डा. अरुणको उपचार अनुभव : जब घाँटीमा प्वाल पारिएका युवा बोल्न थाले...

डा. अरुणको उपचार अनुभव : जब घाँटीमा प्वाल पारिएका युवा बोल्न थाले...
तस्बिर- कृष्पा श्रेष्ठ

काठमाडौं : वीर अस्पतालका नाक, कान, घाँटी विशेषज्ञ डा. अरुण केसीले कयौं विरामीको उपचार गरेका छन्। जसमध्ये घाँटीमा प्वाल पारिएका युवाको डेढ वर्षअघि शल्यक्रियापछि आएको आवाजको प्रसङ्ग भने उनी कहिल्यै भूल्दैनन्।

करिब २८ वर्षका ती युवालाई वीर अस्पताल पुर्याइएको थियो। विदेशमा कुनै दुर्घटनामा परेर बेहोस भएका ती युवालाई भेन्टिलेटरमा राखेर उपचार गरियो।

लामो समय भेन्टिलेटर राखेर उपचार गर्दा भेन्टिलेटरको असरले घाँटीमा माथिल्लो भागको श्वासनली साँघुरिएर बन्द भएछ। मुखबाट श्वास फेर्न सम्भव नभएपछि घाँटी प्वाल पारेर पाइप राखी श्वासप्रश्वास गराइयो। यस्तो समस्यालाई चिकित्सकीय भाषामा ‘ट्रयाकेयल स्टेनोसिस’ भनिन्छ।

वीर अस्पतालमा पुर्याउँदा २८ वर्षे युवाको आवाज नै थिएन। युवालाई खानपान गर्न निक्कै कठिन भइरहेको थियो। घाँटीमा प्वाल पारेको भागबाट श्वासप्रश्वास त हुन्थ्यो। तर, त्यो प्वालमा बेला–बेलामा र्याल, थुक, खकार जस्ता फोहोर अड्किँदा श्वास फेर्न गाह्रो हुन्थ्यो।

डा. अरुणको टिमले घाँटीको साँघुरिएको श्वासनलीको भाग (ट्युब) शल्यक्रिया गरेर निकाल्यो। त्यसपछि तल र माथिको श्वासनली ल्याएर जोड्न सफल भयो टीम।

‘खुम्चिएर बिग्रिएको श्वास नलीको भाग काटेर फाल्यौं,’ उनले भने, ‘माथि र तलकोे राम्रो श्वासनलीको भाग ल्याएर जोडियो अनि घाँटीमा पारेको प्वाल बन्द गर्यौं।’ 

करिब नौ घण्टाको मेहनतपछि शल्यक्रिया सफल भएको उनले सुनाए। 

सफल शल्यक्रियापछि ती युवाले मुखबाट श्वास फेर्न थाले। मुखबाट युवाको आवाज पनि आयो। ती युवाले करिब एक वर्षपछि आफ्नै आवाज सुने। सफल शल्यक्रियापछि युवाले बोलेको सुन्न पाउँदा चिकित्सकको टिम त खुसी भयो नै। शल्यक्रियापछि बोल्ने बनाउने चिकित्सकको टिमप्रति युवा निक्कै कृतज्ञ भएको सम्झन्छन् डा. अरुण।

सफल शल्यक्रियापछि ती युवाले ओठमा मुस्कान छर्दै बोलेको सम्झँदा डा. अरुण मनमनै गदगद हुन्छन्। युवाले बोल्न सकेकोप्रति उनी आफ्नो चिकित्सकीय पेशालाई धन्यवाद दिन्छन्। वीर अस्पतालमा ती युवाको जस्तै समस्या भएका अन्य दुई जनाको सफल शल्यक्रिया भएको उनले सुनाए।

घुम्न गएका युवाको आवाज नै गुमेपछि...
केही महिना अघिको प्रसङ्ग हो। करिब २० वर्षका युवा साथीहरूसँग चितवनमा घुम्न जाँदा मोटरसाइकल दुर्घटनामा परेछन्। दुर्घटनापछि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा ती युवाको पनि घाँटीको माथिल्लो भागको श्वासनली खुम्चिएर बन्द भएछ। जसकारण उनले श्वास फर्ने सकेनन्। अनि घाँटीको तल्लो भागमा प्वाल पारी पाइप राखेर श्वासप्रश्वास गराइएछ।

समस्यापछि ती युवा शिक्षण अस्पताल, महाराजगञ्जबाट वीर अस्पतालमा रिफर भए। वीर अस्पताल आइपुग्दा उनी न बोल्न सक्थे न मुखबाट श्वास र्फेन नै।

डा. अरुणको टिमले उनको करिब सात घण्टाको मेहनतपछि श्वासनलीको सफल शल्यक्रिया गर्यो। शल्यक्रियाको सफलतापछि ती युवाले मुखबाट नै श्वास फेर्न थाले। बोली पनि खुल्यो।

छोराको आवाज सुन्न र मुखबाट श्वास फेरेको देख्न पाएपछि उनका बुवाआमाको खुसीको सीमा नै रहेन।

सफल शल्यक्रियापछि छोरासँग कुरा गरेर बुवाआमाले खुसी साटेको त्यो क्षण नजिकबाट देखेका डा. अरुणलाई निक्कै आनन्द लाग्यो। तर, टाउकामा चोट लागेकाले अझै ती युवा राम्रोसँग बोलचाल गर्ने भइनसकेको उनले सुनाए। 

बचाएका विरामीको मृत्युको खबर सुन्दा...
६ महिना अघि करिब ५० वर्षका पुरुषको मृत्यु भएको खबर सुनेको घटना सम्झँदा डा. अरुणको मन चसक्क हुन्छ।  दुर्घटनामा परेर टाउकाको चोट लागेका ती पुरुषको पनि लामो समय भेन्टिलेटरमा राखेर उपचार गर्दा श्वासनली बन्द भएछ।

विरामीले श्वास फेर्न नसकेपछि घरमा सुतिरहेका डा. अरुणलाई वीर अस्पतालबाट फोन गयो। उनले अस्पतालको फोन उठाएर अर्ध निन्द्रामा नै कुरा गरे। आकस्मिक रूपमा शल्यक्रिया गर्नुपर्ने भएकाले डा. अरुण राति नै तुरुन्त अस्पताल पुगे।

अस्पताल पुग्दा विरामीलाई मुखबाट श्वास फेर्न कठिन भइरहेको थियो। तुरुन्तै शल्यक्रिया गरी घाँटीमा प्वाल पारेर श्वास फेराउनुपर्ने भयो। राति दुई बजे नै डा. अरुणको टीमले विरामीको आकस्मिक शल्यक्रिया गर्यो। विरामीले घाँटीबाट श्वास फेर्न थाले। विरामी बचाउन सकेकोमा डाक्टरका टिम दङ्ग पर्यो।

केही दिनको अस्पताल बसाइपछि डिस्चार्ज भएर पोखरा घर गए विरामी। केही समयपछि मुखबाटै श्वास फेर्ने बाटो बनाउन शल्यक्रिया गर्ने योजना थियो। स्वास्थ्य राम्रोसँग सुधार नभइसकेकाले शल्यक्रिया गरिहाल्न मिल्ने थिएन।

तर, अस्पतालबाट डिस्चार्ज भएको केही हप्तामा ती विरामीका आफन्तले पोखराबाट डा. अरुणलाई फोन गरेर श्वास फेर्न कठिन भएको बताए। ती ५० वर्षीय पुरुषको घाँटीबाट श्वास फेर्नका लागि बनाइएको प्वाल पनि एक्कासी बन्द भएछ।

डा. अरुणले विरामीलाई तुरुन्तै अस्पताल लान सल्लाह दिए। अस्पताल पनि पुर्याए। तर, दुर्भाग्य, चिकित्सकको टिमले उनलाई मृत घोषणा गरे। घटना डा. अरुणले पनि सुने। रातबिरात अथक प्रयासपछि बचाएका विरामीको मृत्युको खबर पीडादायी भएको उनको अनुभव छ।

१० वर्षकी बालिकालाई बचाएपछिको त्यो भावुकता
हुम्लाकी करिव १० वर्षकी मुख बाङ्गो भएकी बालिकाको उपचारको प्रसङ्ग सम्झँदा पनि डा. अरुण भावुक हुन्छन्।

बालिकालाई करिब दुई महिनाअघि वीर अस्पताल पुर्याइएको थियो। बालिकाको देब्रेतर्फको मुख बाङ्गिएको थियो। बालिकाको स्वास्थ्य परीक्षण गर्दा देब्रेतर्फको कान पाकेका कारण मुख बाङ्गो भएको पत्ता लाग्यो।

बालिकाको तुरुन्तै आकस्मिक शल्यक्रिया गर्नुपर्ने भयो। चिकित्सकको टिमले शल्यक्रिया गरी बालिकाको पाकेको कानको फोहोर निकाल्यो। कुहिएको हड्डी निकाल्यो। थिचिएको नसा सही ठाउँमा ल्यायो। कानको रोग फालियो। शल्यक्रिया सफल भयो। केही दिनको अस्पताल बसाइपछि बालिकालाई डिस्चार्ज भइन्।

करिब एक हप्ताअघि ति बालिकालाई फलोअपका लागि वीर अस्पताल आएकी थिइन्। फलोअपमा बालिकाको मुख सोझिइसकेको देखे डा. अरुणले। चिकित्सकको टिम कानको उपचारपछि बालिकाको मुख सोझ्याउन त सफल भयो नै।

कान पाकेर मस्तिस्कमा पिप जम्नेलगायत स्वास्थ्य जटिलता निम्तिएर बालिकाको ज्यान समेत जान सक्थ्यो। बालिकाको ज्यान बचेको र मुख सोझिएको देख्दा डा. अरुण खुसी त भए नै केही भावुक पनि बने।

भावुक बन्नुको कारण थियो, शल्यक्रिया गर्दा ती बालिकाले जुन फाटेको पुरानो लुगा लगाएकी थिइन्, फलोअपमा पुग्दा पनि त्यही लुगा लगाएकी थिइन्। बालिकाको गोडामा फाटेकै चप्पल थियो।

विरामीलाई ६ महिनापछि आउनु भन्दाको पीडा...
करिब दुई वर्षअघि विरामीलाई ६ महिनापछि फलोअपमा आउनु भनेको प्रसंग पनि डा. अरुण कहिल्यै भुल्दैनन्। 

मुगुबाट करिब २५ वर्षीया महिला उपचारका लागि वीर अस्पताल पुगेकी थिइन्। उनको घाँटीमा ट्युमर थियो। शल्यक्रिया गरी घाँटीको ट्युमर निकाल्नुपर्ने भयो। तर, अस्पतालमा घाँटीको ट्युमर निकाल्ने पालो ६ महिनापछि मात्रै आउने भयो। 

पालो अनुसार नै ६ महिनापछि शल्यक्रियाका लागि डा. अरुणले उनलाई बोलाए। तर, ती महिला र उनका श्रीमान्ले ऋण काडेर आएकाले ‘फेरि कहाँबाट पैसा पाएर आउनु?’ भन्दै गुनासो पोखे। त्यस्तो गुनासो सुन्दा डा. अरुणको मन भारी भयो।

महिलाको केही ढिला शल्यक्रिया गर्दा समस्या निम्तिहाल्ने अवस्था थिएन। तर, अन्य विरामी पालो कुरेर बसिरहेका थिए। ती महिला ६ महिनापछि आए कि आइनन्, उनलाई याद भने भएन। यो त एउटा प्रतिनिधि प्रसङ्ग मात्रै हो।

क्यान्सर लगायत तुरुन्तै गर्नुपर्ने उपचार तथा शल्यक्रियालाई नै पहिलो प्राथमिकता दिइन्छ सरकारी अस्पतालमा।

वीर अस्पतालमा अधिकांश आर्थिक अवस्था कमजोर भएका विरामी पुग्छन्। टाढा–टाढाबाट विरामी पुगेका हुन्छन्। आकस्मिक उपचार गर्नुपर्ने विरामीको त उपचार भइहाल्छ। तर, डा. अरुणका अनुसार वीरमा विरामीले कानको शल्यक्रियाका लागि ५÷६ महिनासम्म कुर्नुपर्ने हुन्छ।

कहिलेकाहीं चाहेर पनि चाँडै शल्यक्रिया गर्न सक्ने अवस्था हुँदैन। टाढाबाट आएका विरामीलाई पुनः फलोअपमा आउनै नसक्ने चिन्ता हुन्छ। कयौं विरामीलाई खानबस्नै मुस्किल पर्छ। तर, आर्थिक अवस्था कमजोर भएका टाढाबाट आउने विरामीलाई उपचारका लागि ६ महिनापछि आउनु भन्नुपर्दा छाती नै भारी हुने गरेको अनुभूति सुनाए उनले।

‘टाढाबाट विरामी आएको हुन्छ,’ उनले भने, ‘फेरि ६ महिनापछि आउनु भन्न निकै दुःख लाग्छ।’

जाम भएको कानको हड्डी खुलेपछि...
करिव ६ महिना अघिको सम्झन्छन् डा. अरुण। वीर अस्पतालमा करिब २० वर्षका युवा पुगे। उनले कान कम सुन्थे। स्वास्थ्य परीक्षणको क्रममा कानको भित्री भागमा हड्डी जाम भएको थाहा भयो। डा. अरुणको टिमले एकातर्फको भागको कानको शल्यक्रिया गरे। शल्यक्रिया सफल हुनासाथ कान सुने।

कानको हड्डी जाम भएको यस्तो समस्यामा कानको दुवैतर्फको भागको शल्यक्रिया गर्नुपर्ने हुन्छ। ६ महिना वा एक वर्षपछि ती युवाको अर्को कानको पनि शल्यक्रिया गर्नुपर्ने उनले सुनाए। 

अध्ययनमा तीक्ष्ण
२०३९ मा ललितपुरको महालक्ष्मीस्थानमा जन्मिएका अरुणले २०५६ मा जावलाखेलस्थित सेन्टजेभियर्स विद्यालयबाट एसएलसी पूरा गरे। धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयबाट सन् २००१ मा आइएस्सी उत्तीर्ण गरेका उनी सानैदेखि अध्ययनमा तीक्ष्ण थिए। त्यसकारण त त्यो ब्याचको टपर भए उनी।

अरुणको डाक्टर बन्ने सपना थियो। त्यसैले आइएस्सीपछि सन् २००१ चितवनको भरतपुरस्थित ‘कलेज अफ मेडिकल साइन्स’ मा एमबीबीएस अध्ययनका लागि भर्ना भए। सन् २००७ मा एमबीबीएस अध्ययन पूरा भयो। उनले एमबीबीएस शिक्षा मन्त्रालयको छात्रवृत्ति कोटामा अध्ययन गरेका हुन्।

त्यसपछि डा. अरुणले छात्रवृत्ति कोटामा एमबीबीएस अध्ययन गरेवापत दुई वर्ष अनिवार्य छात्रवृत्ति करारमा काम गर्नुपर्ने भयो। त्यसैले उनले सन् २००७ देखि २००९ सम्म छात्रवृत्ति करारमा पाल्पा जिल्ला अस्पतालमा काम गरे। उनी त्यसरी छात्रवृत्ति करारमा काम गर्ने पहिलो ब्याच रहेछन्।

नाक, कान, घाँटीको सर्जरीमा रस
डा.अरुणलाई थप अध्ययन गर्नु छँदै थियो। त्यसैले उनले चिकित्साशास्त्र अध्ययन संस्थानमा सन् २००९ मा स्नातकोत्तर तहको नाक, कान, घाँटी (इएनटी) विषयमा एमएस (मास्टर्स इन सर्जरी) अध्ययन गर्न थाले। सन् २०१२ मा तीन वर्षे एमएस अध्ययन पूरा गरे। एमएस पनि छात्रवृत्ति कोटामा नै अध्ययन गरेको उनले सुनाए। 

त्यो बेला खासमा उनलाई मेडिसिन विषय अध्ययन गर्ने रहर थियो। तर, त्यो विषय अध्ययन गर्न नपाएपछि नाक, कान, घाँटी विषयको अध्ययन गरेका रहेछन्। अध्ययन गर्दै जान थालेपछि भने यो विषयमा नै रस पसेको उनले सुनाए।

एमएस अध्ययनपछि करिब ६ महिना डा. अरुणले मोडल अस्पतालमा काम गरे। मोडलपछि उनी काठमाडौंको नयाँ वानेश्वरस्थित निजामती कर्मचारी (सिभिल) अस्पतालमा करार जागिरे भए। त्यहाँ नाक, कान, घाँटी विशेषज्ञ (सर्जन) को रूपमा रजिष्ट्रर पदमा रहेर करिब पाँच वर्ष काम गरे।

डा. अरुण २०७४ मा लोकसेवाको खुला परीक्षामार्फत सरकारी स्थायी जागिरमा प्रवेश गरे। सरकारी जागिरे भएपछि उनको पहिलो पोष्टिङ वीर अस्पतालमा भयो। डा. अरुण हाल वीर अस्पतालको नाक, कान, घाँटी विभागमा वरिष्ठ कन्सल्टेण्ट इएनटी सर्जनका रूपमा कार्यरत छन्।

डा. अरुणले बेलायतको रोयल कलेज अफ सर्जनको ल्यारिंगोलोजी विषयमा फेलोसिप समेत गरेका छन्। त्यो फेलोसिप गर्ने आफू पहिलो नेपाली भएको उनले सुनाए। नवौं तहको सरकारी जागिरमा प्रवेश गरेका उनी अहिले बढुवा भई दशौं तहमा पुगेका छन्। उनी सहायक प्राध्यापकको भूमिकामा समेत छन्। 

हेलचेक्राइँ गर्दा जोखिममा ज्यान
नाक, कान र घाँटीजन्य सम्पूर्ण समस्याको पहिचान र उपचार गर्ने विधा हो डा. अरुणको। यस्ता अङ्गको उपचार विशेषगरी औषधि र शल्यक्रियागरी दुई तरिकाले गरिन्छ। सामान्यदेखि जटिल र ठूलो शल्यक्रिया समेत गर्नुपर्ने हुन्छ।

कानको जाली फेर्ने, कानको कुहिएको हड्डी फालेर नयाँ हड्डी राख्नेलगायत कानका विभिन्न समस्याको शल्यक्रिया तथा औषधि उपचार गर्नु उनको दैनिकी हो। कान पाक्ने, कान दुख्ने, कान नसुन्ने लगायत रोगको उपचार पनि उनको दैनिकीभित्रै पर्छन्।

डा. अरुणको अनुभवमा धेरै व्यक्तिले त कान पाक्ने समस्यालाई रोगका रूपमा समेत लिँदैनन्। तर, कान पाक्ने समस्याका कारण जटिलता निम्तिएर मृत्युवरणसम्मको जोखिम हुनेतर्फ उनी सजग गराउँछन्। कान पाकेर कानको जालीमा प्वाल परेको खण्डमा कान पाकिरहने, कान सुन्न कम हुनेजस्ता समस्या निम्तने उनले सुनाए।

कुनै–कुनै किसिमको कान पाक्ने समस्यामा भने हड्डी खाँदै मस्तिस्कसम्म पुग्छ भन्छन् डा. अरुण। यसरी कान पाक्दै मस्तिस्कमा पुगेको खण्डमा व्यक्तिको ज्यान समेत जान सक्छ। त्यसैले कान पाक्ने समस्यालाई रोग हो भन्ने बुझ्न उनको सुझाव छ।

कान पाक्ने समस्या भएको व्यक्तिले कानमा तेल हाल्ने, कान कोट्याउने, कानमा जताभावी औषधि हाल्ने, रुघा लागेको खण्डमा सीँसीँ गर्ने जस्ता गतिविधि गर्न नहुने उनी बताउँछन्। त्यसैगरी नुहाउँदा कानमा पानी पर्न दिन हुँदैन।

समयमा नै उपचार भए कानका समस्या औषधि उपचार तथा शल्यक्रियापछि ठिक हुने उनी बताउँछन्। नेपालमा कानको समस्या भएका व्यक्तिको संख्या धेरै भएको उनको अनुभव छ। करिब दश दिनअघि मात्रै कान पाकेर मेनेन्जाइटिस भएका विरामीको शल्यक्रिया गरेको डा. अरुणले सुनाए।

समयमा नै ती विरामीको उपचार नभएको भए ज्यानै जानसक्ने उनले सुनाए। अहिले भने ती विरामीको स्वास्थ्य अवस्था ठिक भइरहेको डा. अरुण बताउँछन्।

नाकको बांगिएको हड्डी मिलाउने, नाकमा मासु पलाएको र नाकको क्यान्सरको लगायतको शल्यक्रिया र औषधि उपचारमा पनि व्यस्त हुन्छन् उनी। पिनासको समस्या लिएर उनीकहाँ उपचारका लागि पुग्ने बिरामीको संख्या पनि कम हुँदैन। 

त्यसैगरी घाँटीको बोलीको समस्या, टन्सिल, थाइराइड, घाँटीको क्यान्सर जस्ता समस्याको शल्यक्रिया तथा औषधि उपचार गर्ने डा. अरुणको अध्ययनको विधा हो। चिकित्सकीय पेशा व्यस्त हुने भएकाले परिवारलाई चाहेको समय दिन भने नसकेको उनले सुनाए

१५ असोज, २०७९, १३:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।