३१ वर्षदेखि नफेरिएको पश्चिम सुर्खेतको चुनावी अजेण्डा : नेता झुक्याइरहन्छन्, मतदाता पत्याइरहन्छन्

३१ वर्षदेखि नफेरिएको पश्चिम सुर्खेतको चुनावी अजेण्डा : नेता झुक्याइरहन्छन्, मतदाता पत्याइरहन्छन्

सुर्खेत : कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरसँग जोडिएका पश्चिम सुर्खेतका तीन पालिका। बराहताल र चौकुने गाउँपालिका तथा पञ्चपुरी नगरपालिका।

पालिकामा सडकको ट्र्याक खोलिएका छ छन्। पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुन्छन् यी सडकहरू। वर्षायाममा त पैदल यात्रा गर्न बाध्य हुन्छन् यहाँ स्थानीय।

विद्युत र सञ्चारको त कुरै नगरौं। अहिलेसम्म पनि राष्ट्रिय प्रशारण लाइन नजोडिँदा टुकी र सोलारले छोडेका छैन यहाँका नागरिकलाई। आकाशमा बादल लाग्दा मोबाइल नेटवर्क भाग्छ। यी दैनिकी हुन् पश्चिम सुर्खेतबासीका।

पहल गर्ने मतदातालाई आश्वासन दिँदै आएका छन्। पश्चिम सुर्खेतमा पर्ने सुर्खेत–२ (ख) मा ५६ हजार ४७ मतदाता रहेका छन्।

२०४८ सालदेखि हरेकपटक यी समस्या समाधान गर्ने वाचासहित मत मागेका सांसदले यहाँको समस्या अझै समाधान गर्न सकेका छैनन्। समस्यउा ज्यूँकान्यू छ।

हरेक पटकको चुनाव आउँदा विभिन्न पार्टीका उम्मेदवारहरूको घोषणा पत्रमा नछुट्ने कुरा हो, बड्डीचौर–बेनीघाट सडक कालोपत्रे गर्ने विषय। यो नारा पश्चिम सुर्खेतका लागि चुनाव जित्ने महत्त्वपूर्ण एजेन्डाका रूपमा स्थापित हुँदै आएको छ।

मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि पनि यहाँका राजनीतिक दलका तथा अन्य उम्मेदवार उही पुरानै बाटो, विजुली, सञ्चारको अजेण्डा लिएर मतदाता मााझ गएका छन्।

नेताबाट सधैँ आश्वासन मात्रै पाएका पश्चिम सुर्खेतका मतदातासँग अहिले पनि उम्मेदवारहरू उनै पुराना एजेन्डा लिएर त्यहि बाटोमा गाडी धकेल्दै, बाटो बनाउँदै मत मागिरहेका छन्।

पश्चिम सुर्खेतका बस्तीहरूमा आधारभूत सुविधासमेत पुगेको छैन। दशकौंदेखि यस भेगका उम्मेदवारका प्रतिबद्धता र मतदाताका माग उही छन्।

जनप्रतिनिधिले चुनावअघि गरेका वाचा पूरा नगर्दा मतदाताले विकासको अनुभूति गर्न पाएका छैनन्। ३१ वर्षदेखि पश्चिम सुर्खेतमा यहीक्रम दोहोरिरहेको छ । 

२०४८ को आम निर्वाचनको बेला भोट माग्दै आएका सबैजसो उम्मेदवारले ‘बड्डीचौरदेखि गुटु जोड्ने बाटो पक्की बनाउँछौं, त्यसलाई डोटीसम्म जोड्छौं र हरेकको घर–घरमा बिजुली पु¥याउँछौं’ भनेको अहिलेजस्तै लाग्छ पञ्चपुरी नगरपालिका–६ का ७० वर्षीय धनिराम विकलाई।

तत्कालिन समयमा सुर्खेतमा दुई वटा मात्रै निर्वाचन क्षेत्र थिए। डकको एजेण्डा लिएरै मतदाताको माझ पुगेका सुर्खेतको निर्वाचन क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका शिवराज जोशी १६ हजार २ सय ७४ मत ल्याएर विजी भए। लगत्तै २०४९ सालमा उनी यातायात सहायक मन्त्रीसमेत भए।

जोशी यातायात सहायक मन्त्री बनेपछि धनिरामलाई बड्डीचौर–गुटु सडक बन्ने आशा पलायो। तर, उनको सपना कहिल्यै पूरा भएन। यद्यपि त्यसबीचमा यस्ता थुप्रै निर्वाचनमा त्यहि नारा लिएर विजयी भएका नेताहरूको जीवनी भने मज्जैसँग फेरियो।

‘हरेक पटक यही सडक बनाउँछौं भनेर भोट माग्न आउँछन्, हामी पनि विस्वास मानेर भोट दिन्छौं,’ उनले भने, ‘तर, सडक बनाउँछौं भनेर भोट माग्ने नेता नै यातायात मन्त्री भए पनि सडक भने जस्ताको त्यस्तै छ।’

पश्चिम सुर्खेतले हालसम्म थुप्रै नेता जन्माए पनि यहाँको विकासका र जनताका मर्का बुझ्ने नेता नपाएको उनले गुनासो गरे। उनै शिवराज जोशी, त्यसपछि २०५१ र ०५६ मा पनि सोही निर्वाचन क्षेत्रबाट निर्वाचित भए।

जोशी २०५५ मा जनसंख्या तथा वातावरण राज्यमन्त्री र २०५७ मा सूचना तथा सञ्चार राज्यमन्त्री समेत भए। तर, चुनाव अघि प्रतिबद्धता गरे अनुसार न सडक सुधार गर्न पहल गरे, न सञ्चार र विद्युतीकरणमा लागि नै।

२०६४ को संविधानसभा निर्वाचनमा जोशीलाई पराजित हुँदा माओवादीका नरबहादुर विष्ट विजयी भए। उनले पनि सोही सडक कालोपत्रे गर्ने भनेर घोषणा पत्रमै प्रतिबद्धता जनाएका थिए। अहिले उनी राष्ट्रिय सभा सदस्य छन्। उनको प्रतिबद्धता पनि कागजमै सीमित भयो। फलस्वरूप २०७० को दोस्रो संविधानसभा निर्वाचनमा उनी पराजित भए।

२०७० मा विजयी नेपाली कांग्रेसका स्वर्गीय तप्तबहादुर विष्टले निर्वाचन जिते। उनको चुनावी एजेण्डा पनि बड्डीचौर–गुटु सडक कालोपत्रे गर्ने नै थियो। उनको कार्यकालमा विभिन्न ठाउँका नयाँ ट्र्याक, पुल र अन्य विकास निर्माण भए पनि यो सडक कालोपत्रे भएन।

२०७४ मा माओवादी र एमालेको चुनावी गठबन्धन थियो। एमालेबाट नवराज रावत संघीय सांसदमा र माओवादीबाट बिन्दमान विष्ट कर्णाली प्रदेश सांसदमा विजयी भए। नवराज संघीय स्वास्थ्य राजयमन्त्री हुँदा विन्दमान प्रदेशको अर्थमन्त्री भए।

उनीहरूको संयुक्त घोषणा पत्रमा पनि बड्डीचौर–बेनीघाट सडक कालोपत्रे छुटेन। अहिले पनि वाम–लोकतान्त्रिक गठबन्धन माओवादीबाट प्रदेश सभाको लागि उनै विन्दमान उम्मेदवार छन् भने प्रतिनिधि सभाका लागि क्षेत्र नम्बर २ बाट २०७४ मा पराजित नेपाली कांग्रेसका पुर्व केन्द्रीय सदस्य हृदयराम थानी उम्मेदवार छन्।

बड्डीचौरदेखि लगामसम्म ९४ किलोमिटर रहेको यो सडक खण्डमा अहिले पनि डोरी लगाएर गाडी तान्नुपर्ने, धकेल्नुपर्ने र ढुङ्गा हालेर पास गराउनुपर्ने र खोलामा पानीको बहाव बढ्दा घण्टौंसम्म कुर्नुपर्ने बाध्यता छ। डोटी, अछाम र कैलालीसहित पश्चिम सुर्खेतलाई राजधानी वीरेन्द्रनगरसँग जोड्ने प्रमुख मानिएको यो सडक वर्षौंदेखि उस्तै छ।

यो सडक हरेक पटकको निर्वाचनमा चुनावी नारा बनाएर नेताहरूको भजाइ खाने भाँडो बनाएको भन्दै यहाँका नागरिकहरू आक्रोशित भएका छन्। प्रदेशदेखि संघीय सरकारसम्म सत्ता र शक्तिमा सहज पहुँच यहाँका नेताहरूले बनाए पनि पश्चिमको पीडा भने उस्तै छ।

यही भूगोलबाट कांग्रेसका शिवराज जोशी, तप्त विष्ट र एकालेका नवराज रावत संघीय सरकारका राज्यमन्त्री भए। यस्तै, कांग्रेसका यज्ञबहादुर बुढाक्षेत्री र माओवादी केन्द्रका विन्दमान विष्ट कर्णाली सरकारका मन्त्री बने।

माओवादीका नरबहादुर विष्ट सांसद हुँदै राष्ट्रिय सभा सदस्य छन्। माओवादीकै पुष्पा घर्ती विष्ट कर्णाली प्रदेश सभाकी उपसभामुख बनिसकेकी थिइन्। आधा दर्जन हाराहारी मन्त्री र त्योभन्दा धेरै सांसद् जन्माएको पश्चिम सुर्खेतमा अहिलेसम्म चुनावी प्रतिबद्धताअनुसार नेताहरूले काम गर्न नसकेको स्थानीयको आरोप छ।

सुर्खेत क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता हृदयराम थानीको एजेन्डा पनि सडक पूर्वाधारको विकास र विद्युतीकरण नै छ। वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार रहेका थानी पश्चिम क्षेत्रमा रहेका अधुरा विकासलाई पूर्णता दिन आफ्नो उम्मेदवार रहेको बताउँछन्।

लाइसेन्स होल्ड गरेका सिमेन्ट उद्योग सञ्चालन गर्न पहल गर्ने, बड्डिचौरदेखि बेनीघाट र तेलपानीदेखि बर्दिया जोड्ने सडक निर्माणलाई प्राथमिकता दिने योजना उनको छ। यही एजेण्डामा सहमत जनाउँदै अगाडी बढेका छन् गठबन्धनका प्रदेश सभाका साझा उम्मेदवार विन्दमान विष्ट पनि।

एकीकृत समाजवादी पार्टीका प्रदेश सभा सदस्यका उम्मेदवार मोहन सिं बडुवालले पनि अरुले बदल्न नसकेको पश्चिम सुर्खेतलाई आफुले बदलेर देखाउने भन्दै मतदाताको घरदैलो पुगेका छन्। उनको चुनावी एजेण्डा पनि बाटो, बिजुली, खानेपानी र कृषि छ। यहाँ समाजवादी भने गठबन्धनबाट अलगिएर मित्रवत प्रतिस्पर्धा गर्दैछ।

यस्तै, सुर्खेत क्षेत्र नं. २ ‘ख’ मा एमालेबाट प्रदेशसभा सदस्यका उम्मेदवार ताराकेशर गौतमले पनि सडक र विद्युतलाई आफ्नो चुनावी एजेन्डा बनाएका छन्। उनले पश्चिम खण्डमा पर्ने मदनभण्डारी राजमार्ग दुई वर्षभित्र सम्पन्न गर्न पहल गर्ने मतदातालाई आश्वासन दिँदै आएका छन्।

पश्चिम सुर्खेतमा पर्ने सुर्खेत–२ (ख) मा ५६ हजार ४७ मतदाता रहेका छन्।

१८ कात्तिक, २०७९, १८:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।