‘कुछी भ्वय’ खाएर महाअष्टमी पर्व मनाउँदै नेवार समुदाय

‘कुछी भ्वय’ खाएर महाअष्टमी पर्व मनाउँदै नेवार समुदाय

काठमाडौं: दशैंको महाअष्टमीको दिन आज साँझ नेवार समुदायले कुछी भ्वय खाएर मनाउँदै छन्। नेपाल भाषामा कुछीको अर्थ दुई माना हो भने भ्वयको अर्थ भोज हो।

महाअष्टमीको दिन विशेष गरेर केराको पातमा भोज खाने चलन छ। सो समुदायमा कुछी भ्वयको विशेष महत्त्व छ।

कुछी भ्वय खान तरकारीका परिकार मात्रै १२ थरी चाहिन्छ। छोयला पनि १२ टुक्रा राखिन्छ। केराको पातमा दुई माना चिउराका साथै साग, आलु, छोयला, हिकासा (रक्ती), बारा, अण्डा, माछा, फर्सी, ख्यपी च्यपी (काँचो फर्सीका स–साना दुई थरी चाना), अदुवा, बोडी, केराउ, मस्याङ घिरौला, भटमासलगायतका परिकार राखेर कुछी भ्वय खाने गरिन्छ।

नेवार समुदायमा जुठो परे पनि कुछी भ्वय् खानुपर्ने मान्यता छ। जुठो परेको घरमा मासु खान नहुने भएकाले मासुको सट्टा अदुवा राख्ने र मासको बाराको सट्टा केराउको बारा राख्ने प्रचलन रहेको छ।

दुई माना चिउरा राखेर खाने भएकाले यस भोजको नाम कुछी भ्वय रहन गएको एक थरीको भनाइ रहेको छ भने अर्को थरी संस्कृतिकर्मीले कुलका सबै एक ठाउँमा भेला भएर खाने भोज भएकाले यसको नाम कुलछी भ्वय हुन गएको र पछि अपभ्रंश भएर कुछी भ्वय हुन गएको भनाइ रहेको छ।

आजै सो समुदायले घरघरमा दशैंको मासु भित्र्याएका छन्। समुदायमा टोल छिमेक मिलेर संयुक्तरूपमा राँगो काटेर भाग लगाउने र घरघरमा मासु भित्र्याउने प्रचलनअनुसार आज दशैंको मासु भित्र्याइएको हो।

मासु भित्र्याउँदा घरको मूलढोकामा रगत छर्कने गर्दछ भने मासुलाई मन्छाएर मात्र घर भित्र्याउने प्रचलन रहेको छ।

१७ असोज, २०७९, ०७:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।