अनि वनस्पति विज्ञ तीर्थबहादुर झल्याँस्स भए... 

अनि वनस्पति विज्ञ तीर्थबहादुर झल्याँस्स भए... 
तस्बिर : कृष्पा श्रेष्ठ

वनस्पति विज्ञ तीर्थबहादुर श्रेष्ठ तत्कालीन राजकीय प्रज्ञा प्रतिष्ठानमा विज्ञान विधाका सदस्यसचिव भएपछि झल्याँस्स भए जब प्राज्ञहरूले प्रकृति र विज्ञानबारे अनविज्ञ रहेको जानकारी पाए। 

३० वर्ष सरकारी सेवामा बिताएका श्रेष्ठले २०३६ देखि नेपाली भाषामा विज्ञान र प्रकृतिका कुरा लेख्न थाले। विज्ञहरुलाई समेत विज्ञान विषयमा कमै थाहा भएको चाल पाएपछि उनले जैविक विविधता, वन र वनस्पति, प्राणी र जगत, जलवायु परिवर्तन, प्राकृतिक स्रोतबारे सामान्य पाठकले पनि बुझ्नसक्ने भाषामा लेख्न थाले।

देशविदेशमा छापिने जर्नलमा अंग्रेजी माध्यममा लेख लेखे पनि उनले नेपालमा भने नेपाली भाषा नै रोजेनन् मात्रै सकेसम्म सरल भाषामा लेख्ने प्रयास गरे।

नेपाली भाषामा लेख्ने उनको शैली रोचक छ। अखबारिय लेखनका कारण पनि हुनसक्छ विज्ञानको विद्यार्थी नै नभए पनि पहिलो झमटमै बुझ्न सकिन्छ उनका लेखहरू। सजिलै पहिल्याउन सकिन्छ वन, वनस्पति र प्राणीका परम्परा, संस्कृति देखि वैज्ञानिक अर्थसम्म।

दशैंको फूलपातीमा प्रयोग हुने ९ थरी वनस्पतिबारे ‘नेपालका नखुलेका पाटाहरू’ पुस्तकमा एउटा लेख छ- ‘संस्कृतिमा लुकेको सम्पदा’ शीर्षकमा। जुनसुकै लेखको सुरुवातमा कविता, त्यसको संस्कृतिको पाटो र वैज्ञानिक अर्थ दिन खप्पिस छन् श्रेष्ठ। त्यही लेख हेरौं न, 
 ‘हट्यो सारा हिलोमैलो हरायो पानीको वर्षा।
भवानीको भयो पूजा चल्यो आनन्दको वर्षा।।।’
–कवि शिरोमणि लेखनाथ पौडेल 

‘दशैं आउँछ, दशैं जान्छ। ऋतुको हरेफेरमा यस्तो चक्र चलिरहन्छ। तर, त्यसको साथमा आउने हाम्रा चाडपर्वसँग गाँसिएका संस्कृति, संस्कार र परम्परालाई परिस्कृत तुल्याँउदै लैजानु हरेक पुस्ताको कर्तव्य हुन्छ। ...आयो दशैं ढोल बजाइ, गयो दशैं ऋण बोकाई भनि पछुतो गर्नु संस्कृति होइन, विकृति हो। ...एसिया महाद्धिपमा कृषि सभ्यता र आयुर्वेदिक पद्धतिको उच्च छविलाई दशैंको छविलाई दशैंको फूलपातीमा भित्र्याइने र पूजिने जातजातका वनस्पति र पातीलाई उजगार गरेको छ। धान, केरा, बेसार, जयन्ती, अशोक वृक्ष फूल, बेल, दारिम, कन्द हलेदो तथा मानेकर्कलो नौथरी वनस्पति नवदुर्गालाई चढाइन्छ’ लेखमा उनले सबै वनस्पतिको वैज्ञानिक पाटोबारे लेखे। 

उनका हरेक लेखहरू यस्तै सरल हुन्छन्। विज्ञानको अर्थ गहिरो हुने नै भयो तर बुझ्न सरल हुन्छन् उनका लेख। उनका लेखहरू पढ्दा चाडपर्व मानिरहे जस्तो वरपरको वनस्पति र प्राणीको महत्त्वदेखि प्राकृतिक प्रकोपसम्मको जानकारी मिल्छ। त्यसैले त श्रेष्ठ भन्छन् 'हरेक चिजमा वैज्ञानिकता लुकेको हुन्छ।'

‘हामीले गर्ने प्राय क्रियाकलापमा वैज्ञानिकता हुन्छ। उदाहरणका लागि दशैंमा जौको जमरा लगाइन्छ। यो लगाउनुको अर्थ हो जौ पहिलो खाद्यान्न। हाम्रो संस्कारले खाद्यान्नको सम्मान गरेको हो शिरमा लगाएर,’ श्रेष्ठ भन्छन्, ‘सानोमा दशैं मान्दा किन लगाइयो थाहा हुन्थेन। पछि पढ्दै जाँदा संस्कृति जोडेर हेर्ने बानी बस्यो।’

‘रियल’ देखि ‘भर्चुअल’ चाडसम्म

वि.सं. १९९४ मा आमा दुर्गालक्ष्मी र बुवा खरिदार लोकबहादुर श्रेष्ठको घरमा जन्म भयो श्रेष्ठको। बुबाको चौथो र आमाको पहिलो सन्तान हुन् उनी। लोकबहादुरले पहिलेकी श्रीमतीको मृत्यु भएपछि दुर्गालक्ष्मीसँग विवाह गरेका थिए। काठमाडौंको महाबौद्ध टोलमा जन्मेका उनी संयुक्त परिवारमा हुर्किए। त्यतिबेलाको समाज पनि संयुक्त र परिवार पनि संयुक्त रहेको उनको बुझाइ छ।

‘त्यतिबेला सबै जातिका मान्छे वरपर नै रहन्थ्यौं, सँगै खेल्थ्यौं, सँगै बस्थ्यौं, जब ठूलो भइयो तँ सानो जात तँ ठूलो जात भनेर कित्ताकट गरियो बच्चा बेलाको महाबौद्ध सम्झँदा म अहिले पनि नोस्टलोजिक हुन्छु,’ श्रेष्ठले विगत सम्झँदै भने, ‘परिवार पनि संयुक्त, समाज पनि संयुक्त कम त रमाइलो थिएन।’

श्रेष्ठकै घर अगाडि बहाल थियो। बहालमा पूजा गर्ने, राँगा काट्ने, भोज गर्ने गर्थे। एक प्रकारको सामूहिकता थियो त्यतिबेलाको समाजमा। चाडपर्वको रौनकता फेरिएको बुझाइ छ श्रेष्ठको। पहिले र अहिले स्वभाविक रूपमा परिर्वतन हुने नै भयो। तर, अहिलेको पुस्ताले सांस्कृतिक पाटोभन्दा पनि हरेक चाडपर्वलाई खाने र मोज गर्ने माध्यममा मात्रै बुझेको उनको निचोड छ।

‘चाडपर्वमा खाने, मोज गर्ने पनि हो, सँगै यसको सांस्कृतिक पाटो र समय सन्र्दभ अनुसार परिस्कृत गर्नु पनि हाम्रै दायित्व हो,’ उनले भने, ‘तर, चाडपर्वलाई यति गहिरिएर हेरे जस्तो मलाई लाग्दैन।’

समय, परिस्थिति र वैदशिक रोजगार, पढाइका कारण पनि घरको कोही न कोही विदेश रहने गरेका छन्। सबै भेला भएर दशैं मनाउने रौनक हराउँदै गएको श्रेष्ठको बुझाइ छ।

‘मेरै छोराछोरी अमेरिका छन्, वर्षैपिच्छे उनीहरू आउन पाउँदैनन्, हामी जान पाउँदैनौं,’ उनले थपे, ‘पहिलेको रियल दशैं थियो,अहिलेको भर्चुअल भएको छ।’

बच्चा बेला विद्यालय गयो, आयो, खेल्यो अनी चाडपर्वमा रमायो। यति नै त हुन्थे। श्रेष्ठ बाल्यकाल छँदाको काठमाडौं गाउँ नै थियो। बजार भनेको असन इन्द्रचोक मख्खन चोकहरू हुन्थे महाबौद्ध नजिकै।

बुबा खरिदार भएको भएर पनि श्रेष्ठ परिवारले पढाइको महत्त्व सानैबाट बुझेको थियो। दरबार हाइस्कुलमै पढे श्रेष्ठ। उनी विद्यालय पढ्दा विद्यार्थीका गोडामा जुत्ता चप्पल हुँदैनथे। महिलाहरू खासै नपढाइने त्यो समयमा छात्रहरूको शिरमा टोपी भने छुटदैनथ्यो। शिरमा टोपी तर गोडा रित्तै। त्यतिबेला टोपी लगाउनु र नलगाउनेको किस्सा सुनाए श्रेष्ठले।

‘२००७ सालको प्रजातन्त्र आउनु पूर्व आन्दोलन भइरहन्थ्यो काठमाडौंमा,’ श्रेष्ठले भने, ‘आन्दोलनमा टोपी लगाउने राणा समर्थक र नलगाउने कांग्रेस समर्थक भनेर प्रहरीले पनि टोपी नलगाउनेलाई मात्र पक्रन्थ्यो।’
श्रेष्ठका बुवा सरकारी जागिरे भएका कारण पनि आन्दोलनमा गएको रुचाउँदैनथे। श्रेष्ठ पनि बुबाको कुरा काट्ने स्वभावका थिएनन्।

२०१० सालमा एसएलसी दिएका उनले द्धितीय श्रेणीमा उत्तीर्ण गरे। त्यतिबेला नेपालको एक मात्र क्याम्पस त्रिचन्द्र कलेज थियो। त्यहीँ विज्ञान संकायमा भर्ना भए उनी। स्नातकसम्म त्रिचन्द्र पढेका उनले २०१७ सालमा वनस्पति विभागमा काम गरे। त्यतिबेला स्नातक गरेका कमै विद्यार्थी हुन्थे। अमृत साइन्स क्याम्पसमा र पद्मोदयमा पार्ट टाइम पढाउने गरेका थिए श्रेष्ठले। एक दिन न्युरोडमा समबहादुर मल्लले श्रेष्ठलाई विभागमा जागिर खान बोलाए।

उनले घरमा सोधे पनि उनका बुबामा सरकारी जागिरको यति मोह थियो की सबै काम छाडेर सरकारी काम गर्न छोरालाई सुझाए। श्रेष्ठलाई पनि उनका बुबाको कुरा मनाशिव नै लाग्यो। स्नातक सकिएपछि श्रेष्ठले भारतमा एमएसी गर्न जान कोलम्बो प्लान अन्र्तगतको छात्रवृत्तिमा आवेदन दिएका थिए। जागिर गरेको एक महिनापछि नाम निस्कियो पनि।

वन मन्त्रालयका उपसचिवले जागिर र पढाइमध्ये एक रोज्नुपर्ने सरकारी बाध्यता रहेको बताए। श्रेष्ठका हाकिम थिए प्रयागराज पाण्डे। पाण्डेले विभागकै कोटा भने पनि भर्खरै काम सुरु गरेकाले पढ्न जान नमिल्ने तर्क थियो मन्त्रालयका उपसचिवको।

श्रेष्ठले बुबालाई यो कुरा सुनाए। सरकारी जागिर भनेपछि पढाइ छाड्न सुझाए उनका बुबाले। यो कुरा जचिरहेको थिएन श्रेष्ठलाई। त्यही मेसोमा तराईं तिरका कांग्रेस नेता चैत्यलाल चौधरी श्रेष्ठको घर गए। कांग्रेसलाई मन नपराउने श्रेष्ठका बुबाले भने, ‘तिम्रो कांग्रेसले त मेरो छोरालाई पढ्न पठाएन न त!’

तत्कालै चैत्यलालले जवाफ फर्काए‘कहाँ हुनु, कांग्रेसले त शिक्षालाई नरोक्ने भनेको छ। म लिएर जान्छु तपाईंको छोरालाई, पढ्न जान्छन्।’

त्यतिबेला प्रधानमन्त्री थिए वीपी कोइराला। गृहमन्त्री थिए सूर्यप्रसाद उपाध्याय। भोलिपल्ट चैत्यलालले गृहमन्त्री भएको ठाउँ लिएर गए। गृहमन्त्रीले वनमन्त्रीलाई भनिदिए। वन मन्त्रायल पुगेका श्रेष्ठलाई तिनै उपसचिवले किन आउनुभएको भनि हकारे।

तर, छेउमै रहेका तत्कालीन वन राज्यमन्त्रीले भने श्रेष्ठको कोलम्बो प्लानमा जाने प्रक्रियामा जान पनि नरोक्ने र जागिर पनि नजाने व्यवस्था गर्न निर्देशन दिए। दुई वर्षको पढाइमा आधा तलब हुने गरि श्रेष्ठ भारत पढ्न जान पाउने भए। 

श्रेष्ठ पढाइ सकेर आउँदा यता राजा महेन्द्रले जननिर्वाचित सरकारलाई ‘कू’ गरि हटाइसकेका थिए। राजनीतिमा उति चासो नभएका श्रेष्ठ विभागको मर्म अनुसार काम गरे। १७ सालदेखि ४७ सालसम्म विभागमा रहेर काम गरेका श्रेष्ठले हिँडेरै अधिकांश जिल्ला पुगे। उनी सहितको टोलीले २ सय ९६ थरीका विरुवा पत्ता लगाएर वैज्ञानिक नामकरण गर्यो।

काठमाडौं बाहिर नगएका श्रेष्ठका हाकिम थिए प्रयागराज पाण्डे। पाण्डेले जागिर खान मन भए गाउँ–गाउँ चहार्नुपर्ने बताए। गाउँमा कस्ता वनस्पति पाइन्छन् टिपेर ल्याउनुपर्ने अनी त्यसको वैज्ञानिक नामका लागि भारत पठाउनुपर्ने। त्यसलाई टिपोट गर्नुपर्ने श्रेष्ठ लगायतका स्टाफको काम थियो।

श्रीमान्–श्रीमती नै विज्ञानका विद्यार्थी

सन् १९६९ मा तिमिला श्रेष्ठसँग विवाह गरे श्रेष्ठले। लण्डनबाट प्लाण्ट केमेस्ट्रीमा पिएचडी गरेकी श्रेष्ठले औषधि अनुसन्धानशाला, खानी विभाग तथा विज्ञान तथा प्रविधि मन्त्रालयमा काम गरिन्। श्रेष्ठले गाउँ-गाउँ पुगेर वनस्पति ल्याउँथे। तिमिला काम गर्ने विभागले औषधि बनाउने गर्थ्यो।

‘हाम्रो विभागले खोजेर ल्याउँथ्यो वनस्पतिहरूको नमुना, कस्को के बन्ने–नबन्ने अर्को विभागले हेर्थ्यो,’ उनले भने, ‘तिमिलाहरू रसायनशास्त्रको विद्यार्थी, उनीहरूले परीक्षण गर्थे। त्यहि बेला देखि त हो प्यारासिटामोल नेपालमै बन्न थालेको।’

श्रेष्ठको टिमले २ सय ४६ वटा नयाँ विरूवा पत्ता लगायो। सुरुवातमा विरूवा, त्यसपछि प्राणी जगतबारे पनि अनुसन्धान गरे। प्राय वैज्ञानिकहरूले नयाँ विरूवा जस्ले पत्ता लगायो, उसैको नामबाट विरूवाको नाम राख्छन्। 

धनियाँ जातको एकथरी विरूवाको नाम पनि श्रेष्ठाइ राखिदिए व्रिटिस वैज्ञानिकहरूले। श्रेष्ठको नाउँबाट रहेको विरूवा त्यही हो। नेपालमा मात्रै पाइने विरूवाको पनि खोजी गरे श्रेष्ठको टिमले। जिम्बु पनि एक हो। आविस्कारको क्षेत्र पञ्चायतपछि भने सुस्त भएको बताउँछन् श्रेष्ठ । 

‘पञ्चायतअघि विज्ञान तथा प्रविधिको क्षेत्रमा निकै प्रगति गरेको थियो नेपालले,’ श्रेष्ठले भने, ‘अहिले दायरा त फराकिलो भयो तर काम कम भएको देखिन्छ, संस्था खुले तर काम देखिएन। त्यसैले त हामी विज्ञान प्रविधिको क्षेत्रमा कमजोर छौं।’ 

विज्ञान तथा प्रविधि मन्त्रालय बनाउन आफूहरूले लबिङ गरे पनि अनुसन्धानमा सरकारको ध्यान नदिँदा मन्त्री बन्ने मात्रै काम भएको श्रेष्ठको भनाइ छ।

‘हामी सँगै राजनीतिक क्रान्ति गरेका देशले विज्ञान प्रविधिमा फड्को मारेका छन्। उनीहरूको आर्थिक हैसियत हाम्रो जस्तै थियो पहिले,’ उनले भने, ‘राजनीतिक नेतामा आविस्कारको चेत नभएकाले हाम्रो देशले विज्ञान प्रविधिमा फड्को मार्न भने सकेन।’

अहिले सत्ता हाँकिरहेको पुस्ताले विज्ञान प्रविधिलाई अवमूल्यन गरेको श्रेष्ठ बताउँछन्।

अबको पुस्तासँग आशा 

श्रेष्ठले २०३६ सालदेखि निरन्तर लेखिरहेका छन्। ८६ वर्ष पुगेका श्रेष्ठले अहिले सत्ता हाँकेको पुस्ताले जैविक विविधता भएको मुलुकलाई नबुझे पनि अहिलेको पुस्ताले भने बुझ्ने जमर्को गरेको बताउँछन्।

‘जसरी खोलामा पानी भइन्जेल माछालाई पानीको अभाव महसुस हुँदैन, खोलामा पानी भएन भने छटपटाउँछ,’ उनले भने, ‘अघिल्लो पुस्ताले जैविक विविधताबारे ज्ञानै राखेन किनभने उ पानीमा डुबिरहेको थियो अबको पुस्ता छटपटाउन थालेको छ त्यसैले त चासो राख्न थालेको छ। यसको सांस्कृतिक र वैज्ञानिक पाटो बुझ्न थालेको छ।’

नेपालमा मात्रै पाइने जीव वनस्पति हेर्न विदेशी आउने भएकाले पनि नवपुस्तामा जैविक विविधतामा ज्ञान राख्न चाहेको उनको तर्क छ। नवपुस्ताले शिरमा लगाउने जमरा, पूजा गर्ने फूल विरूवाबारे सभ्यताको आधार बनाउन अध्ययन गर्नुपर्ने श्रेष्ठको भनाइ छ।

‘सिम्पल लिभिङ हाइ थिंकिङ’

श्रेष्ठ र उनकी श्रीमती तिमिला दुवै विज्ञानका विद्यार्थी।

‘तपार्ईंहरू दुई जनाको दैनिकी कसरी बित्छ?’ मैले सोधेँ।

श्रेष्ठले भने, ‘घरायसी कुरा। उनले थेसिस हेर्छिन्। थेसिसका कुरा विज्ञानमा कति प्रगति भएको छ, त्यही कुरा हुन्छ।’

हिजो आज श्रेष्ठ लामो खालको किताब पढ्दैनन्। कविता र छोटा स्टोरी भने पढिरहन्छ। लेख्नुपरेको बेला अझै पनि ४ बजे नै उठ्ने श्रेष्ठ राति ९ बजेसम्म सुतिसक्छन्। दशैंको नवदुर्गाको तृतीयामा जन्मेका श्रेष्ठ तन्दुरुस्त छन्।

‘तन्दुरुस्त हुनुहुन्छ ८६ वर्षको उमेरमा पनि, जीवन सूत्र के हो?’ मैले सोधेँ।

मुसुक्क हाँस्दै श्रेष्ठले भने, ‘सिम्पल लिभिङ हाइ थिंकिंग’

१३ असोज, २०७९, १६:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।