सिंहराज जसले मूर्तिको बलमा छोरीलाई जर्मनमा नर्स, छोरालाई मास्टर पिस मूर्तिकार बनाए (फोटो कथा)

सिंहराज जसले मूर्तिको बलमा छोरीलाई जर्मनमा नर्स, छोरालाई मास्टर पिस मूर्तिकार बनाए (फोटो कथा)

काठमाडौं :  ४० वर्षदेखि सिकर्मी काम गर्दै आएका  सिंहराज तुलाधरले बुङमतिमै काठको झ्यालहरू बनाउन सिकेका हुन्। काठको झ्यालीसँगै उनले बिस्तारै काठमै मूर्तिहरू बनाउन सिके। पाँच कक्षासम्म पढेका तुलाधरले पैसाको अभावपछि पठाई छाडे अनि काठको मूर्ति बनाउने ठाउँमा मूर्ति बनाउन सिके।

बिस्तारै काठमा भगवान्हरूको आकार बनाउन थाल्छन्, उनी। पहिलो-पटक गणेशको मूर्ति बनाउँदा उनलाई धेरै गाह्रो भएको थियो। तीन-चार पटक नबन्दा, काठ सबै फाल्नु परेको थियो। तर हार नमानी उनले छैटौँ पटक काठलाई गणेशको आकारमा ल्याए अनि मक्ख परे।

बुङमतिमा  विदेशीहरू घुम्न कमै जान्छन्। तै पनि उनका अधिकांश ग्राहक विदेशी नागरिकै हुन्।

‘विदेशीहरूले मूर्ति देखेपछि कि किन्छन् कि यस्तो चाहियो भनेर अर्डर गर्छन्,' उनले उकेरासँग भने' ‘बौद्ध धर्मको मूर्तिहरू धेरै मन पराउँछन्।'

उनले बनाएको मूर्ति जर्मन, अस्ट्रेलिया अनि चीनसम्म पुगेका छन्। उनका ग्राहकहरूले मूर्ति विदेश पुर्याएर सजाएपछि फोटो खिचेर उनलाई पठाउँछन्। उनी मक्ख पर्छन्।

४० वर्षदेखि काठमा फरक-फरक मूर्तिहरू बनाउँदै आएका तुलाधर आफ्नो कमाइबाट भने सन्तुष्ट छैनन्। आफूले धेरै पढ्न नपाए पनि छोराछोरीलाई भने राम्रो शिक्षा दिन सफल भए उनी। ठुली छोरी जर्मनमा नर्स पढ्दै छिन्। छोरा भने उनीसँगै काठको मूर्ति बनाउँछन्।

'छोराले त मैले भन्दा राम्रो मूर्तिहरू बनाउँछ,' उनी मक्ख पर्दै भन्छन्' एकदम 'मास्टर पिस' मात्र बनाउँछ।'

अहिलेका युवाहरू काम गर्न अल्छी मान्ने गरेको भन्दै उनी भन्छन्' अहिलेका केटाहरू सजिलो काम मात्र गर्न खोज्छन्। डिटेलमा काम गर्नै मन पराउँदैनन्। खाली झ्याली मात्र बनाउन खोज्छन्। झ्याली र ढोका बनाउन सजिलो छ। तर ढोकामा हुने चित्र र मूर्ति बनाउन गाह्रो हुन्छ।'

१८ कात्तिक, २०७९, २०:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।