मतदाता झुक्क्याउँदै निर्वाचन मत सर्वेक्षणमा दल निकट वकिल, पत्रकार र निजी कम्पनीका कर्मचारी

मतदाता झुक्क्याउँदै निर्वाचन मत सर्वेक्षणमा दल निकट वकिल, पत्रकार र निजी कम्पनीका कर्मचारी

काठमाडौँ : ललितपुर क्षेत्र नम्बर ३ का एक मतदातालाई ९७६२.....२ बाट कल गर्दै भनियो' म एमाले पार्टी कार्यालयबाट। यो पटक कुन पार्टीलाई मत दिनुहुन्छ भनेर बुझ्न खोजेको।'

चुनावी माहौलमा एकाएक अपरिचित नम्बरबाट कल गरेर गोप्य मतदाताबारे सोधिएको प्रश्न उनलाई मन परेन। भने'यो पनि सोध्ने कुरा हो? मतदान त गोप्य हो नि।'

उताबाट परिचय गोप्य रहने र पार्टीको आन्तरिक सर्वेक्षणका लागि मात्रै सोधेको भने पनि उनी आफ्नो मत खुलाउन राजी भएनन्। उताबाट पटक पटक गोप्यताको ग्यारेन्टी छ भने पनि उनले 'मतदान भनेको खुलाउने कुरा हैन' भनेपछि फोन काटियो।

फोन आउँदा उकेराकर्मी ती मतदातासँगै थिए। दुवैको संवाद रोचक भएकाले' कसले गरेको' भन्ने जिज्ञासामा उत्तर आयो' एमालेको पार्टी कार्यालयबाट रे। भोट कसलाई दिने भनेर पो सोध्छन्।'

फोन आएको नम्बरमा उकेराकर्मीले फोन गर्दा एक महिलाले उठाइन्।

'यो एमालेको केन्द्रीय कार्यालय हो? भन्ने प्रश्नमा उत्तर आयो' हैन, व्यक्तिगत नम्बर हो।'

अघि यही नम्बरबाट एमाले केन्द्रीय कार्यालयबाट फोन गरेको भन्दै भोट कुन पार्टीलाई दिने भनेर सोधिएकोबारे जानकारी गराएपछि ती महिलाले भनिन्' ए त्यो फोन त मैले नै गरेको हो।'

उनले दिएको जानकारी अनुसार उनी निजी कम्पनीकी कर्मचारी हुन्। उनलाई कम्पनीले अहिले एमालेको मत सर्वेक्षणका लागि खटाएको हो। फोन चैँ व्यक्तिगत नम्बर नै प्रयोग गर्न भनिएको रहेछ।

तपाईँलाई काम लगाउने कम्पनीको नाम के हो भन्ने प्रश्नको उत्तर दिन चाहिनन् उनले। उनले उकेराकर्मीलाई भनिन् 'कसैलाई पनि कम्पनीको नाम लिने छुट छैन।'

स्रोतका अनुसार फोन नम्बरदेखिका डेटा सङ्कलन र विश्लेषणको नेतृत्व एमाले उपमहासचिव विष्णु रिमाल र असगर अलीले गरिरहेका छन्।

एमालेलाई मदन भण्डारी फाउन्डेसन र पर्पल फाउन्डेसनले समेत सर्वेक्षणमा सघाइरहेको छ। एमालेले प्रचार र सर्वेक्षणमा पार्टी निकट प्रेस चौतारी नेपाल, युवा संघ र अनेरास्वियुको जनशक्ति समेत परिचालन गरेको छ।

जानकारस्रोतका अनुसार एमालेले वडा तहबाटै मतदाता सूची सङ्कलन गरी आफ्ना मतदाता, अरू पार्टीका कट्टर र मत प्रभावित पार्न सक्ने पहिचान गराएर केन्द्रमा सूची मगाउने गरेको छ।

सो अनुसार वडा तहबाटै आफ्नालाई हरियो, मत प्रभावित पार्न सक्नेलाई पहेँलो र अन्य पार्टीका कट्टर मतदाताको नाममा रातो रङ्ग लगाएर पठाउने गरेका छन्।

मत सर्वेक्षण टोलीले पहेँलो रङ्गमा परेका १८ देखि ३२ वर्षसम्मका मतदाता केन्द्रित भएर फोन गर्ने गरेको सचिवालयमा संलग्न स्रोतले उकेरालाई जानकारी दियो।

रिमालले एमालेले आन्तरिक सर्वेक्षण गरिरहेको स्वीकार गरे तर निजी कम्पनीका जनशक्ति प्रयोग गरेको अस्वीकार गरे। उनले अस्वीकार गरे पनि उकेरासँग एमालेका लागी मत सर्वेक्षणमा खटिएकी कर्मचारीसँगको संवाद सुरक्षित छ।

रिमालले एमालेले पार्टीको नीति तथा अनुसन्धान प्रतिष्ठानबाटै सर्वेक्षणको काम गरिरहेको बताए।

'निजी कम्पनीबाट हामीले सर्वेक्षण गरेको भन्ने कुरा गलत हो। यो कांग्रेसले गर्छ हाम्रो त सङ्गठनले नै गर्छ,' उनको दाबी छ।

कांग्रेसले खटायो वकिल र पत्रकार

अर्को प्रमुख दल नेपाली कांग्रेसले गठबन्धनले पाउन सक्ने मतको आन्तरिक लेखाजोखाका लागि एक निजी कम्पनीको सहयोग लिएको देखियो। आन्तरिक मत सर्वेक्षणमा संलग्न स्रोतका अनुसार निर्वाचन क्षेत्रको मतदाता सङ्ख्या र भूगोलको आधारमा सर्वेक्षणका लागि कतै एक जना देखि तीन जनासम्म यस्ता कर्मचारी खटिएका छन्।

एक सय ६५ वटै निर्वाचन क्षेत्रमा खटिएका उनीहरूको जिम्मेवारी गठबन्धनको उम्मेदवार रहेको क्षेत्रमा गएर मतदाताको मन बुझ्ने अनि सो अनुसार रिपोर्ट बनाएर केन्द्रमा पठाउने हो।

कांग्रेसले यो कामका लागि निजी कम्पनी मात्रै हैन कांग्रेसले भातृ सङ्गठनका सदस्यहरूलाई पनि प्रयोग गरिरहेको छ। यसका लागी नैनसिंह महरको नेतृत्वमा उप समिति नै गठन गरेको छ।

सो उपसमितिले प्रत्येक निर्वाचन क्षेत्रमा तीन जना वकिल अनि एक जना नेपाल प्रेस युनियनका पत्रकारसँगै सम्बन्धित निर्वाचन क्षेत्रबारे जानकार एक नेतालाई परिचालित गरेको छ।

उनीहरूको जिम्मेवारी पनि निर्वाचन क्षेत्र घुमेर मतदाताको मनस्थिति बुझेर केन्द्रमा प्रतिवेदन पठाउने हो। उनीहरूले दैनिक रूपमा सर्वेक्षणको प्रतिवेदन पठाउने र उपसमितिमा रहेकाहरूले सोही अनुसार विश्लेषण गरेर सम्बन्धित निर्वाचन क्षेत्रमा पठाउने गरेको जानकारस्रोतले उकेरालाई बतायो।

कांग्रेसले हरेक निर्वाचन क्षेत्रमा प्रचारमा सघाउन पार्टी निकट नेपाल प्रेस युनियनको जनशक्तिलाई समेत जिम्मेवारी दिएको छ। स्रोतका अनुसार जुन पत्रकारको जुन क्षेत्रमा प्रभाव छ उसलाई त्यही क्षेत्रमा जिम्मा दिएको र केन्द्रदेखि जिल्लातहसम्मै निर्वाचन क्षेत्र तोकेरै पत्रकारलाई खटाइएको छ।

प्रधानमन्त्रीको प्रत्यक्ष मातहतमा रहेको राष्ट्रिय अनुसन्धान विभाग, नेपाल प्रहरी र सशस्त्र प्रहरीसँगै निर्वाचनमा नेपाली सेनाको गुप्तचरी संयन्त्रले समेत निर्वाचन क्षेत्र अनुसार आङ्कलन गर्दै प्रधानमन्त्री कार्यालयमा प्रतिवेदन बुझाउँछ नै।

कांग्रेस निर्वाचन अनुगमन समिति सदस्य एवं केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीको कार्यकर्तामार्फत मत सर्वेक्षण गरिरहेको बताए।

गठबन्धनमै रहेको माओवादी केन्द्रले निर्वाचनमा पार्टीको अवस्था के हुन्छ भनेर मत सर्वेक्षण गर्न पार्टीसँग आबद्ध शिक्षक, विद्यार्थी र पत्रकार सङ्गठन प्रयोग गरेको छ। माओवादी स्थायी कमिटी सदस्य पूर्ण कुमारी सुवेदीले मत सर्वेक्षणको काम प्राध्यापक र शिक्षकहरूले गरिरहेको बताइन्।

एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले पार्टीले आन्तरिक मत सर्वेक्षणको काम नगरेको दाबी गरिन्। राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवारी दिनु अगाडि नै निजी कम्पनीबाट सर्वेक्षण गराएर उम्मेदवारी दर्ता गराएको थियो। सम्भावित मत परिणामबारे अहिले पनि निजी कम्पनीले गरिरहेको सोही पार्टी निकट एक नेताले जानकारी दिए।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले राजनीतिक दल, पत्रकार या निजी संस्था कसैले पनि कुन पार्टी या उम्मेदवारलाई मत दिनुहुन्छ भनेर सोध्नु निर्वाचन आचारसंहिता विपरीत हुने बताउँछन्।

'दल होस् या अन्य कसैले पनि एक्जीट पोल गर्न पाउँदैनन्। मिडिया हुन् या निजी संस्था हुन् मतदातालाई कस्लाई भोट हाल्नुहुन्छ भन्दै सोध्नु निर्वाचन आचारसंहिता विपरीत हो' उनले उकेरासँग भने।

यस्तो छ दलहरूको आङ्कलन

निर्वाचन प्रचारप्रसार र मतदातासम्म अजेण्डा लिएर दल र उम्मेदवार जाने समय अझैँ एक साता बाँकी छ। नेपालमा मुख्य त शून्य समयमा मतदाता प्रभावित पार्ने बढी गतिविधि हुने गरेको विगतको निर्वाचनमा देखिएको हो। तै पनि प्रमुख दलहरूले आफ्नो उम्मेदवारको अवस्था र प्रत्यक्ष र समानुपातिक मतको आङ्कलन गरेका छन्।

समानुपातिक मत आङ्कलनको आधार विगतको निर्वाचनको मत सङ्ख्या र स्थानीय तहको निर्वाचनमा पाएको मतलाई आधार बनाएको देखियो। प्रत्यक्षतर्फको सिट सङ्ख्याको आधार भने आन्तरिक मत सर्वेक्षणको नतिजा देखियो। यहाँ प्रस्तुत आँकडा आधार उकेराको सर्वेक्षण नभई पार्टीका आन्तरिक सर्वेक्षणमा संलग्न स्रोतबाट प्राप्त विवरण हुन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनावी सभाहरूमा पार्टीले प्रत्यक्ष र समानुपातिक दुबैतिर गरेर सुविधाजनक बहुमत आउने दाबी गरिरहे पनि एमालेकै आन्तरिक सर्वेक्षणमा भने दोस्रो दल हुने अङ्क गणित देखाएको छ। एमालेको आन्तरिक सर्वेक्षणबारे जानकारस्रोतका अनुसार गठबन्धनले आङ्कलन गरेको भन्दा बढी सिट आउने देखिन्छ। केही निर्वाचन क्षेत्रको दृश्य अझैँ प्रस्ट नभएकाले प्रत्यक्षमा ४५ सिट हाराहारी र समानुपातिकमा ३२ देखि ३४ सिट देखिएको छ।

'अहिलेसम्मको आँकडामा प्रत्यक्ष र समानुपातिकमा गरेर ८० सिट हाराहारी आउने देखिन्छ,' स्रोतले भन्यो' यसमा २-४ सिट तलमाथि हुनसक्छ। तर चमत्कार हुने देखिँदैन।'

एमाले उपमहासचिव रिमालले पार्टीको आन्तरिक सर्वेक्षणबारे कुरा गर्न अस्वीकार गरे। उनले भने' कति सिट आउँछ भन्ने कुरा हामी अहिले भन्दैनौँ।'

प्रतिनिधि सभाको निर्वाचनमा ९१ सिट लिएर गठबन्धनसँगै निर्वाचनमा होमिएको कांग्रेसका नेताहरूले पहिलो दल हुने दाबी गरिरहेका छन्। आँकडाले कांग्रेस पहिलो दल हुने त देखिन्छ। तर दोस्रो हुने दलसँगको मार्जिनमा ठुलो ग्याप हुने देखाउँदैन।

कांग्रेसको आन्तरिक सर्वेक्षणमा प्रत्यक्षमा ६० सिट पक्का देखिएको छ। १५ सिट थपिन पनि सक्ने उनीहरूको आङ्कलन देखिन्छ। तर पक्का छैन। अन्य सिट जित्न भने चमत्कारै हुनुपर्ने उसकै आन्तरिक सर्वेक्षणले देखाएको छ।

'अहिलेसम्मको अवस्थामा प्रत्यक्षतर्फ ७५सम्म पुग्न सक्छ कि भन्ने देखिन्छ। तर पक्कापक्की त्यही ६० सिट देखिएको छ,' जानकारस्रोतले भन्यो' राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाको समानुपातिक भोट बढ्ने देखिन्छ। त्यो हुँदा पनि कांग्रेसले समानुपातिकतर्फ ३५ सिट पाउने अहिलेसम्मको आँकडा छ।'

आन्तरिक सर्वेक्षणको नतिजाबारे कांग्रेसका महर पनि अहिले के कति सिट जित्न सक्छ भनेर भन्न नमिल्ने जवाफ दिए।

'जति सिट आए पनि कांग्रेस पहिलो दल हो। यत्ति मात्रै भन्न मिल्छ' उनले उकेरासँग भने।

कांग्रेसको आन्तरिक सर्वेक्षण र माओवादी केन्द्र र एकीकृत समाजवादीको आन्तरिक सूचनामा दुवै पार्टीको अवस्था दलका नेताहरूले गरेजस्तो बलियो देखिन्न। ४७ सिट पाए पनि ४८ सिटमा उम्मेदवारी दिएको माओवादीको प्रत्यक्षमा बढीमा ३५ र समानुपातिकमा १५ हाराहारी सिट आउन सक्ने आन्तरिक मत सर्वेक्षणले देखाएको छ भने एकीकृत १८ सिट पाएको एकीकृत समाजवादीले प्रत्यक्षमा बढीमा ८ र समानुपातिकमा ६ देखि सात सिट पाउन सक्ने देखिन्छ।

राप्रपासहितको नयाँ दलको अवस्था के होला?

२०७४ को निर्वाचनमा प्रत्यक्षतर्फ एक जना मात्र सांसद पाएर राष्ट्रिय पार्टी समेत बन्न नसकेको राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रत्यक्षतर्फ र समानुपातिक दुबैतर्फ सिट बढ्ने अन्य दलको आन्तरिक सर्वेक्षणमा देखिन्छ।

राजेन्द्र लिङदेन र ज्ञानेन्द्र शाहीको अवस्था बलियो देखिन्छ। रेखा थापा र रवीन्द्र मिश्र जित नजिक पुगेको देखाएको छैन। तर गठबन्धनका उम्मेदवारलाई टक्कर भने दिइरहेको पार्टीको आन्तरिक सर्वेक्षणले देखाएको छ। आन्तरिक सर्वेक्षणले राप्रपा यसपालि राष्ट्रिय पार्टी भएर समानुपातिकतर्फ पाँच सिट ल्याउने देखाएको जानकारस्रोतले बतायो।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारमध्ये जित्न सक्ने उम्मेदवार चितवन-२ का रबी लामिछाने मात्र देखिएका छन्। कांग्रेसको आन्तरिक मूल्याङ्कनमा सो क्षेत्रको दृश्य अझैँ सङलिसकेको छैन। त्रिपक्षीय प्रतिस्पर्धा नै देखिन्छ। तर अहिलेकै गतिमा लामिछानेको लोकप्रियता बढ्ने हो भने गठबन्धनका उम्मेदवारलाई सो क्षेत्रमा गाह्रो पर्ने उसकै सर्वेक्षणले देखाएको छ।

सोमबारसम्मको मत सर्वेक्षणमा राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रिय पार्टी बन्ने र समानुपातिक र प्रत्यक्ष गरेर पाँच सिटसम्म आउन सक्ने कांग्रेसको आन्तरिक आङ्कलन देखिन्छ। बालेन शाह र हर्क साङपाङको जितसँगै लोकप्रिय बनेको लौरो चुनाव चिन्ह लिन हाम्रो नेपाल पार्टी गठन गरेर निर्वाचनमा सहभागी उम्मेदवारमध्ये काठमाडौँ-८ का सुमन सायमीको अवस्था मात्रै प्रतिस्पर्धामा देखाएको छ।

सो पार्टी राष्ट्रिय पार्टी हुनसक्ने अवस्था देखिएको छैन। बरु कैलाली केन्द्रित नागरिक उन्मुक्ति पार्टीले राष्ट्रिय दल हुन आवश्यक मत ल्याउनसक्ने देखिए पनि प्रत्यक्षमा एक सिट ल्याउन भने गाह्रै देखिएको छ।

२२ कात्तिक, २०७९, १७:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।