मतदाता फकाउने उम्मेदवार अनेक तर्किव : कोही धान काटे झैँ गर्छन्, कोही कोदालो समात्छन्

मतदाता फकाउने उम्मेदवार अनेक तर्किव : कोही धान काटे झैँ गर्छन्, कोही कोदालो समात्छन्

सुर्खेत : आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि यतिबेला विभिन्न राजनीतिक दलबाट उम्मेदवारी दिएका उम्मेदवारहरू गाउँ बस्तीमा पसेर मतदाता फकाउन थालेका छन्।

वाम–लोकतान्त्रिक गठबन्धनको समर्थनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसेका हृदयराम थानी सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार छन्।

निर्वाचनमा आफ्नो पक्षमा जनमत पार्न यतिबेला थानीलाई मतदाता भेटघाटको एकदमै चटारो छ। वीरेन्द्रनगरमा घर भएका उनी अहिले सुर्खेत पश्चिम क्षेत्रका गाउँ बस्तीमा मतदाता भेटघाटमा व्यस्त छन्। उनीसँगै गठबन्धनका साझा उम्मेदवार माओवादीबाट क्षेत्र नम्बर २ प्रदेश (ख) को माओवादीबाट विन्दमान विष्ट पनि मतदाता भेटघाटमा व्यस्त छन्।

धान काट्ने, बाली भित्र्याउने र खनजोत गर्ने बेला भएर पनि घरदैलोमा मतदाता भेटाउन उम्मेदवारहरूलाई मुस्किल छ। मतदाता खोज्दै खेतबारी, मेलापात गर्ने ठाउँ र चिया चौतारोमै पुगिरहेका छन् उनीहरू।

जुम्लामा झन् यतिबेला किसानलाई मार्सी धान भित्र्याउने चटारो छ। कामको चापले मतदातालाई भने चुनावी रौनकले खासै छुन सकेको छैन।

वाम–गठबन्धनको संयुक्त बैठक, भेलासँगै मतदातामाझ चुनावी प्रतिबद्धता जनाउन र भोट माग्न भ्याइनभ्याइ भएको थानी बताउँछन्।

‘मंसिर ४ हाम्रा लागि महापर्व आउँदैछ। त्यसका लागि अहिले मतदाताका घर–घरमा गएर हाम्रा अजेण्डा सुनाउँदै भोट मागिरहेका छौं’, थानीले भने, ‘नागरिकहरूको खेतबारीमा गएर पनि मत मागिरहेका छौं। यसो गर्दा मतदातासँगको सम्बन्ध र आत्मीयता अझै मजबुत बन्छ।’

मतदाताले विकासका आधारभूत पूर्वाधार बाटो, बिजुली बत्ती र खानेपानीजस्ता आधारभूत सवालमा बढी चासो राख्ने गरेको उनको भनाइ छ।

यस्तै, एमालेका नेता ताराकेशर गौतम प्रदेशसभा सदस्यका उम्मेदवार बनेका छन्। उनी सुर्खेत क्षेत्र नं. २ प्रदेशसभा ‘ख’ मा वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार विन्दमान विष्टसँग चुनावी प्रतिस्पर्धा गदै छन्।

‘अहिले कामको सिजन भएकोले मतदाता घरमा भेटिदैनन्। मतदाता खोज्दै बारीमै पुग्नुपर्छ,’ उनले भने, ‘म अहिले पनि आफ्ना अजेन्डा सुनाउन र भोट माग्न खेतबारीमै पुगेको छु।’

सुर्खेत क्षेत्र नम्बर २ को प्रदेश ‘ख’ मा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष मोहनसिंह बडुवाल पनि वाम–लोकतान्त्रिक गठबन्धनको विरुद्धमा चुनावी प्रतिस्पर्धामा छन्।

सत्तारुढ गठबन्धनमा उनको पार्टी पनि छ। तर, उनी भने गठबन्धनसँग नै मित्रवत चुनावी प्रतिस्पर्धामा भिड्दै छन्। आफूलाई उपेक्षा गरिएको भन्दै गठबन्धन दलको निर्णयविपरीत उम्मेदवारी दर्ता गरेर चुनावी मैदानमा होमिएको उनी बताउँछन्।

बडुवाललाई पनि चुनावी चटारोले छोएको छ। घरदैलो अभियानमा रहँदै गर्दा आफ्ना योजना र प्रतिबद्धता प्रस्तुत गरिरहेका भेटिन्छन् उनी पनि।

‘पश्चिम सुर्खेतका लागि म कुनै नौलो अनुहार होइन, सबैले सकरात्मक प्रतिक्रिया दिन्छन्,’ उनले भने, ‘मेरो उम्मेदवारी कसैका विरुद्ध होइन समग्र पश्चिम सुर्खेतको विकास र जनताको पक्षमा काम गर्न हो।’

सुर्खेतका क्षेत्र नम्बर १ प्रतिनिधिसभा र प्रदेशसभाका वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरू पुर्ण बहादुर खड्का, कृष्ण जिसी, खड्क पोखरेल, कालीप्रसाद शाक्य, चुनावी भेटघाटमा व्यस्त छन् भने एमालेबाट यामलाल कँडेल, डण्डीप्रसाद शर्मा, ध्रर्व कुमार शाही, ठम्मर विष्ट, अमृत विसी पनि गाउँघरमै मत माग्न लागिरहेका छन्।

अधिकांश उम्मेदवारहरूले आफ्नो निर्वाचन क्षेत्रमा मतदातासँग पहिलो चरणको भेटघाट भ्याइसकेको छन्।

वाम–लोकतान्त्रिक गठबन्धनबाट जुम्ला प्रदेशसभा ‘क’ का उम्मेदवार बनेका ललितजंग शाही नेपाली कांग्रेसका कर्णाली प्रदेश समितिका सभापति हुन्। उनलाई गठबन्धनले साझा उम्मेदवार बनाएको छ। अगुवा नेता कार्यकर्तासँगै उनी पनि जनताको घरदैलोमा मत माग्न पुगिरहेका छन्।

काट्ने र बाली भित्र्याउने सिजन भएकाले अधिकांश ग्रामीण क्षेत्रका मतदाता खेतीबारीमा व्यस्त छन्। उम्मेदवारहरूले बारी र मेलापातमै पुगेर मतदातालाई चुनावी नाराले फकाउने गरेका छन्।

‘अहिले हामी घरदैलोमा केन्द्रित छौं, आफ्ना चुनावी अजेन्डा सुनाउन र मत माग्नै दिन बित्ने गरेको छ,’ उनले भने। 

गठबन्धनप्रति मतदाताहरूको बुझाइ सकारात्मक रहेको पनि उनको दाबी छ। उनकाविरुद्ध बागी उम्मेदवारी परेको छ। कांग्रेसकै महाधिवेशन प्रतिनिधि देवेन्द्र शाहीले उनीविरुद्ध बागी उम्मेदवारी दिएर चुनावी प्रतिस्पर्धामा होमिएका हुन्। उनीहरू दुवै आफ्नो पक्षमा जनमत बटुल्ने कसरत गरिरहेका छन्।

जुम्लामा झन् यतिबेला किसानलाई मार्सी धान भित्र्याउने चटारो छ। कामको चापले मतदातालाई भने चुनावी रौनकले खासै छुन सकेको छैन। त्यहाँका सबै उम्मेदवारहरू खेतबारीमै धाएर मतदाता रिझाउने प्रयासमा लागिरहेका छन्।

घनश्याम भण्डारी पनि प्रदेशसभा सदस्यका उम्मेदवार हुन्। नेपाली कांग्रेसका नेता भण्डारीलाई दैलेख क्षेत्र नं. २ प्रदेशसभा ‘क’ मा वाम–लोकतान्त्रिक गठबन्धनले साझा उम्मेदवार बनाएको छ। चुनावी अभियानमा व्यस्त उनी केही दिनयता घरदैलोमा जुटिरहेका छन्।

चाडपर्व र बाली स्याहार्नुपर्ने बेला भएकाले सबै मतदातासँग सहजै भेट भने भइरहेको छैन। भण्डारीले पनि आफूले मतदाता जहाँ भेटिन्छन् त्यही मौका छोपेर मत माग्ने गरेको जनाए। घरदैलो गर्ने क्रममा मतदाताहरूमा आशाभन्दा निराशा बढि पाइने गरेको उनले सुनाए।

‘विगतमा गरेका प्रतिबद्धता पूरा नहुँदा जनप्रतिनिधिप्रति भरोसा घटेको देखिन्छ,’ उनले भने, ‘मैले पूरा गर्न सकिने योजना र एजेन्डा सुनाएर मतदाताको मन जित्ने प्रयास गरिरहेको छु।’ 

निर्वाचन आचारसंहिताका कारण पनि दल तथा उम्मेदवारहरू अहिले आन्तरिक भेला र घरदैलो अभियानमा मात्रै केन्द्रित छन्। धान काट्ने र बाली भित्र्याउने सिजन भएकाले अधिकांश ग्रामीण क्षेत्रका मतदाता खेतीबारीमा व्यस्त छन्। उम्मेदवारहरूले बारी र मेलापातमै पुगेर मतदातालाई चुनावी नाराले फकाउने गरेका छन्।

जनमत आफ्नो पक्षमा पार्न चुनावी प्रचारलाई तीव्रता दिएका उम्मेदवारहरू अगुवा नेता र कार्यकर्ताको हुल बाँधेर घरदैलोदेखि मेलापात गर्ने ठाउँसम्मै पुग्ने गरेका हुन्। उम्मेदवारहरूले अघिल्ला निर्वाचनहरूको तुलनामा यसपालि प्रचार–प्रसारमा सामाजिक सञ्जालको प्रयोगसमेत व्यापक बनाएका छन्।

कर्णाली प्रदेशका सुर्खेत र दैलेखमा चार–चार तथा जाजरकोट, सल्यान, रुकुम पश्चिम, कालिकोट, जुम्ला, मुगु, हुम्ला र डोल्पामा दुई–दुई गरी प्रदेशसभामा २४ वटा निर्वाचन क्षेत्र छन् भने प्रतिनिधि सभातर्फ सुर्खेत र दैलेखमा दुइ–दुई र अन्य जिल्लामा एक–एक गरी १२ वटा निर्वाचन क्षेत्र छन्।

प्रदेशसभातर्फको २४ निर्वाचन क्षेत्र मध्ये कांग्रेस १२, माओवादी १० र समाजवादी २ गरेर वाम–लोकतान्त्रिक गठबन्धनदलहरूले भागवण्डा गरेका छन्। यस्तै, प्रतिनिधि सभा अन्तर्गतको १२ निर्वाचन क्षेत्रतर्फ माओवादी ५, कांग्रेस ४ र समाजवादीले ३ निर्वाचन क्षेत्र भागवण्डा गरेका छन्।

२०७४ मा वाम गठबन्धन हुँदा माओवादीको साथ पाएको एमालेले प्रदेशसभा अन्तर्गतका २४ क्षेत्रमध्ये १४ वटा सिट जितेको थियो। माओवादीले प्रदेशसभामा ९ सिट प्रत्यक्ष जितेको थियो। यस्तै कांग्रेसले एक सिट प्रत्यक्ष जितेको थियो।

१६ कात्तिक, २०७९, ०७:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।