दशैं र भिसा सँग–सँगै (फोटोफिचर)

दशैं र भिसा सँग–सँगै (फोटोफिचर)

बुटवल : दशैंको रौनक गाउँघरमा बढेको छ। शहरमा भएकाहरू दशैं मनाउन गाउँ पुगेका छन्। कपितय पुग्ने क्रममै छन्। विभिन्न पेशा, व्यवसाय र रोजगारीका लागि विदेश गएकाहरू पनि दशैंका लागि घर फर्किएका छन्।

नेपाल फर्किएकाहरू हर्षोउल्लासले दशैं मनाउने तयारी गरिरहँदा कतिपय युवा भने मुखमै आएको दशैंलाई चटक्क छाडेर विदेश जान बाध्य भएका छन्। भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अहिले पनि दैनिक ५० भन्दा धेरै युवा वैदेशिक रोजगारीका लागि परदेशिने गरेका छन्।

भैरहवाबाट दैनिक कुवेतको जजिराले उडान भर्छ। दशैंको समयमा दैनिक १ सय ५० भन्दा बढि नेपाल आइरहँदा नेपालबाट अहिले दैनिक ५० भन्दा बढि विदेश जाने गरेको विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले बताए। आइतबार मात्र जजिराको विमानबाट १६० जना नेपाल आउँदा ८७ जना विदेश गएका थिए। तीमध्ये २७ जना भिजिट भिसाका थिए।

बागलुङ जलजलाका अर्जुन थापाले दशैं नजिक आए पनि भिसा पनि दशैंसँगै आउँदा विदेशिन लागेको बताए। रोजीरोटीका लागि चाडपर्व भनेर बस्न नसकेको उनको भनाइ छ।

‘परिवार छ, घर छ, साथीहरू यहिँ छन्, तर पनि रोजीरोटीका लागि विदेशिनुको विवशता कसले बुझ्ने?’, उनले भने।

पाल्पा रैनादेवी गाउँपालिका–५ का ओम बुढा आमा विरामी भएपछि एक महिनाअघि घर आए। कतारमा ड्राइभिङको काम गर्ने उनले त्यहाँ १४ वर्ष विताएका छन्।

‘आमा विरामी भएपछि आएँ, आमालाई बचाउन सकिएन,’ उनले भने, ‘आमाको मृत्युपछि टीका पनि लगाउन भएन, परिवारसँग बस्न मिल्ने भए पनि बिदा सकिँदा फर्कनुपर्यो।’

दशैं लागेसँगै विमानस्थलबाट अहिले रोजगारीका अलवा घुम्न जानेहरू पनि बढेको विमानस्थल प्रशासनले जनाएको छ। दशैंमा घुम्नकै लागि भनेर घटस्थापनादेखि आइतबार विहानसम्म १५० जनाभन्दा बढी बाहिरिएका छन्।

 

१६ असोज, २०७९, २१:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।