।

यसमा काठमाडौं- ८ का उम्मेदवार सायमी पनि अगाडि नै देखिन्छन्। काठमाडौंको महानगरपालिकाको मेयरको उम्मेदवार बन्दा उनको चिन्ह थियो झ्याल। लौरो चिन्ह पाएका बालेनले जिते। उनले नारा दिए बुढेसकालमा टेकाउने, भ्रष्टाचारी सेकाउने।

उनीहरूले यही नारा प्रयोग गर्छन् भोट माग्दा।

विवेकशील साझाका पूर्व नेता बम राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हुन्। तर उनी पनि नाम प्रयोग गर्दैनन्। सामाजिक अभियन्ताका रूपमा परिचित उनी स्वतन्त्र उम्मेदवारझैँ देखाएर मतदाता भ्रमित बनाइरहेका छन्। पहिला उनले स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेका थिए। रवि लामिछानेले पार्टी गठन गरेपछि उनी त्यतै गए।

राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा तोसिमाको दाउ पनि पार्टीबाट चुनाव लड्ने तर मतदातालाई स्वतन्त्र उम्मेदवार झैँ देखाउने नै देखिन्छ। निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेर अदालतबाट थमौती भएपछि उनी घण्टी बजाउँदै प्रचारमा खटिएकी छिन्।

घण्टी बजाउँदै मतदाताको घर-आँगनमा पुगिरहेकी उनको पक्षमा आयोगले ध्वनि प्रदूषण हुन्छ भनेर घण्टी नबजाउन निर्देशन दिएको दाबी आयो। आयोगले तत्काल खण्डन गर्दै कार्कीको दाबी गलत रहेको बतायो।

विवेकशील नेपाली दल, साझा विवेकशिलहुँदै दलहीन बन्न पुगेका मिलन पाण्डे नयाँ दलको रूपमा दर्ता भएको साझा पार्टीबाट काठमाडौँ-९ मा उम्मेदवार बनेका छन्। उनी पनि पार्टीको नाम प्रयोग गर्न रुचाउँदैनन्। केवल चिन्ह मात्र प्रचार गर्दै भोट मागिरहेका छन्।

पूर्व डिआइजी रमेश खरेलले पनि काठमाडौं क्षेत्र नं १ बाट उम्मेदवारी दिएका छन्। उनी सुशासन पार्टीका अध्यक्ष हुन्। उनको प्रचार सामाग्रीमा पनि पार्टीको पहिचान देखिँदैन चुनाव चिन्ह मात्र देखिन्छ।

आयोगले सम्झाइरहन्छ तर टेर्दैनन् उम्मेदवार

विभिन्न दलबाट उम्मेदवारी दिएको तर प्रचारमा स्वतन्त्र उम्मेदवारझैँ दलको नामै प्रयोग नगर्ने विभिन्न दलका उम्मेदवारहरूलाई निर्वाचन आयोगले पटक-पटक स्पष्टीकरण सोधिरहेको छ। तै पनि भ्रम फैलाउने क्रम रोकिएको छैन।

सबैभन्दा धेरै स्पष्टीकरण पाउने पार्टी हो लौरो चिन्ह लिएको 'हाम्रो नेपाली पार्टी।' बिहीबार मात्र सो पार्टीका सिराहा क्षेत्र नं. २ का उम्मेदवार शिवशङ्कर यादवलाई आयोगले 'आफ्नो दलीय आबद्धता स्पष्ट नगरी स्वतन्त्र उम्मेदवार रहेको भनी प्रचारप्रसार गरेकोबारे आयोगले सोधेको स्पष्टीकरणमा अब गर्दिन भनेर पनि उस्तै व्यवहार दोहोर्याएको भन्दै पुन पत्र पठाएको छ।

दलीय आबद्धता स्पष्ट नगरी ‘काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहको साथ छ, लौरोको विजय निश्चित छ’ भनी प्रचारप्रसार गरेको भन्दै सोही पार्टीका अध्यक्ष अनन्तराज घिमिरे र काठमाडौँ-२ का उम्मेदवार कोषराज सुवेदीलाई स्पष्टीकरण सोधेको थियो।

यसबारे आयोगले शाहलाई समेत स्पष्टीकरण सोधेकोमा उनले आफ्नो समर्थन कुनै उम्मेदवारलाई नभएको र प्रचारमा आफ्नो नामको दुरुपयोग भएको उत्तर पठाएका थिए।

यही पार्टीका काठमाडौँ- ५ का प्रतिनिधि सभाका उम्मेदवार मधुसूदन पाठक, प्रदेश सभाका सिरहा-२ (क) का उम्मेदवार राजलाल यादव, २ (ख)का उम्मेदवार नागेशकुमार सिंह, काठमाडौँ- २ (क) का राजकुमार तिमिल्सिना, सर्लाही-२ का उम्मेदवार वीरवंश बैठा, सुनसरी-१ (क) का उम्मेदवार विजय कालिकोटे, रुपन्देही- ३ का उम्मेदवार प्रख्यात बन्जाडे र नुवाकोट- १ (ख) का दिपेश ढुङ्गानालाई राजनीतिक दलको आबद्धता नखुलाई स्वतन्त्र भनेर भ्रम फैलाएको भनेर स्पष्टीकरण सोधेको थियो।  

काठमाडौं-६ का उम्मेदवार शिशिर खनालले आफूलाई घण्टी निर्वाचन चिन्हबाट स्वतन्त्र उम्मेदवार भनी सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गरेको भन्दै आयोगले पत्र पठाएको थियो।

बालेनक्रेजको दुरुपयोग, समानुपातिक लोभ

अधिकांश नयाँ दलका उम्मेदवार अझ विशेष हाम्रो नेपाली पार्टीले बालेनको समर्थनको भ्रम फैलाएर मत तान्ने प्रयास गरेको देखिन्छ। सुमन सायमीबाहेक अन्य क्षेत्रका उम्मेदवारहरू प्रतिस्पर्धामा पनि देखिएका छैनन्।

तर लौरोमा समानुपातिकतर्फ राम्रै भोट आउने आसमा यसका अध्यक्षदेखि अन्य उम्मेदवारहरू समानुपातिकको सूचीमा बसेका छन्। समानुपातिकको पहिलो नम्बरमा सुमनको टिमबाट महानगर उपमेयरको उम्मेदवार बनेकी विद्या श्रेष्ठ छिन्।

दोस्रो नम्बरमा भीम उपाध्यायकी श्रीमती ललिता उपाध्याय छिन्। तेस्रो नम्बरमा पार्टीका अध्यक्ष घिमिरे छन्।

२४ कात्तिक, २०७९, २१:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।