चीनको सीमा बन्द हुँदा मुस्ताङको महँगो च्याङ्ग्रा किन्नुपर्ने बाध्यता, एउटैको मूल्य ५० हजारसम्म

चीनको सीमा बन्द हुँदा मुस्ताङको महँगो च्याङ्ग्रा किन्नुपर्ने बाध्यता, एउटैको मूल्य ५० हजारसम्म

पोखरा: दशैंको लागि पोखरामा मुस्ताङबाट भेड च्याङ्ग्रा भित्रिन थालेको छ। मुस्ताङको उपल्लो भेग, डोल्पा, बझाङ र हुम्लाबाट भित्रने गरेका व्यापारीहरूले हप्तौँ लगाएर ल्याएर पोखराको लुम्ले, हेमजा र आसपासका क्षेत्रमा राखेका छन्।

मुस्ताङबाट हिँडाएर व्यापारीले ल्याउँदै गरेका च्याङ्ग्राका बथान बाटोमा आउने क्रममा पनि छन्।

पोखरा र आसपासमा स्थानमा दशैंको समयमा खसी बोकाभन्दा च्याङ्ग्रा नै बढीजसो खाने चलन छ। पहाडी एवं तराई क्षेत्रमा पालिने खसी बोकाको तुलनामा हिमाली भेगमा पालिएको च्याङ्ग्रा स्वास्थ्यका हिसाबले पनि राम्रो हुने भएकाले पोखरामा वर्षमा एकपटक च्याङ्ग्राकै मासु खाने भन्ने चलन नै बसेको छ।

तर यस वर्ष पनि कोभिड–१९ का कारण चीनले सीमा जोखिम बढ्ने भन्दै कोरला लगायतका नाका बन्द गरेकाले तिब्बतबाट भेडा च्याङ्ग्रा भित्रिन पाएन। यसले मुस्ताङमा पालिएका च्याङ्ग्राको मूल्य ह्वात्तै बढेको छ।

पोखरा क्षेत्रमा झारिएका च्याङ्ग्रा प्रतिगोटा ३५ हजारदेखि ५० हजारसम्ममा बिक्री भइरहेको व्यवसायी कृष्ण अधिकारीले बताए। अधिकारीका अनुसार तिब्बतबाट ल्याउन नपाउँदा उपल्लो मुस्ताङमा पालिएका च्याङ्ग्रामा प्रतिगोटा ५ देखि १० हजार रुपैयाँ महँगिएको र पोखरासम्म ल्याउँदा विभिन्न ठाउँमा तिरिएको पटके करका कारण मूल्य बढेको हो।

पोखरादेखि जोमसोम पुगेर १५० वटा च्याङ्ग्रा खरिद गरी ल्याएका अधिकारीले अघिल्लो वर्ष मुस्ताङमा प्रतिगोटा ३० हजारसम्ममा खरिद गरेको च्याङग्रा यो वर्ष ३५ हजारदेखि ४० हजारसम्म तिर्नुपरेको बताए।

उनले भने, ‘गत वर्ष २५/३० हजार पर्ने च्याङ्ग्रालाई यस वर्ष मुस्ताङमै ७/१० हजार बढी तिर्नुपर्यो। पोखराादेखि जोमसोमसम्म जाँदाको खर्च र यहाँसम्म ल्याउँदा विभिन्न ठाउँमा तिरेको करसहितको खर्च जोड्दा विगतको भन्दा १०/१२ हजार बढी पर्छ।’

विगत डेढ दशकदेखि दशैंको बेला भेडा च्याङ्ग्राको व्यापार गर्दै आएका अधिकारीले यस वर्षको मूल्य अहिलेसम्मकै उच्च भएको बताए।

उच्च हिमाली क्षेत्रमा चर्ने भएकाले पोखरासम्म सुरक्षित तरिकाबाट ल्याउन झण्डै १०/१५ दिन हिँडाएर भेडाच्याङग्रा ल्याउनुपर्ने बाध्यता रहेको छ। ट्रकबाट ल्याउँदा वातावरणको प्रभावले भेडा च्याङ्ग्रा मर्ने भएकाले ठाउँ ठाउँमा चराउँदै ल्याउँदा विस्तारै वतावरणसँग घुलमिल हुँदै जान्छन्।

भेडा च्याङ्ग्रा झारेसँगै व्यापारीहरूले पोखराको पुरानो टुँडीखेल, सिमपानी, याम्दी, हेमजा लगायतका ठाउँमा खोर बनाउने काम तीव्ररूपमा भइरहेको छ।

दशैंका बेला भेडाच्याङग्रा राख्नका लागि खोर बनाउँदै गरेका याम्दीका किशोर थापाले यस अवधिमा प्रतिखोर १५ देखि २० हजार भाडा लिने गरेको बताए।

मौसमअनुसार दिल्ली र काठमाडौंमा व्यापार गर्दै आएको भए पनि दशैंको बेला भने च्याङ्ग्राको व्यापार गर्ने घाँसाका दोर्जे गुरुङले बताए। उनले भने ,‘दुःख,कष्ट सहेर हप्तौं लगाएर ल्याउनु पर्ने भए पनि आफूले यही व्यापारबाट राम्रो फाइदा गर्दै आएका छु। योपाली के हुन्छ हेरौँ। विगत १० वर्षदेखि यो व्यवसाय गर्दै आएको छु।’

पोखराको हेमजामा च्याङ्ग्रा किन्दै गरेका यामबहादुर थापाले वर्षमा एकपटक उपल्लो भेगबाट झर्ने च्याङ्ग्राको मासु खाने इच्छाले च्याङ्ग्रा किन्न आएको बताए। खसीबोका, कुखुराको मासु नियमित खाए पनि हिमाली जडीबुटी खाएका च्याङ्ग्राको मासुको स्वाद र सन्तुष्टी लिन बर्सेनी च्याङग्रा किनेर खाने गरेको उनले बताए।

पोखरामा व्यापारीले अष्टमी र नवमीको दिनमा ठूलो संख्यामा च्याङ्ग्रा भित्राउने गर्दछन्। फूलपातीको दिनमा विशेषगरी च्याङ्ग्राको बिक्री ह्वात्तै बढ्ने गर्दछ। फूलपातीको दिन घरमा खसी, च्याङ्ग्रा काट्ने गरिन्छ। मुस्ताङबाट दुईतीन साता पैदल हिँडाएर व्यापारीले समूहमा च्याङ्ग्रा पोखरासम्म ल्याउने गर्दछन्।

पछिल्लो समय व्यापारीले च्याङ्ग्रा काठमाडौं, चितवन र बुटवल लगायत विभिन्न शहरहरूमा समेत पुर्याउँदै आएका छन्।

१४ असोज, २०७९, ११:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।