२५ वर्षदेखि रुपन्देहीका मतदाताको एउटै माग, ‘ह्वस’ भनेपछि पाँच वर्ष फर्कँदैनन् उम्मेदवार

२५ वर्षदेखि रुपन्देहीका मतदाताको एउटै माग, ‘ह्वस’ भनेपछि पाँच वर्ष फर्कँदैनन् उम्मेदवार

बुटवल : देवदह नगरपालिका वडा नंं. ९ कालिका टोलका तुलाराम पाण्डे त्यहाँ बस्न लागेको २५ वर्ष भयो।

बागलुङ ढोरपाटनबाट बसाइ सरेर आएका उनले त्यहाँ लालपुर्जाविनाको एक बिघा जग्गा किनेर बसे। तर, अहिलेसम्म लालपुर्जा पाउन सकेका छैनन्।

यसअघिको निर्वाचनमा उनको माग लालपुर्जा थियो। अहिले पनि उनको माग लालपुर्जा पाउनुपर्ने छ। यसअघिको निर्वाचनमा उनलाई भेट्ने उम्मेदवारले लालपुर्जा दिन्छु भने तर दिएनन्।

यस पटक पनि नेताहरू उही वाचा दोहोर्याएका छन्। पाण्डेले पुरानै माग गर्नु, उम्मेदवारले पुरानै वाचाकबुल गर्नु हरेक चुनावमा भइरहेको छ।

‘आशा देखाएपछि हुन्छ कि भनेर बस्यो, हुँदैन,’ उनले सुनाए, ‘एउटा पार्टीले अर्कोलाई, अर्कोले अर्कैलाई दोष लगाउँदैमा ठिक्क छ, लालपुर्जा त सपना हुन लाग्यो।’

बुटवल ११ तिलोत्तमा नगरका शेरबहादुर दर्जीलाई यस पटक चुनावको कुनै मतलब छैन। बुटवलमा मजलुरी गर्ने उनलाई कुनै बेला चुनाव परिर्वतनका लागि हो भन्ने लाग्थ्यो। तर, अहिले उनलाई यो सबै ‘देखाउनकै लागि’ मात्र हो भन्ने लाग्छ।

उम्मेदवारसँग उनले सोध्ने एउटा प्रश्न छ– ‘लालपुर्जा सपना देखाएर अझै मत माग्ने कहिलेसम्म?’

दर्जीले यो प्रश्न नेतालाई सोध्ने मौका पाएका छैनन्। तर पनि उनलाई नेताको ‘रेडिमेड’ जवाफ कण्ठै छ– ‘हामीले तपाईंहरूलाई लालपुर्जा दिन्छौं, तपाईं हामीलाई मत दिनुस्।’

२०५९ सालदेखि तिनाउ खोला बगर किनारमा बसेका दर्जीले ३ पटक चुनावमा मत दिए पनि लालपुर्जा पाएका छैनन्। यसपालीको चुनावमा पनि उनको पुरानै माग छ लालपुर्जा। लालपुर्जाकै आश देखाएर नेताले मत मागे पनि प्रतिबद्धता पूरा नगरेकोमा उनको गुनासो छ।

माग लालपुर्जाको मात्र छैन, सडक, नाली, तटबन्ध, शिक्षा र स्वास्थ्यको पनि छ। तर, त्यी मागहरू पनि पुरानै हुन्।

तिलोत्तमा–६ पहुँनीकी सीता शर्माको फुसको छाना हटाएर टिनको छाना लगाउने धोको यसपटक पनि पूरा भएको छैन। यसअघिको निर्वाचनमा फुसको छाना हटाएर टिनको छाना लगाउने आश्वासन पाए पनि उनको कुरा नेताहरूले सुनेनन्।

‘कहिले टिन आउँछ, कहिले फुसको छाना हट्छ थाहा छैन,’ उनले भनिन्, ‘तर नेताहरू भने घर–घरमा मत माग्न आउन थाले।’

शर्मा जस्तै पश्चिम पहुँनी, पुर्व पहुँनी, सुन्दरबस्तीमा १० भन्दा बढि घरमा फुसको छाना छ। संघीय सरकारले नै फुसको छाना विस्थापित गर्ने योजना ल्याए पनि अहिलेसम्म त्यहाँ फुसको छाना हटेको छैन।

मतदातालाई लिखित ध्यानाकर्षण पत्र
बैंकले चर्को व्याज वृद्धि गरेपछि आत्तिएका उद्योगी व्यवसायीले गत हप्ता भैरहवामा रूपन्देही क्षेत्र नम्बर ३ प्रतिनिधि सभा उम्मेदवार एवं कांग्रेस नेता बालकृष्ण खाँणलाई ज्ञापन पत्र बुझाए।

१७ कात्तिकमा रोहिणी गाउँपालिकाको वडा नम्बर १ र २ तथा ओमसतियाको वडा नम्बर ४ का मतदाताले त्यहाँका उम्मेदवारहरूलाई सडक छिटो पूरा गर्नुपर्ने मागसहित ज्ञापन पत्र बुझाए।

रूपन्देही क्षेत्र नम्बर १ का प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारहरू प्रतिनिधि सभाका उम्मेदवार छविलाल विश्वकर्मा र प्रदेश सभा (२) का उम्मेदवार दधिराम न्यौपानेलाई उनीहरूले बसन्तपुर–गणेशनगर सडक छिटो पूरा गर्न माग गर्दै पत्र बुझाएका हुन्।

१५ कार्तिकमा एमालेका पोलिटब्युरो सदस्य तथा रूपन्देही क्षेत्र नं. २ (१) का उम्मेदवार लिला गिरीलाई करिडोर क्षेत्रका स्थानीयले विस्थापित नगर्न माग गर्दै ज्ञापन पत्र बुझाए। उनीहरूले आफूहरूलाई विस्थापित नगरी करिडोरको काम अघि बढाउन माग गरे।

घरदैलोमा पुगेका मतदाताले नेताहरूको प्रतिबद्धता खोज्न थालेका छन्। राजनितिक विश्लेषक क्रृषि आजात, नेताहरूको अविश्वासका कारण मतदाताले लिखित प्रतिबद्धता खोज्नु स्वभाविक रहेको बताउँछन्। चुनावको समयमा काम गर्ने वाचा गरेर ५ वर्षसम्म हराउने नेताहरूलाई मतदाताले लिखित प्रतिबद्धता माग्नु जायज भएको उनको तर्क छ।

‘प्रतिबद्धता पूरा गर्न प्रतिबद्ध छौं’
मतदाताको घरदैलोमा पुगेका उम्मेदवारले वाचा अनुसारनै काम गर्ने बताएका छन्। रूपन्देही क्षेत्र नं. २ का गठबन्धनका प्रतिनिधि सभाका उम्मेदवार केशवबहादुर थापाले मतदातासामू गर्नसक्ने कामको मात्रै प्रतिबद्धता जनाएको बताए।

मतदातालाई झुटो आश्वासन अहिलेसम्म नदिएको दाबी गर्दै उनले आधारभुत आवश्यकताको माग नै पूरा गर्न आफ्नो पहल हुने बताए।

‘हामीले ठूला सपना बाँडेका छैनौं, जति गर्न सकिन्छ त्यहि नै प्रतिबद्धता जनाएका छौं’, उनले भने।

शिक्षा, जनस्वास्थ्य, युवा तथा खेलकुद, लैङ्गिक समानता र समावेशिता, भौतिक पूर्वाधार, कृषि तथा वातावरणीय विकास लगायत जनताले प्रत्यक्ष लाभ लिने विषयलाई मुख्य प्राथमिकतामा राखेर मत मागेको बताउँदै थापाले आफु विजयी भएमा यी सबै काम गर्ने बताए।

सोही क्षेत्रबाट उम्मेदवार बनेका एमाले नेता विष्णु पौडेल पनि मतदातासामु आफूले यसअघि पनि झुटो आश्वासन नदिएको बताउँदै आफूले गरेका सबै काम मतदाताको माग बमोजिम नै भएको बताए।

कतिपय योजना दीर्घकालीन भएको र मतदाताले तत्काल देखिने कार्यलाई मात्र उपलब्धि मान्दा केही काम अधुरो देखिएको हुनसक्ने उनको भनाइ छ। बुटवलमा सबैभन्दा बढि उठेको सुकुम्बासी समस्या सुल्झ्याउन शक्तिशाली आयोग गठन गरेर समाधान गर्न लाग्दा मुद्दा मामिला गरेर अल्झनमा पारेको उनको दाबी छ।

गठबन्धनको सहयोगबाट स्वतन्त्र उम्मेदवार बनेका घनश्याम भुसालले पनि मतदातालाई आफूले गर्नै नसक्ने कामको प्रतिबद्धता नगरेको बताएका छन्। पाँच वर्षअघिका प्रतिबद्धता र अहिलेको यर्थाथ अवस्थालाई हेरेर नै मतदाताले विवेक प्रयोग गर्ने भन्दै उनले जनताको सेवक बन्छु भनेरै आफूले मत मागेको बताए।

२१ कात्तिक, २०७९, १०:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।