फोटो कथा

सिकाली जात्राको सौन्दर्य : अन्त पर्वको माहौल जम्दै जाँदा जहाँ दशैँनै सकिन्छ


ललितपुर : हिन्दु धर्मावलम्बी दशैँको रौनकमा रङ्गिँदै जाँदा खोकनालाई त्यसले छुँदैन। खोकनावासी यो बेला सिकाली जात्रामा व्यस्त हुन्छन्। दशैँको रौनक दशमी हो। तर खोकनामा भने दशमीका दिन उनीहरूको जात्रा सकिन्छ। अन्य मान्यजनबाट टिका लगाउने दौडधुपमा हुन्छन्। उता सिकालीको जात्रामा देवगण बनेकाहरू आराम गर्न बस्छन्।

आज दशैँको षष्ठिका दिन, सिकाली मन्दिरमा रुद्राणी देवगणहरूले नृत्य प्रस्तुत गरे। आज स्वस्थानी व्रत कथामा उल्लिखित दक्ष प्रजापतिको यज्ञ प्रसङ्ग झल्कने नाच भएको थियो। 

सतीदेवीले अग्नि कुण्डमा होमिएर आत्मदाह गरेपछि भगवान् महादेव आक्रोशमा आएर वीर, भद्र, महाकाली जटाबाट निस्किएर हवन कुण्ड नष्ट गर्ने कथालाई प्रस्तुत गरिएको थियो। 

आश्विन शुक्ल पक्ष तृतीयाबाट सुरु हुने खोकनाको सिकाली जात्रा नवमीसम्म चल्छ। जात्रा चलाउन खोकनामा त: , सलाँ र ज: गुठी छन्। उनीहरूले नै सिकालीमा  सिद्धिकाली जात्रा चलाउँदै आएका छन्। 

तृतीयाको चार दिनअघि नै त: गुठी र सलाँ गुठीका चार–चार कुमारले पूजा सामग्री सङ्कलन गरेपछि सिकालीमा तान्त्रिक विधिअनुसार कुमारहरूको चार दिन विशेष पूजा गरिन्छ। सिकाली चौरमा रहेको मन्दिरमा विशेष पूजा हुन्छ। 

सिकाली जात्राको नाचमा गुठीका महर्जन र डङ्गोल परिवारका ४६ सदस्य देवगणको भूमिकामा हुन्छन्। देवगणका १४ सदस्यले रुद्राणी, भैरव, कुमारी, गणेश, ब्रह्मा, विष्णु, महादेव, इन्द्राणी, वाराही, चामुण्डा काली, महालक्ष्मी, कुमार, हनुमान र शक्ति कुमारको भूमिका निर्वाह गर्छन्। 

बाँकी ३२ जनाले कलश बोक्ने, धूप दिने, खाना खुवाउने, बाजा बजाउने भूमिका निर्वाह गर्छन्। तृतीयाको दिन खोकनाको पश्चिमतर्फको मूल प्रवेशद्वार बाहिर तीनै वटा गुठीबाट ल्याइएको एक–एक वटा  राँगो काट्छन्। राँगाको रगत सिकाली चौरमा रहेको पुरानो मन्दिरमा  चढाइन्छ। 

चतुर्थीको छोयलाभू मनाइन्छ। छोयलाभू मनाउन तीनै वटा गुठीका सदस्यहरूको हरेक घरका घरमूली आएर भोज खान्छन् र तीन वटै गुठीबाट तीन–तीन वटा घ्याम्पो सङ्कलन हुन्छ। पञ्चमीका दिन रुद्रायणी मन्दिरको मूर्ति बाहिर ल्याइन्छ। 

रुद्रायणी मन्दिरबाट देवीदेवतालाई बाहिर निकालेर खटमा राखिन्छ। खटमा राखिएका देवीदेवतालाई सिकाली मन्दिरमा लगेर प्रतिस्थापन गरिन्छ। घरेलु मदिरा रहेको तीन वटा घ्याम्पो दुई/दुई जनाले बोकेर सिकालीमा लिएर जान्छन् र ४६ जना देवता सलाँ: गुठीमा पोसाक, मुखुण्डो लगाएर खोकना वरिपरि घुम्छन्। बेलुका डबलीमा वीर, भद्र र महाकालीलाई राँगो बलि चढाइन्छ। 

सप्तमीका दिन डबलीमा  कुमार र गणेशको सुमेरु पर्वत परिक्रमा कथामा आधारित लीला नाच देखाइन्छ। यो लीला नाच १४ जनाले प्रस्तुत गर्छन्। रुद्रायणी मन्दिरबाट मुखुण्डो लगाएका १४ जना पात्रलाई दुई–दुई जनाले पाखुरामा समातेर उफार्दै डबलीमा लग्छन्। 

यसै दिन महिषासुर वध कथामा आधारित दैत्य सङ्ग्राम नाच देखाइन्छ। अष्टमीको दिन तीन वटै गुठीको जात्रा सम्पन्न हुन्छ। इनावाहरू तान्त्रिक विधिअनुसार मन्त्र उच्चारण गर्दै गाउँ घुमेर जात्राको समयमा गुठीमा लगेका मन्दिरका मूर्ति पुनः प्रतिस्थापन गरिन्छ। 

नवमीका दिन १४ देवताको मुखुण्डो मन्दिरको भित्तामा टाँगेर तान्त्रिक विधिद्वारा मुखुण्डोहरू पुनः चार वटा बाकसमा थन्काइन्छ। जात्रा थन्क्याएपछि दशमीको दिन आराम गर्छन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रकाशमानको एक सय २५ मतान्तरको हाँसो

२०७४ मा मिश्र गणतन्त्र र धर्म निरपेक्षता स्वीकार गर्दै वैकल्पिक राजनीतिको बर्को ओढेर चुनावी मैदानमा आएका थिए।....

लौ छुट्टिउँ है त अब ! (फोटो कथा)

एक महिनाभन्दा लामो समय सुरक्षामा खटिएका उनीहरूलाई नेपाल प्रहरीले प्रमाणपत्रसहित आज बिदाइ गरेको हो।

बुलेट विद्रोहबाट उदाएकी पम्फालाई ब्यालेट विद्रोहबाट हराउने तोसिमाको सात मुड

तोसिमाले ३१ हजार १ सय ३६ मत पाउँदा एमालेका उम्मेदवार अमृत खड्काले १२ हजार ९ सय ६३....

हेलो... अँ जितेँ जितेँ : प्रत्यक्ष निर्वाचनमा ह्याट्रिक हानेका गगनका छ मुड

चुनाव प्रचारका क्रममा उनले आफू भावी प्रधानमन्त्रीका लागि भोट माग्न आएको भन्दै कांग्रेसको संसदीय दलको नेताका लागि....

भोली शतबीज छर्न आज पशुपतिमा जाग्राम (फोटो फिचर)

देशभरका मानिस यसदिन पितृउद्धारको उद्देश्यले पशुपतिमा आउने गर्छन्।  शतबीज रोपणले पितृको उद्धार हुन्छ भन्ने जनविश्वास रहेको छ। अन्य शिवालयमा भन्दा पशुपतिनाथमा गरिने शतबीज रोपणको ठूलो....