दिपेन्द्र लामाको हालसम्मकै कमजोर फिल्म ‘दुई नम्बरी’

दिपेन्द्र लामाको हालसम्मकै कमजोर फिल्म ‘दुई नम्बरी’

दुई मिल्ने शिकारी साथीको कथा हो फिल्म ‘दुई नम्बरी’। उनीहरू जंगली कालिज मारेर बेच्छन् र जीविकोपार्जन गर्छन्। छिरिङ (दयाहाङ राइ), हिमाल (सौगात मल्ल)लाई बन्दुक चलाउन सिकाउने गुरु पनि हुन्।

पोखराको ल्वाङ गाउँमा छायांकन गरिएको फिल्ममा वास्तविक घटना (प्लेन दुर्घटना)लाई पनि समावेश गरिएको छ। त्यहि दुर्घटनालाई आधार बनाएर भुटानी नागरिक उगेन छोदेनलाई फिल्ममा प्रवेश गराइएको छ। हिमालको प्रेमिकाको रूपमा बालिग (उपासना सिहं ठकुरी) छिन्।

फिल्मको विषयवस्तु वन्यजन्तुको गैरकानुनी चोरी सिकारीमा केन्द्रित छ। लाइसेन्स प्राप्त बन्दुकधारी छिरिङ र हिमालको पुर्ख्यौली पेशा हो सिकार।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली बनिसकेपछि पुर्ख्यौली पेशा सिकारमा आएको उल्झनलाई फिल्ममा देखाउने कोसिस गरिएको छ। अभावलाई मेट्न गरेको लोभले कसरी विलाप गर्नसक्छ भन्ने देखाउन फिल्म सफल छ या छैन? यो भने हेरेपछि नै थाहा हुन्छ।

फिल्ममा दया र सौगातको केमेस्ट्री राम्रो छ। यी दुई एकसाथ पर्दामा देखिँदा दर्शकले आँखा हटाउन सक्दैनन्। फिल्ममा उपासना सिंह ठकुरीको अभिनय हेर्न लायक छ। प्रहरीको भूमिका निर्वाह गरेकी सुष्मा निरौलाको अभिनय राम्रो छ। बुद्धि तामाङ, भुटानी कलाकार उगेनको नेपाली डेब्यु अभिनयलाई राम्रै मान्नुपर्छ।

फिल्ममा एउटा मात्रै गीत छ। जसको प्रयोग सहि ठाउँमा भएको छ। ब्याकग्राउण्ड संगीतमा मध्यम काम भएको छ। सिनेमेट्रोग्राफी हेर्न लायक छ। लाइटिङमा पनि मध्यम काम भएको छ। यीबाहेक फिल्ममा खास केहि छैन।

दयाहाङ राई र सौगात मल्ल। यी दुवैलाई एउटै बाटो हिँडेको आरोप लाग्ने गरेको छ। न फिल्मको स्टोरीलाइन हेर्ने, न अभिनयमा फरकपना ल्याउने। पैसाका लागि जस्तो पायो त्यस्तै फिल्म साइन गरेको गर्यै गर्ने।

उस्तै आरोप लागेका दुई अभिनेता अभिनित फिल्म ‘दुई नम्बरी’ हलमा चलिरहेको छ। पुराना फिल्महरू लुट र कबड्डीमै रुचाइएको यी दुईलाई लिएर धेरै नै आश गरिएको थियो। तर, दुवैले पुरानै अभिनय शैलीलाई पछ्याएका छन्।

दयाहाङको न पात्र निर्माणमा फरकपना छ, न अभिनयमा। सौगातको पुराना फिल्महरूमा जस्तै पात्र निर्माणमा फरकपना छ। तर, अभिनय उस्तै लाउड। समग्रमा दुवै अभिनेताले पुराना आरोपलाई हुबहु पछ्याएका छन्।

लामो समय फिल्म समीक्षा गरेर निर्देशनमा होमिएका दिपेन्द्र लामाको अहिलेसम्मकै कमजोर फिल्म भन्दा फरक पर्दैन ‘दुई नम्बरी’लाई। पटकथादेखि प्राविधिसम्मै फिल्म चुकेको छ।

फिल्म लामो समयसम्म विभिन्न झमेलामा फसिरह्यो। २०७६ सालदेखि फिल्म बन्न सुरु गरेको हो। केहि दृश्य छायांकन भइसकेको फिल्म कोभिड–१९ का कारण रोकियो। जब लकडाउन खुलेर स्थिति सहज भयो, फिल्मका नायक पल शाह बलात्कारको आरोपमा प्रहरी हिरासत पुगे।

फिल्म निर्माणमा ढिलाइ भएको भन्दै नायिका वर्षा राउतले पनि हात झिकिन्। अन्तिम अवस्थामा पल शाहका ठाउँमा सौगात मल्ल आइपुगे, वर्षाको ठाउँमा उपाशना सिंह ठकुरी। लामो समय थन्किएको कथा र पात्रमा आएको परिवर्तनले फिल्म पुर्नलेखन गर्नुपर्यो।

धेरै मेहनतका साथ फिल्म हलसम्म आइपुग्यो। सायद यिनै झमेलाका कारण हुनसक्छ, फिल्मको मुल कथावस्तु के हो ठम्याउनै मुस्किल पर्छ। फिल्मले वन्यजन्तु चोरी शिकारीको विषय उठान गर्ने भनिएको थियो। तर, फिल्म विषयमा कमै गएको देखिन्छ।

आन्तरिक द्वन्द्वमा फसेका पात्रहरूको निर्माणमै फिल्म चुकेको छ। फिल्मले दुई नम्बरीको कथा भन्नेतिर भन्दा दाजु–भाइको सम्बन्ध, साथी–साथीको सम्बन्ध स्थापित गर्नतिर धेरै समय खर्च गरेको छ। हसाउनका लागि दुई अर्थ लाग्ने संवाद प्रयोग गर्दा इमोसनको कनेक्सन टुटेको छ। कलाकार रोएको सिनेमा दर्शकलाई हाँसो लाग्नु पक्कै फिल्मको कमजोरी हो।

हँसाउने दृश्यमा दर्शक रमाइलो मान्छन्। तर, ती बाहेकका अन्य पटकथामा दर्शक फिल्मभित्र छिर्नै सक्दैनन्। छिरिङलाई ‘भोटे’ र हिमाललाई ‘आँडे’ उपनाम दिइएको छ। यी उपनाम नै दर्शकलाई स्वीकार्न मुस्किल पर्छ। हिमाल आर्मीमा अण्डकोष ठूलो सानो भएको भन्दै रिजेक्ट भएको पात्र भएकाले आँडे भनिएको र छिरिङ जातकै आधारमा भोटे भएको बताइएको छ।

भुटानी कलाकार उगेनलाई किन फिल्ममा राखिएको भन्ने प्रष्ट्याउनै फिल्म असफल छ। उनको पात्रनिर्माण एकदमै कमजोर छ। उगेन छिरिङको जिन्दगीमा आउनेबित्तिकै एक्कासी उसमा परिवर्तन भएको देखाउनु पनि अस्वभाविक लाग्छ।

फिल्ममा हिमाल र उसको भाइको सम्बन्ध नाटकीय छ। त्यसैले वियोगान्त दृश्यमा पनि वियोगको अनुभूति गर्न दर्शकले सक्दैनन्। फिल्मको मुख्य पाटो पटकथामा धेरै समस्या छ। त्यसैले जति नै मेहनत गरे पनि फिल्म राम्रो बन्न सकेको छैन।

एडिटिङमा समस्या छ। हिमालको भाइलाई पहिलोपटक देखाउँदा ब्याकग्राउण्ड ब्लोर भएको दृश्य लामो समयसम्म चल्छ। निकै पछि मात्रै बाँसुरी अनि भाइ देखिन्छ। यी र यस्ता दृश्य फिल्ममा धेरै छन्। जसलाई काँटछाट गरेको भए मज्जा आउँथ्यो।

सबैभन्दा चित्त नबुझेको पाटो भनेको महिला कलाकारको प्रयोग पनि एक हो। ‘कालिजलाई हानेको गोली गोरिज्लाई लाग्यो’, ‘फुल दिने पोथीले नै हो’ जस्ता संवाद फिल्ममा प्रयोग गरिएको छ। लोभ पलाउन भूमिका खेल्ने पात्रका रूपमा महिलालाई देखाउनु पुरातन सोचबाट माथि उठ्न नसक्नु हो।

फिल्ममा एक दृश्य छ– अर्की श्रीमतीसँग बसेको श्रीमान्लाई छोरीले हात समातेर आँगनमा ल्याएपछि भएको संवाद। यी र यस्ता संवादले फिल्म पूरै किरकिरे लाग्ने बनेको छ। छिरिङले खाना मिठो पकाउन सिपालु छ भन्दा आप्पा सम्झनु र हिमालको भाइले भात पकाउँदा आमा सम्झनुजस्ता दृश्य फोकटका छन्।

दिपेन्द्र लामाले निर्देशन गरेको यो चौथो फिल्म हो। ‘घामपानी’, ‘गोपी’, ‘छ माया छपक्कै’ जस्ता फिल्म निर्देशन गरेका लामाको यो सबैभन्दा कमजोर फिल्म हो। 

२२ असोज, २०७९, १५:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।