सुमन र बिराजले बढाए जीवनराम र शिवशुन्दरको धड्कन

सुमन र बिराजले बढाए जीवनराम र शिवशुन्दरको धड्कन

काठमाडौं : राष्ट्रिय पहिचान बनाएका नेता उम्मेदवार बनेकाले काठमाडौंको निर्वाचन क्षेत्र १, २, ४ अनि ५ को चर्चा र चासो बढि देखिन्छ।

तर, उम्मेदवारबीचको प्रतिस्पर्धा र आँकलनको कठिनाइ हेर्दा सबैभन्दा रोचक प्रतिस्पर्धा काठमाडौं–८ मा देखिन्छ। एमालेबाट स्थापित नेतृ अष्टलक्ष्मी शाक्यले पाएको टिकट अस्वीकार गर्दा त्यहाँ नयाँ उम्मेदवार आए शिवशुन्दर राजवैद्य।

एमालेबाट एकीकृत समाजवादीमा गएका जीवनराम श्रेष्ठ पाँच दलीय गठबन्धनबाट दोस्रो पटक सांसद हुने दाउमा छन्। पार्टीको आकारका आधारमा यी दुई नै मुख्य प्रतिस्पर्धी हुनुपर्ने हो। तर, हैनन्।

हाम्रो नेपाल पार्टीका सुमन सायमी अनि राष्ट्रिय स्वतन्त्र पार्टीका बिराजभक्त श्रेष्ठको उम्मेदवारीले दुईपक्षीय मात्र प्रतिस्पर्धाको अन्त्य गरिदिएका छन्।

स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरको मेयर उम्मेदवार बनेका सुमनले पाएको करिब १४ हजार मतमा ७० प्रतिशत काठमाडौं–८ कै हो।

त्यो बेला उनी झ्याल चुनाव चिन्हमा उठेका थिए। बालेन शाह अनि हर्क साङपाङले पाएको लौरो चुनाव चिन्ह परिचित भएपछि पार्टी दर्ता गरेर लौरो लिएकै पार्टीमा सायमी गएका छन्।

विवेकशील साझा पार्टीले गत संसदीय निर्वाचनमा प्रतिनिधि सभामा उम्मेदवार पठाउन नसके पनि प्रदेशमा पाएको समानुपातिक मतका आधारमा २ सांसद पायो। त्यसमध्ये एक हुन् बिराज।

बागमती प्रदेश सांसदको भूमिकामा पाँच वर्ष काम गर्दा उनी संलग्न पार्टी छिन्नभिन्न भयो। रवीन्द्र मिश्र राप्रपामा गए। मिलन पाण्डे विवेकशील अभियानतिर लागेर साझा पार्टीबाट उम्मेदवार बने। रन्जु दर्शना स्वतन्त्र उम्मेदवार बनिन्। बिराज स्वतन्त्र पार्टीमा गएर काठमाडौं–८ बाट प्रतिनिधि सभाको उम्मेदवार बने।

यी दुवैको उम्मेदवारीले एमाले र गठबन्धन दलका उम्मेदवारलाई मात्र प्रमुख प्रतिस्पर्धी रहन दिएन। आँकलन सहज हुन सकेन।

नतिजा उल्ट्यान माहिर जीवनराम
खेल क्षेत्रको राजनीतिमा जीवनरामको पहिचान चुनावको अंकगणितमा माहिर खेलाडीको छ। ओलम्पिक कमिटीको निर्वाचनमा पक्का पराजितको अवस्थालाई रातारात उल्ट्याएर उनी आफ्नै पार्टी एमालेका आधिकारिक उम्मेदवारलाई हराएर अध्यक्षमा निर्वाचित भएका थिए।

२०७४ को निर्वाचनमा एमाले उम्मेदवारको रूपमा काठमाडौं–८ बाट निर्वाचित हुँदा उनले माओवादीको साथ पाएर सो क्षेत्रका लोकप्रिय नेता नवीन्द्रराज जोशीलाई पराजित गरेका थिए। अहिले उनलाई माओवादी मात्र हैन नेपाली कांग्रेसको पनि साथ छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री समेत रहेका श्रेष्ठका लागि सोचेजति सहज भने छैन निर्वाचन जित्न। नयाँ दलका कारण एमालेको परम्परागत मतदाताको मत पाउन त्यति सहज छैन उनलाई। गठबन्धनका अन्य दलका मतदातालाई स्वतन्त्र पार्टी र सुमनले प्रभावित गराउने जोखिम उत्तिकै छ।

एमालेका उम्मेदवार शिवशुन्दर राजवैद्यका लागि यो पहिलो संसदीय निर्वाचन हो। काठमाडौं जिल्ला समन्वय समितिका पूर्वप्रमुख राजवैद्यको चुनौती समाजवादीमा एमालेको भोट जान नदिनु हो। तर यति मात्र भने होइन। पार्टीको परम्परागत मतदातालाई सुमन र बिराजको प्रभावबाट टाढा राख्नु पनि हो।

२०७४ को निर्वाचनमा चर्चाको केन्द्रमा विवेकशील साझाका रवीन्द्र रहेजस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारबीच रवि लामिछाने एकल चर्चामा छन्। उनी आफैँ चितवन–२ बाट उम्मेदवार बनेकाले उतै व्यस्त छन्। अन्यत्र जस्तो काठमाडौंमा उनको क्रेजको स्तर बलियो देखिएको छैन।

पहिला विवेकशीलबाट समानुपातिक उम्मेदवार बनेका बिराजका लागि कमजोर संगठनको बलमा एकल सक्रियताले जित निकाल्नु नै प्रमुख चुनौति हो।

स्थानीय तहको निर्वाचनमा चमत्कारिक मत पाएका सुमनको चुनौती झ्यालमा मत हालेका मतदातालाई लौरोमा मत दोहोर्याउनु हो। स्थानीय तहमा आफूले पाएको मत जोगाउन सके उनी बिजेता बन्न सक्छन्। तर, त्यति सहज छैन स्थानीय तहको मत जोगाउन।

काठमाडौंको कोर सिटी भनिने सो क्षेत्रमा रैथाने नेवार मतदाता निर्णायक हुन्। तर, जित निकाल्न अन्य समुदायको मत पनि चाहिन्छ नै। सायमीको पहिचान पछिल्लो समय संकीर्ण देखिन्छ।

कमेडियन अपूर्व क्षितिज र रूपा सुनारको मुद्दामा सुमनको व्यवहार संकीर्ण जातवादी देखियो। यसलाई नेवारी समुदायकै सचेत वर्गले समेत मन पराएको देखिएन। यसले उनले पाउने मतमा प्रभाव पर्ने जोखिम देखिन्छ।

निर्णायक गुठीमा चारै जनाको पहुँच
काठमाडौं–८ को अर्को बलियो फ्याक्टर हो गुठी। गुठीको निर्णय समेत निर्णायक हुने गरेको छ यो क्षेत्रमा।

तर, गुठीमा चारै उम्मेदवारको उतिकै प्रभाव देखिन्छ। मुद्दामा सक्रियता हेर्ने हो भने त बिराज र सायमी बलिया देखिन्छन्।

जात्रा, पर्व, गुठीको संरक्षण, सम्पदा संरक्षणको मुद्दामा बिराज र सुमन उत्तिकै सक्रिय छन्। सुमन सडक बिस्तारको विपक्षमा समेत छन्।

जीवनराम र शिवशुन्दर दुवैले महानगरका तत्कालीन मेयर विद्या शुन्दर शाक्यले गुठीका लागि गरेको कामको जस लिने प्रयास गर्नेछन्।

महानगरको मेयरको रूपमा सबै क्षेत्रमा सकारात्मक काम गर्न नसक्दा शाक्य आलोचित भए। तर, उनले काठमाडौंको भित्री सहरको गुठीका लागि भने सकारात्मक काम गरेका थिए।

भूकम्पमा भत्किएका गुठी घरको संरक्षण, जात्रा सन्चालन खर्च व्यवस्थापन अनि बाध्य यन्त्रदेखि भाषागत संरक्षणमा उनको कार्यकालमा सकारात्मक काम भएका थिए।

त्यसको जस जुन उम्मेदवारले पाउँछ उसको अवस्था बलियो हुनसक्छ। उनी आफैँ काठमाडौं–८ को प्रतिनिधि सभाको उम्मेदवार बन्न चाहन्थे। तर, पार्टीले जोखिम लिन चाहेन। शिवराम आए।

शाक्यसँगै काठमाडौं महानगरको उप मेयर सुनिता महर्जनको साथले पनि मत बढाउन पक्कै सघाउन सक्छ नै।

बलियो पार्टीकै उम्मेदवार छैन
काठमाडौं महानगरपालिकाका वडाहरू १३, १५, १९, २०, २३, २४ र नागार्जुन नगरपालिकाका वडाहरू ४ र ५ पर्छन् काठमाडौं–८ मा। 

२०७४को निर्वाचनमा जीवनरामले एमाले र माओवादीबाट १३ हजार ३ सय ९७ मत ल्याएका थिए। कांग्रेसका जोशीले १२ हजार ९ सय ५३ मत पाए।

पुकार बमले विवेकशील साझा पार्टीको उम्मेदवार बनेर ४ हजार ४ सय १४ मत पाएका थिए। बम यो निर्वाचनमा काठमाडौं–१ मा गएका छन्।

स्थानीय तह निर्वाचन परिणाममा कांग्रेस पहिलो पार्टी बनेको थियो। वडाध्यक्षको मतमा कांग्रेसले १० हजार ८ सय ७२, एमालेले ९ हजार २ सय ५३, एकीकृत समाजवादीले ५ हजार १ सय ४२, राप्रपाले ३ हजार २ सय ४०, स्वतन्त्रले १ हजार ३७  र माओवादी केन्द्रले १ सय ४२ मत पाएका थिए।

दलगत रूपमा जीवनरामको पार्टी तेस्रो स्थानमा छ। तर, उनलाई सत्ता गठबन्धनका पाँच दलको समर्थन छ। यसमा कांग्रेस र माओवादी समर्थक मतदाता निर्णायक देखिन्छन्।

दलको समर्थनलाई मतमा बदल्न सके जीवनरामलाई सहज हुनसक्छ। तर, एमाले उम्मेदवार पनि कमजोर भने छैनन्। अन्य उम्मेदवारलाई पराजित गरी बिराजलाई नतिजा आफ्नो पक्षमा ल्याउन कठिन देखिन्छ। स्थानीय तहको क्रेज फर्काउन सके सुमनको पक्षमा मतदाताले चमत्कार गराउन नि सक्छन्।

१९ कात्तिक, २०७९, १४:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।